काठमाडौं । हिजो जनताको बहुदलीय जनवादको प्रवर्तक भनिएका जननेता मदनभण्डारी चुनावी प्रचारमा आउने सुइँको पाउनेवित्तिकै वल्लोघर पल्लोघर सबैतिरबाट माझेर टलक्क टल्काइएका तामा, पित्तलका गाग्रीहरु ओरादोरा (वारपार) राखिन्थे ।
टोलटोलमा भव्य स्वागत हुन्थ्यो । आफ्नो दल वा कार्यकर्ता मात्रै होइन, आम सर्वसाधारणले स्वस्फूर्त त्यसरी उम्मेदवारको स्वागत गर्थे । अविर, फूलमाला पहिराईदिई विजयोत्सवकै माहोल बनाउँथे । यस्तो हुन्थ्यो, मदन भण्डारी, मनमोहनको पालासम्म चुनावी प्रचार ।
अहिले सानो साउण्ड सिस्टम बोकेर एक जना पार्टी वा समूहको झण्डा, एक जना चुनाव चिन्हअंकित पर्चा र एक जना उम्मेदवारको कार्ड र फूलमाला भिरेर टोलटोल चाहारेको भेटिन्छ । र, सामाजिक सञ्जालको भित्तामा आफ्ना कुरा राख्न सजिलो पनि भएको छ, उम्मेदवारलाई । प्रविधिले गर्दा पहिला भन्दा अहिले मतदातालाई कुरो सुनाउन तथा बुझाउन सजिलो भएको छ । तर, पनि चुनावी खर्च उकालो चढेको चढ्यै छ ।
मदनभण्डारी चुनावी प्रचारमा आउँदा आफुहरुले पहिले गाग्री निकालेर टोलबासीलाई हौस्याएको सम्झिन्छिन्, अहिले काठमाडौं क्षेत्र नम्बर १ प्रदेशसभातर्फ नेकपा (एकीकृत समाजवादी)बाट समानुपातिक उम्मेदवार जमुना श्रेष्ठ खत्री । उनी भन्छिन्, ‘अहिले उ बेलाको जस्तो निष्ठाको राजनीति नै कहाँ रहयो र । र, पनि हामीले अझै कम्युनिष्ट पार्टीको झण्डामुनि ओत लाग्न छोडेका छैनौँ ।’
हामी निम्छरो वा दुर्वल भएर अथवा कतै जाने बाटो नभएर कम्युनिष्ट पार्टीको झण्डामुनि संगठित भइरहेका भने होइनौँ, उनले खप्तडटिभीसँग भनिन्, ‘अहिले पनि हामीले आफैँभित्र विद्रोह गर्नु परेको छ ।
कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकरण गर्न बनेको विशाल नेकपालाई तहसनहस पार्नेहरु (केपी शर्मा ओली)लगायतविरुद्ध नै हामीले विद्रोह गरेका छौँ । असाध्य दमन, थिचोमिचोविरुद्ध विद्रोह गरेर संविधानले बोकेको र नागरिकले खोजेको समाजवादी क्रान्तिलाई अघि बढाउन अहिले हामी नेकपा (एकीकृत समाजवादी)मार्फत कटिबद्ध भएर लागेका छौँ । समाजवादको महाअभियान पूरा नभएसम्म हामी विश्राम लिँदैनौँ ।’
आवधिक निर्वाचनको मर्म नै नबुझि सत्ताको लिगलिगे दौडमा लाग्नेहरुले समाजवादको क्रान्तिलाई तोडिसकेको उनको टिप्पणी छ । उनी भन्छिन्, ‘अहिलेको युवा पिढीले बुढा एवं धूर्त नेताहरुको फट्याँई बुझिसकेका छन् । अहिलेका युवाहरु स्वदेशी पुँजी विदेश लैजाने नेता तथा नीति निर्माताहरुविरुद्ध सतिसालझैँ उभिने छन् । र, समाजवादी क्रान्तिलाई अघि बढाउने छन् । हामीले बाटो पहिल्याईरहेका मात्रै हौँ । बाँकी कार्यभार युवाहरु आफैँले स्वस्फूर्त बोक्नेछन् । त्यसमा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) पूर्ण रुपमा विश्वस्त छ ।’
सरकारी उद्योग तथा संस्थानहरुको अवसान र अस्वभाविक निजीकरणले मुलुकको आर्थिक उन्नती हुन नसकेको उनको तर्क छ । अर्थशास्त्रमा एमए गरेकी खत्रीले जिर्ण तथा रुग्ण उद्योगहरुलाई व्यूँताउन सके मात्रै मुलुकको अर्थतन्त्रमा सुधार आउने बताएकी छन् ।
को हुन् खत्री ?
