वि.सं.२०८२ चैत १२ बिहीवार

म प्रकृति..!

म सुन्दर छु, अति सुन्दर छु।
मेरो सौन्दर्य – यौवनको
छहारीमा हुर्काउदै छु
सारा जग लाई ।
म भित्र हुर्किने
स्नेह, करुणा
प्रेम र दयाले
मलाई अझै
सुकोमल बनाएको छ
कमलको पत्रहरु जस्तै
मेरो कोमलता, मेरो सौन्दर्य
अनि यौवन सङ्ग
मेरो मनको,
ढुकढुकी सङ्ग
मेरो भावना सङ्ग
खेलवाड गर्ने
ए, पुरुष
तिमी को हौ ?
तिमीले त मलाई
फूल्न दिनू पर्थ्यो
अझै, खूल्न दिनू पर्थ्यो
मेरो सौन्दर्यमा
निखार आउनु पर्थ्यो
तिमी मेरो अनुहारको
आभा भइ रहनु पर्थ्यो
तर तिमीले खेल्यौ
अत्यन्तै हद पार गर्दै, खेल्यौ
मेरो सुकोमल अङ्गहरु सङ्ग
चिथोर्न, टोक्न अनि निमोठ्न
कति सक्यौ त्यति गर्यौ
हदै पार गर्यौ तिमीले
एक बिहानी
रश्मिले चुम्बन गर्दै
हिउँचुली मेरा
अलिङ्नमा लटपटिन्छन
अनि त्यो दिवसको स्वागतमा
खुशीले गुलाबी
अधर सलबलाउछ।
अनि,मिर्मिरे  साँझमा
दिन, समर्पित हुँदै
मलिन ,मत्थर हुँदै
प्रेमिल क्षणहरु
आरम्भ हुन्छ
जहाँ चन्द्रमा
मेरो सौन्दर्य , यौवन सङ्ग
यौन क्रीडामा लिप्त हुन्छ ।
वन- पाखा
खोला, नाला
हिउँचुलीहरु
सबै तिर चाँदनी छर्दै
मेरो यौवनलाई निहार्छ।
तर, म प्रकृति
ए ,पुरुष
तिमीले खेल्यौ
मेरा तमाम स्वप्न माथि
मेरा वक्षमाथि
आधुनिकवादको नाममा
विकासको नाममा
अनि परिवर्तनको नाममा
ठूला – ठूला मेशिनले
मेरा अङ्ग -अङ्ग छिचोल्यौ
मेरा तन माथि खेल्यौ
मैले सहन नसक्ने गरि
गहिरो , घाउहरु बनायौ
जुन कहिले निको भएन
अब म के गरौ , भन म के गरौ ?
मेरो रोदनले सारा जग रुदै छ आज ।।