वि.सं.२०८१ जेठ ७ सोमवार

‘पर्दा पछाडि छन् नेपाली ढाका जोगाउनेहरु’

बेरोजगारीको मारले नेपाली श्रमिकहरु अनेकौं समस्या झेलिरहेका छन् । स्वदेशमा रोजगारका अवसर थोरै छन्, समस्या चाहिँ धेरै । अवसरको खोजिमा देश विदेश गरे पनि व्यवसायिक सिपको अभावले थप मार खाइरहेका छन्, केही गरी धर पाइरहेका छैनन्, उनीहरु । तर, राज्य र सरोकारवालाहरु भने यस विषयमा गम्भीर छैनन् । राज्य संचालक र नीति निर्माताहरुले ‘श्रमिक को हुन् ? कसलाई कुन टोकरीमा राख्ने ? स्वदेशमै श्रम गर्दा कुन वस्तु तथा सेवाको उत्पादन लिन सकिन्छ ? कुन श्रमले अर्थतन्त्रमा के टेवा पुर्याएको छ ? भन्नेमा कुनै चासो राख्दैनन् ।

राज्यले संगठित क्षेत्रका श्रमिकलाई चिने पनि असंगठित क्षेत्रभित्र रहेका श्रमिकलाई चिनेको छैन । न उनीहरुको परिचय छ, न कुनै लगत । अझ गृह श्रमिकबारे त राज्य बेखबर जस्तै छ । को हुन् ? गृह श्रमिक । कहाँ छन् उनीहरु ? कस्तो अवस्थामा छन् ? अर्थतन्त्रमा उनीहरुको योगदान के छ ? नीति निर्माण तह मै किन सम्बोधन भइरहेको छैन, गृहश्रमिकको मुद्दा ? यो काम सरकार आफु पनि गर्न सकिरहेको छैन भने संघ सस्थाको पहलमा भइरहेका कार्यको मूल्याङ्कन गर्न पनि कन्जुस्याँई गरिरहेको छ ।

त्यसका उदाहरणहरु हाम्रा आँखैअघि छन् । भक्तपुर नगरपालिकाको भवन अघिल्तिरको बाटोबाट २–४ हिँडे जस्तापाताले बनेको एउटा ‘कारखाना’ पुगिन्छ । जहाँ ५–६ जना दिदीबहिनीहरु नेपाली ढाका बुन्न व्यस्त छन् । तर, त्यो ‘कारखाना’ राज्य वा सरकारको लगतमा छैन । सरकारले भन्ने गरेको ‘घरेलु, साना, मझौला वा ठूलो उद्योग’ कुनैमा पर्दैन, यो । यो त गृहश्रमिकको रोजीरोटी हो । र, आ–आफ्नो घर डेरामा गरिरहेको इलम’लाई एउटा छानामुनी ल्याइएको, मात्रै ।

आमाहरुबाट सिकेको सिप हस्तान्तरण गर्न पाए हन्थ्यो

हरिमाया लिम्बु राई वर्षले ३७ मात्रै लागिन् । तर, ढाका बुन्न भने पोख्त । जस्तो पनि बुट्टामा पनि बुन्न सक्ने । तेह्रथुमको मेन्छ्यायेम –६ हो, उनको स्थायी घर । अहिलेको बसाई भने भक्तपुर कमलविनायक । तेह्रथुम भन्नेवित्तिकै ढाकाको लागि, प्रख्यात ठाउँ । तेह्रथुमको ढाका बुनाइले किराँतहरुको मुन्धुमको समेत प्रर्वद्धन गर्छ । आमाहरुले बुनेको हेर्दा हेर्दै ढाका बुन्न सिकिन्, हरिमायाले । तर, व्यवसायिक रुपमा अर्थात् आयआर्जन गर्ने गरेर बुन्न थालेको भने सन् २०१२ बाट हो । ढाकाको कपडा हेर्दा जस्तो आकर्षक र वैभवशाली देखिन्छ बुन्दा पनि उत्तिकै कठिन छ । हरिमाया भन्छिन्, ‘१ मिटर बुन्न ३–४ दिन लाग्छ । त्यो पनि एक लगातार बुने मात्रै । बुन्दा बुन्दै अन्य कामधन्दा आइलाग्यो भने चौपट हुन्छ । समय र मेहिनत बढी लाग्ने इलम हो, यो ।’

