गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा अन्तर्वार्ता दिने क्रममा उनले आफूलाई भोट नदिने मतदातालाई पिटिदिनेसम्मको धम्की दिएका थिए। उनले यो धम्की एफएमबाट दिएको उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगले महतोलाई स्थानीय रेडियोमार्फत मतदातालाई लक्षित गरी धम्कीपूर्ण भाषा बोलेकोमा स्पष्टीकरण सोधिएको जनाएको छ।
महतोले गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा दिएको अन्तरवार्तामा भोट नदिनेलाई पिटिदिने पनि चेतावनी दिएका थिए।
‘अहिले चुनावका कारण धेरै दम राखेको छु । चुनावपछि देखाइदिन्छु । हारे पनि के हुन्छ, म सबैलाई तह लगाइदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस् । कुरा बुझ्नुभो नि, तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ । त्यस्तो मान्छेलाई पिट्दिन भने के खुट्टा ढोगौँ। खुट्टा ढोगेर काम लाग्छ’, उनले मैथिलीमा धम्की दिँदै भनेका थिए,’मलाई मत नदिनुस् तर मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा म आफैँ गएर एकाध थप्पड पिटेँ। मैले चुनावका कारण धेरै धैर्य राखेको छु। चुनावपछि देखाइदिन्छु।’
उनलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था रहेको भन्दै आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो।