वि.सं.२०८१ कात्तिक १७ शनिवार

मन्त्रालयमा मन्त्री गिरीको स्टन्ट, राज्यमन्त्री कार्कीसँग मतभेद

गत ३ माघमा स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्री बनेका नेकपा एमालेका नेता पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की बिच मतभेद शुरु हुन थालेको छ ।

मन्त्री पदम गिरीले आफु अनुकुल निर्णय गर्ने र कर्मचारी पनि आफु अनुकुल चलाउन थालेपछि केहि नयाँ गर्छु भन्ने उर्जाका साथ राज्यमन्त्री बनेकी कार्कीको योजनामा धक्का लाग्ने देखिएको छ ।

अहिले नेकपा एमाले निकट कर्मचारी दिनहुँ जसो मन्त्रालयमा कार्कीको बारेमा मन्त्री गिरीलाई कुरा लगाउँदै गरेको भेटिन्छन् । जसरी हुन्छ कार्कीलाई असफल बनाउन गिरी तत्पर रहेको स्रोत बताउँछ ।

‘मन्त्री गिरी प्राबिधिक रुपमै कसरी हुन्छ कार्कीलाई पेन्डुलम बनाएर राख्ने भन्ने बिषयमा स्वास्थ्य क्षेत्र निकटका मान्छेहरुलाई बोलाउदै सल्लाह लिने गरेका छन्,’ मन्त्रालयमै कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

त्यसो त अहिले स्वास्थ्य मन्त्रालय मन्त्री गिरीले भन्दा पनि हाल गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका खगराज अधिकारीका निकट मानिने युवा संघ उपाध्यक्ष रामजी सापकोटाले चलाउने गरेको बताइन्छ ।

मन्त्री गिरीको सचिवालय नै नबनिसकेको अवस्थालाई खेल्दै सापकोटाले मन्त्रालयका कर्मचारीलाई ‘म स्वकीय सचिव’ बन्ने कन्फर्म भईसकेको र नियुक्ति भएपछि सबैलाई देखाइदिने भन्दै डर देखाउन थालेको कुरा एक कर्मचारीले पोखे ।

बिभिन्न मेडिकल माफियाहरुसँग राम्रै सम्बन्ध रहेका सापकोटाले गोप्य रुपमा मन्त्रीलाई ति माफियासँग भेटाउने र कार्कीलाई असफल बनाउने योजनामा लागेको कुराको अहिले मन्त्रालयमा चर्चा हुने गरेको छ ।

तर मन्त्री गिरी भने आफ्ना भाई लक्ष्मण गिरीलाई स्वकीय सचिव बनाउन चाहेको बुझिएको छ । यता सापकोटाको जिद्दीपनले मन्त्रीलाई काम गर्न नै सकस भइरहेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको माहोलबाट तर्सिएको एमालेले कार्कीले राम्रो काम गरेको खण्डमा आफ्नो मन्त्री छायाँमा पर्ने भन्दै एमालेले आफ्नो साइबर सेना समेत स्वास्थ मन्त्रालय केन्द्रित गरेको छ ।

मन्त्री गिरी समेत सस्तो लोकप्रियताका लागि क्यान्टिनमा खाना खाएकोदेखि कोशी अस्पताल घटनाका पिडितका बाबुलाई फोन फोन सम्पर्क गरेको कुरा समेत टिकटकमा हाल्न भ्याएका छन् ।

अझ अचम्मको कुरा त् के छ भने पिडितका बाबुलाई सम्पर्क गरेको भिडियो मन्त्रीकै कार्यकक्ष बनाईको भिडियो हो । यसबाट के प्रस्ट हुन्छ भने साइबर सेना हरसमय मन्त्रीकै कार्यकक्षमा बस्दो रहेछन् ।

सस्तो लोकप्रियता खोज्ने मन्त्री गिरीको सामाजिक संजाल स्टन्ट र राज्यमन्त्री डा. कार्कीको रोक्ने योजना कत्तिको सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।