वि.सं.२०८३ वैशाख ३० बुधवार

चितवन प्रहरीमा ‘नातावाद’ को छायाँ, इन्स्पेक्टर रिजालको दबदबा

जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखामा पछिल्लो समय प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपक रिजालको प्रभाव अस्वाभाविक रूपमा बढ्दै गएको भन्दै प्रहरी वृत्तभित्रै चर्चा सुरु भएको छ।

भदौ महिनादेखि मुद्दा शाखाको जिम्मेवारी सम्हालेका रिजालले जिम्मेवारी पाए लगत्तै शाखामा लामो समयदेखि काम गर्दै आएका वरिष्ठ सई युवराज पाण्डेलाई सरुवा गराउन सफल भएपछि प्रहरी संगठनभित्र प्रश्न उठ्न थालेको हो।

प्रहरी स्रोतका अनुसार हाल चितवन प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र इन्स्पेक्टर रिजालबीच नातेदारी सम्बन्ध रहेको बताइन्छ।

दुवै जना पर्वत जिल्लाका भएकाले पनि उनीहरूबीचको निकटता प्रहरी कार्यालयभित्र खुलेआम चर्चाको विषय बनेको छ।

यही सम्बन्धकै आडमा एसपी पुरीले रिजाललाई ‘कमाउ’ मानिने मुद्दा शाखाको जिम्मेवारी दिइएको आरोप संगठनभित्रकै केही अधिकृतहरूले लगाएका छन्।

स्रोतका अनुसार मुद्दा शाखा जिल्ला प्रहरी कार्यालयको अत्यन्त संवेदनशील र प्रभावशाली शाखा मानिन्छ।

बैंकिङ कसुर, आर्थिक अपराध, लेनदेन विवाददेखि विभिन्न फौजदारी प्रकृतिका मुद्दामा प्रारम्भिक ‘सेटिङ’ हुने स्थान नै यही शाखा भएकाले यहाँ बस्ने अधिकृतको प्रभाव पनि बढी हुने गर्छ। त्यही कारण यो शाखामा जिम्मेवारी लिन संगठनभित्र ठूलै प्रतिस्पर्धा हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

तर चितवनमा भने सिनियर अधिकृतहरूलाई पाखा लगाएर एसपी पुरीले आफ्नै निकट मानिएका रिजाललाई जिम्मेवारी दिएको भन्दै प्रहरी वृत्तमै असन्तुष्टि बढेको थियो।

‘मुद्दा शाखा जस्तो संवेदनशील स्थानमा अनुभव, सिनियरिटी र कामको मूल्यांकन हेर्नुपर्ने हो। तर यहाँ नातावाद र ‘बार्गेनिङ’ सजिलो हुने हिसाबले जिम्मेवारी बाँडिएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक प्रहरीले नाम नखुलाउने सर्तमा भने।

ती प्रहरीका अनुसार मुद्दा सम्बन्धी कुनै पनि काम सहज रूपमा अघि बढाउन सेवाग्राहीले पैसा खर्च गर्नुपर्ने अवस्था बढेको गुनासो समेत आउन थालेको छ। सामान्य मिलापत्रदेखि अनुसन्धान प्रक्रिया अगाडि बढाउनसमेत ‘सेटिङ’ खोजिने गरेको आरोप प्रहरीभित्रैबाट उठ्न थालेको छ।

‘कुन मुद्दा कसरी अगाडि बढाउने, कसलाई सहज बनाइदिने, कसलाई दुःख दिने भन्ने निर्णयमा आर्थिक चलखेल हुने गरेको चर्चा छ,’ ती अधिकृतले दाबी गरे।

यही बीचमा सबैभन्दा धेरै चर्चा वरिष्ठ सई युवराज पाण्डेको सरुवालाई लिएर भएको छ। पाण्डे लामो समयदेखि मुद्दा शाखामा कार्यरत थिए।

शाखाको फाइल प्रणाली, अनुसन्धान प्रक्रिया, अदालतसँगको समन्वयदेखि पुराना संवेदनशील मुद्दासम्मको जानकारी उनीसँग रहेको बताइन्छ। यसअघि मुद्दा शाखामा आएका इन्स्पेक्टरहरूले पनि पाण्डेलाई साथमै राखेर काम गर्ने गरेका थिए।

तर रिजालले जिम्मेवारी सम्हालेको छोटो समयमै पाण्डेलाई इप्रका टाडीमा पठाउन सफल भएपछि त्यसको उद्देश्यलाई लिएर प्रश्न उठेको छ। प्रहरी स्रोतका अनुसार पाण्डे शाखाका ‘सबै कुरा जान्ने’ व्यक्ति भएकाले उनलाई हटाएर आफूअनुकूल वातावरण बनाउने प्रयास गरिएको हो।

‘पाण्डे बसेसम्म सबै कुरा नियन्त्रणमा राख्न सजिलो थिएन। शाखाको भित्री काम, कसरी के हुँदै आएको छ भन्ने सबै जानकारी उहाँसँग थियो,’ ती प्रहरी कर्मचारीले भने, ‘त्यही कारण उहाँलाई हटाइएको चर्चा छ।’

स्रोतका अनुसार पाण्डे सरुवा भएपछि मुद्दा शाखामा इन्स्पेक्टर रिजालको एकल प्रभाव बढेको छ। अहिले अधिकांश संवेदनशील फाइल र निर्णय उनकै नियन्त्रणमा रहेको बताइन्छ। प्रहरी वृत्तमा यसलाई ‘दबदबा’ का रूपमा व्याख्या गर्न थालिएको छ।

यता जिल्ला प्रहरी कार्यालय चितवन भने यी आरोपलाई औपचारिक रूपमा स्वीकार गर्न तयार छैन। प्रहरी प्रशासनले जिम्मेवारी र सरुवा संगठनको नियमित प्रक्रिया भएको बताउने गरेको छ। तर संगठनभित्रै उठिरहेका प्रश्न र असन्तुष्टिले चितवन प्रहरीको आन्तरिक वातावरण भने तातिएको देखिन्छ।

विशेषगरी मुद्दा शाखा जस्तो संवेदनशील स्थानमा नातावाद, आर्थिक चलखेल र प्रभावको आरोप उठ्नुले प्रहरी संगठनकै निष्पक्षतामाथि प्रश्न खडा गरेको टिप्पणी हुन थालेको छ। प्रहरीभित्रैबाट उठिरहेका यस्ता आरोपमाथि निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत बढ्दै गएको छ।