काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर एवं पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको नौ रोपनी नौ आना जग्गा नक्कली मोही खडा गरेर हत्याउने प्रयासमा एक संस्था लागेको खुलासा भएको छ।
पशुपतिनाथ अमालकोट कचहरीको नाममा मालपोत कार्यालयमा दर्ता स्रेस्ता कायम भइरहेको साबिक पशुपति वडा नं. २ (क) कि.नं. ८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफल जग्गा हत्याउने प्रयासमा सोही स्थानमा धर्मशाला सञ्चालन गरिरहेको मारवाडी सेवा समिति लागेको हो। दुवै कित्तामा गौशाला धर्मशालाको उद्देश्यअनुसार सेवा समितिले आफैँले वा आफूअन्तर्गतको सञ्चालक समितिमार्फत साबिकबमोजिम गौशाला धर्मशालाका नामबाट पूर्ण जिम्मेवारी लिएर सञ्चालन गर्ने सम्झौता गरे पनि अहिले आफू मोही रहेको दाबी उक्त संस्थाले गरिरहेको छ।
मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले आफूहरू मोही भएकाले हक कायम हुने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “हामी मोही हौँ, मोहियानी हक लाग्छ।” यता श्री पशुपतिनाथ अमालकोट कचहरी मोही दर्ता प्रमाणपुर्जामा दुवै कित्ताको ‘जोताहा मोहीको नाम, थर र वतन’मा श्री पशुपति गौशाला धर्मशाला उल्लेख छ। अनि कसरी तपाइँहरूको संस्थाले मोहियानी हकदाबी गर्न मिल्छ भन्ने प्रश्नको उत्तरमा उहाँले ‘पछि कुरा गर्दै गरौँला’ भन्ने जवाफ दिनुभयो।
२०६० जेठ १२ गते श्री पशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबीच नौ बुँदे सम्झौतामार्फत धर्मशाला सञ्चालन गरिरहेको उक्त संस्थाका अध्यक्ष गोयलले पशुपति क्षेत्रको मापदण्ड २०५१ विपरीत भवन निर्माण गर्ने तथा जग्गा कब्जा गर्ने नियतले मुद्दा मामिला गरिरहेको दाबी पशुपति क्षेत्र विकास कोषको छ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले धर्मशाला सञ्चालन गर्ने अभिप्रायले सम्झौता गरिएकाले मोहीको हक नलाग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “जग्गाधनी श्री पशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धर्मशाला सञ्चालन गर्नका लागि मात्रै उक्त जग्गा दिने सम्झौता गरेको हो। नक्कली मोही खडा गरेर जग्गा हत्याउने प्रयत्न अस्वीकार्य छ।” प्रवक्ता अधिकारीले मोहियानी हकका सन्दर्भमा सेवा समितिसँग कुनै सम्झौता नभएको बताउनुभयो। उहाँले सेवा समितिले अनावश्यक विवाद निकाले पनि उक्त धर्मशाला र जग्गा कोषकै रहेको प्रस्ट पार्नुभयो।
जग्गाको इतिहास
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाका अनुसार पशुपतिनाथ मन्दिरको वि.सं. १९९९ ज्येष्ठ ५ गतेको पुर्जीले पशुपतिमा छोडिएका दूध कटुवा नन्दी (साँढे)हरूको संरक्षणका लागि जुनेलो घाँस लगाउन हरिनारायण भनिने रामकुमार मारवाडीलाई १–२–०–० रोपनी जग्गा उपलब्ध गराएको थियो। उहाँका अनुसार भीमसेनपातीसमेत भगवान् श्री पशुपतिनाथलाई चढाउन त्यहाँबाट लाने गरिएको थियो।
थापाले भन्नुभयो, “साबिक पशुपति पञ्चायत वडा नं. २ ‘क’ को कित्ता नं. ८३ को ४–१५–२–० र ऐ. कि.नं. ८५ को ४–१०– ०–० को जम्मा ९–९–२–० रोपनी जग्गामा कोही पनि मोही नरहेको तथ्य कोषको अभिलेखबाट प्रमाणित हुन्छ। मोहीसँग न त सम्झौता गरिन्छ, न त सहयोग नै लिइन्छ। मोहीसँग कुतबापतको तोकिएको रकम मात्र लिइन्छ।”
उहाँले गौशालास्थित धर्मशालासँग भूवहाल र सम्झौताबमोजिम वार्षिक ५१ हजार रुपियाँ सहयोग भनी उल्लेख गरिएको रकम लिनेगरी २०६० जेठ १२ गते सम्झौता गरिएको बताउनुभयो। उहाँका अनुसार २०४६ वैशाख २२ गते तत्कालीन अमालकोट कचहरीका प्रमुख द्वारे लालध्वजको सहीछापबाट वितरित ‘मोही दर्ता प्रमाणपुर्जा’को मोही महलमा ‘श्रीपशुपति गौशाला धर्मशाला’ उल्लेख भएको बताउँदै तर अहिले यो नामको कुनै कानुनी संस्था नरहेकाले मोही पुर्जामा उल्लिखित ‘गौशाला धर्मशाला’ श्रीपशुपतिनाथअन्तर्गतको गौशाला धर्मशाला रहेको प्रस्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “२०६५ पुस २० गते भूमिसुधार कार्यालयको पत्रले सो जग्गा कसैको नाममा मोही कायम भएको गरिएको नदेखिएको भनी उल्लेख गरेकाले उक्त कित्ता नं. ८३ र ८५ को जग्गामा मोही कायम छैन।”
२०२१ सालको नापीमा जग्गाधनी र किसानको महलमा महल खाली भनी फिल्डबुकमा उल्लेख रहेकामा २०४२ सालको नापीमा फिल्डबुक जग्गाधनी महलमा श्रीपशुपतिनाथ अमालकोट कचहरी र मोही महलमा पशुपति गौशाला उल्लेख गरेको हुँदा यो जग्गा पशुपतिनाथको एकलौटी हो भन्ने तथ्यले पुष्टि गर्ने उहाँको भनाइ छ। थापाले भन्नुभयो, “गौशालास्थित धर्मशाला भवनको नक्सा पास भएको छैन। भगवान् श्रीपशुपतिनाथको जग्गामा मारवाडी सेवा समितिका नामबाट नक्सा पास स्वीकृति माग गरिएको विषयमा कोषले नक्सा पास स्वीकृति दिएको छैन, होइन।”