ढाका बुन्दै हरिमायाँ लिम्बु राई र उर्गेन मुक्तान
अनि कमाई पनि त ड्याम्मै होला नि ? जवाफमा उनी खुब हाँसिन् । उनी भन्छिन्, ‘त्यति साह्रो कमाई हुने भन्ने हुँदैन । एउटै थान बुन्न महिनौ लाग्छ, उसै परे वर्ष नै लाग्छ । त्यो विक्रि भए एक पल्ट पैसा आउँछ । त्यसपछि अर्को बुन्दासम्म चिल्लै । एक पल्ट पैसा आए ५–६ महिना हात खाली हुन्छ ।’

थानमा मिटरको ८ सय देखि ११ सय सम्म बुझेको अनुभव छ, हरिमायासँग । सल बुन्दा २ मिटरको १५ सय आउँछ । यसको कमाईले आफुलाई मात्रै भइरहेको छ । श्रीमान श्रीमती दुबै खँटिदा मात्रै छोराछोरी पढाउन सकिएको छ । हामीले अपनाएको इलमलाई राज्यतहबाट सम्बोधन गरिदिए हुने थियो । हामी यो सिप अरुलाई सिकाउन चाहन्छौँ तर, सिक्ने मान्छेहरु छैनन् । सिक्नतेहरु पनि टिकिरहेका छैनन् । कारणः यसमा समय र मेहिनत धेरै पर्छ । आम्दानी थोरै ।

अर्कोतिर, स्वास्थ्य समस्या धेर हुन्छ । एकदम एकाग्र भएर समय दिनु पर्ने भएका कारण आँखा, गर्धन, ढाड र घुँडा दुख्ने समस्या हुन्छ । स्टुलमा लगातार बसेर काम गर्दा पाठेघरमा समेत समस्या हुने गरेको छ । र, पनि हामीले नेपाली ढाकाको शानमा कमि हुन दिएका छैनौँ । ‘हामी प्रशिक्षक बनेर धेरैलाई सिकाउन चाहन्छौ, उनी अगाडि भन्छिन्, ‘प्रशिक्षणको थोर धेर हामीलाई भत्ता वा सेवा सुविधा आउने व्यवस्था भए हुने थियो । अहिले स्थानीय सरकारले शसक्तिकरण तथा सिप विकासका विभिन्न कार्यक्रम गर्छन् भन्ने सुनेका छौँ । तर, हाम्रो खोजी कम भइरहेको छ ।’

आमाको तान र दिदीको टोपीबाट सिके, ढाका बुन्दै गयो जीवन

देउमाया लिम्बु, वर्षले ५७ कटिन् । उनको स्थानीय ठेगाना चाँहि तेह्रथुमको फेदापबाट –५ । ढाका बुन्दै २८–२९ वर्ष वित्यो । आमाले तान बुन्दा, दिदीले टोपी बुन्दा सिके । काठमाडौं आएपछि यसैलाई आयआर्जनको बाटो बनाएँ । काठमाडौं आएपछि सुरुका दिनमा ज्यालामा काम गरिन्, उनले । त्यो बेला मिटरको १७० रुपियाँसम्म ज्याला पथ्र्यो । जुनबेला बजारभाउ सस्तो थियो । मट्टीतेल लिटरको जम्मा ९ रुपियाँ । अब त त्यो जमाना कहाँ रहयो र, उनले भनिन्, ‘बजारभाउ सयौँ गुणाले आकाशियो । श्रमको मूल्य बढेन । अहिलेको समयमा जीरा मसिनो चामल बोराको २१ देखि २५ सय पुग्यो । हाम्रो ढाका मिटरको ८ सय देखि ११ सय मूल्य छ ।’ ढाका बुन्ने धागो ४० रुपैँया दर्जन पाइन्थ्यो । अहिले दर्जनको दुई सय ५० सम्म पर्छ । मान्छेहरुले ढाका कस्तो महँगो भन्छन्, उनले अगाडि भनिन्, ‘तानमा बुनेको ढाका महँगो त्यसै हुने भइहाल्यो । अर्कोतिर धागो बाहिरबाट आउने हो, महँगो छ । नेपालमा धागो उत्पादन भइरहेको छैन । जसरी तेह्रथुममा नेपाली कपासबाट बनाइएको नेपाली धागोबाटै कपडा बनिरहेको छ । त्यसरी नेपालमै धागो उत्पादन गर्न सक्ने हो भने, यो ढाका अझै सस्तो हुनसक्थ्यो ।’

