वि.सं.२०८२ माघ ९ बिहीवार

एनआरएनए जापानको ‘कार्यालय सचिव’मा पन्त नियुक्त, आजदेखि सेवा औपचारिक रूपमा सुरु

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धता अनुरूप ‘कार्यालय सचिव’नियुक्त गर्ने निर्णयलाई आज (सेप्टेम्बर १, २०२५) देखी कार्यान्वयनमा ल्याएको छ।

संघले टोकियोको शिन-ओकुबोस्थित कार्यालयमा नियमित रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले दक्ष र अनुभवी सचिव सुजन पन्तलाई नियुक्त गरेको जानकारी गराएको छ।

अबदेखि सचिव पन्तले हरेक सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजे देखी बेलुकी ५ बजेसम्म (शनिबार, आइतबार र सार्वजनिक विदा बाहेक) कार्यालयमा नियमित उपस्थिति जनाउँदै सेवा दिनेछन्।

जापानभर रहेका नेपालीहरुले एनआरएनए जापानसँग सम्बन्धित विविध जानकारी, कानुनी तथा दूतावास समन्वयका आवश्यकता, दैनिक जीवनसँग जोडिएका समस्याहरु तथा अन्य परामर्शका लागि कार्यालयमै आएर वा फोन र म्यासेजमार्फत प्रत्यक्ष रूपमा जानकारी लिन सक्नेछन्।

एनआरएनए जापानले यो सेवाका लागि हटलाइन नम्बर 080-6352-8286 सार्वजनिक गरेको छ। यदि फोन व्यस्त भएमा वा कार्यालय समय बाहिर परेमा, सोही नम्बरमा Viber मार्फत म्यासेज गरेर पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ। साथै, संघको आधिकारिक फेसबुक पेजमार्फत पनि जानकारी र सम्पर्क गर्न सकिनेछ।

एनआरएनए जापानका अनुसार, “कार्यालय सचिवको उपस्थितिले जापानवासी नेपालीहरुका दैनिक समस्यामा सहजता ल्याउने, आवश्यक सहयोग र समन्वयमा तीव्रता ल्याउने र समुदायसँग प्रत्यक्ष सम्वाद कायम गर्ने काममा टेवा पुर्‍याउनेछ।”
संघले यो कदमलाई घोषणापत्र अनुरूपको प्रतिबद्धता कार्यान्वयनको एक सशक्त उदाहरण बताउँदै आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सेवा–मुखी कार्यक्रमहरूमा अझ सक्रियता ल्याउने प्रतिबद्धता जनाएको छ।

अध्यक्ष सुभाष लामिछानेले भने, “आउनुस्, सबै मिलेर यो अभियानलाई ‘सम्भव’ बनाऔं ।”