तानमा ढाका बुन्दै इन्द्र कुमारी राई र सुर्जमायाँ
देउमाया प्रशिक्षक पनि हुन् । उनी कहिले काँही काठमाडौं बाहिर गएर पनि ढाका बुन्न सिकाउँछिन् । तर, प्रशिक्षणको भत्ता भने पाउन सकेकी छैनन् । उमेर ढल्किदै गयो । रोगले च्याप्दै लग्यो । र, पनि उनले आफ्नो सिप क्षमताको उचित लाभ पाउन सकेकी छैनन् । देउमायाको कथाबाटै पनि राज्यले गृहश्रमिकलाई सम्बोधन गर्नै पर्ने आवश्वकता खड्किन्छ ।
उनको अहिले दुबै घुँडाको हड्डी खिइएको छ । जति उपचार गरेपनि ठीक भएको छैन । एक थान ढाका बुन्न महिनौँ लाग्छ । लामो धैर्यपछि मात्रै आम्दानी हात लाग्छ । उपचारको प्रभावकारी उपाय छैन, उनीसँग । यस कारण पनि राज्यले गृहश्रमिकका समस्या सुन्नै पर्छ ।


तानमा ढाका बुन्दै देउमायाँ
सवाले गर्दा सजिलो

हरिमाया, देउमायासँगै काभ्रे मण्डनदेउपुरकी ईन्द्रकुमारी राई (४६वर्ष), दोलखा शैलुङकी उर्गेन मोक्तान (४० वर्ष) र सिन्धुली शान्तेश्वरीकी सुर्जमाया तामाङ (३० वर्ष) एउटै हलमा तान लगाएर ढाका बुनिरहेका छन् । आ–आफ्नो डेरा वा ज्यालादारीमा ढाका बुन्दै आएका उनीहरुलाई ललितपुर कुसुन्तीमा रहेको संस्था सवा नेपालले ७२ सालको भूकम्पपछि भक्तपुर नगरपालिका–२ व्यासीमा ल्याएर एउटै छानामुनी काम गर्ने व्यवस्था मिलाइदियो । सवाले बनाइदिएको जस्ताको हलमा अहिले लहरै तान राखेर आफ्नो इलमलाई निरन्तरता दिएका छन्, उनीहरुले । १८–१९ वटा तान अटाउन सक्ने हलमा नियमित ढाका बुनिरहेका भने जम्मा ५ जना छन् ।

गृहश्रमिक महिलाको जिपिकोपार्जनलाई आफ्नो अभियान बनाएको सवा नेपाल कै अर्डरको काम गरिरहेको छ, देउमाया र हरिमायाको समूहले । एकै छानामुनी काम गरिरहेका भए पनि उनीहरुको लगानी र आम्दानी भने आ–आफ्नै हो । तान, धागो, समय सबै आ–आफ्नो लगानी हो ।

उनीहरु भन्छन्, ‘हल सवाले बनाइदिए पनि । काम हामी आ–आफ्नै गर्छौँ । लगानी पनि आ–आफ्नै, आम्दानी पनि आ–आफ्नै हो । यहाँ बस्दा निकै सहज भएको छ । आफ्नो डेरामा हुँदा यो काम त्यो काम भनेर यसमा एकाग्र भएर काम गर्न पाइरहेका थिएनौँ । डेरामा विग्रे सप्रिएकोबारे सररल्लाह गर्न पाइँदैन थियो । एक्लै काम गर्दा पट्यार लाग्थ्यो । अहिले यहाँ दिदीबहिनीहरु गफिँदै एक अर्कालाई अनुभव साँट्दै काम गरिरहेका छौँ । यसरी समय वितेको र काम सकिएको पत्तै हुँदैन । सवाको सहयोगले हाम्रो अवस्था बदलियो ।’

सफा हुनुपर्छ काम

ढाका बुनिसकेपछि बजार खोज्दै हिँड्नु पर्ने अवस्था छैन । अर्डर अनुसार सवाले किनिदिएको छ । देउमाया भन्छिन्, ‘सवालाई काम सफा चाहिन्छ । क्वालिटीमा कम्प्रमाइज गर्दैन । भने अनुसार कै बुट्टा, कलर र फिनिसिङ चाहिन्छ । त्यसैले सवाको ढाका सबैले बुन्न सक्दैनन् ।’

धागो खोज्न धेरैतिर धाउन पर्दैन । सवाले नै धागो ल्याइदिएको छ । सवामा नपाएको धागो मात्रै बाहिर खोज्ने हो । उनले भनिन्, ‘सवाले गर्दा हामीले काम र कच्चा वस्तु खोज्दै हिँड्नु परेको छैन । र, अहिले हात खाली छैन । नभए हामी एक महिना काम पाए ६ महिना खाली हुने अवस्था थियो ।’