२०१३ साल असार १५ गते काठमाडौं महानगर –२० भीमसेनस्थानमा जन्मिएकी जमुना श्रेष्ठ रामेछाम गेलु (मन्थली) १२ का एन खत्रीसँग वैवाहिक नाता गाँसिएपछि ‘जमुना श्रेष्ठ खत्री’ भईन् । ४० सालमा वैवाहिक जीवनमा गाँसिएकी उनले ३ वर्ष कम उमेरमै प्रवेशिका परीक्षा अर्थात् एसएलसी उत्तिर्ण गरेकी थिईन् ।
विवाहपछि रामेछाप पुगेकी जमुनाको कर्मथलो भने काठमाडौं नै बन्यो । अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर उनको बसोबास छ । जुन अहिले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । जस क्षेत्रबाट उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार छिन् ।
उनले अर्थशास्त्रमा एमए गरेकी छन् । सरकारी विद्यालयमा लामो समय अध्यापन गराएकी उनी शिक्षकहरुको ट्रेनर मात्र भईनन् उनले क्याम्पस नै खोलिन् । र, अहिले पनि उनी शैक्षिक एवं सामााजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । २०३४ सालमा आईए सक्नेवित्तिकै शिक्षण पेसामा लागेकी उनले २०३८ सालमा शिक्षक सेवा आयोगको परीक्षा पास गरिन् र स्थायी भईन् । ३० वर्ष सरकारी विद्यालयमा सेवा गरेकी उनले स्नातकोत्तर तहसम्मको अध्यापन हुने कलेज नै खोलिन् ।
जमुनाको संघर्ष
जमुना त्यसै समानुपातिक सांसदका लागि सिफारिस भएकी होइनन् । यसमा उनको ठूलो त्याग र योगदान छ ।
२०५८ साल चैत २४ गते एसएलसी परीक्षा दिँदै गरेका छोरा सान्त्वना खत्रीको मृत्युले उनको पारिवारिक जीवनमा ठूलो कष्टलाई निम्ता दियो । तर, उनले त्यो असाध्य पीडालाई मनभित्रै गाँठो पारेर राजनीतिक एवं सामाजिक जीवन अघि बढाईन् । २०६० सालमा उनले छोरा सान्त्वनाको स्मृतिमा सान्त्वना कलेज स्थापना गरिन् । त्यसअघि छोराको तेह्रौं दिनको पूण्य तिथि पारेर २०५९ वैशाख ५ मा सान्त्वना स्मृति प्रतिष्ठान स्थापना गरियो ।
जसको समुदघाटन नेता माधव कुमार नेपालले गरेका थिए । पहिले खेलकूद तथा अन्य सामाजिक काम गर्दै आएको प्रतिष्ठानले अहिले शैक्षिक संस्था सञ्चालन तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । छोराको मृत्युपछिको केही समय जमुना राजनीतिमा होलटाइमर भई सक्रिय भईनन् । तर, संगठित रुपमा भने पार्टीलाई योगदान गरिरहिन् । जब वृहत नेकपा फुटेर एमालेमा (उनकै भाषामा)केपी ओलीले कु’गरे । तब, उनलाई लाग्यो कि समाजवादी क्रान्तिविरुद्ध लाग्ने प्रतिक्रान्तिकारी तथा धोकेबाजहरुविरुद्ध एक हुन जरुरी छ । त्यसै कारण अहिले उनी भूगोलबाटै नेकपा (एकीकृत समाजवादीको) केन्द्रीय परिषद् सदस्य र प्रदेश कमिटी सदस्यकाे पदीय हैसियतमा छिन् ।
राजनीतिक जीवन
२०३४ सालमै राजनीतिक प्रभावले उनलाई तान्यो । परिवारमा राजनीति गर्ने कोही थिएनन् । र, पनि उनी राजनीतिमा लागिन् । उनले त्यो बेलाको अवस्था सम्झिँदै भनिन्, ‘त्यो बेला राजनीतिमा लाग्नेको परिवारका सदस्यहरु डराउँथे । कसैलाई थाहा भइहाल्छ कि भन्ने पिर हुन्थ्यो । परिवारमा अरु तर्र्सिए पनि भाउजुको निकै साथ पाएँ । र, मलाई सजिलो भयो ।’
विद्यार्थी राजनीतिबाट यात्रा थालनी नभए पनि शिक्षक संगठनबाट उनले २०३६ सालमा बहुदल–निर्दल आन्दोलन अन्तर्गत काठमाडौंको उत्तरी बेल्टको नेतृत्व गरिन् । शिक्षक संगठनबाट एउटा आन्दोलन हाँकेपछि मात्रै उनले तत्कालीन मालेको पार्टी सदस्यता पाईन् । वर्तमान परिवेशको कुरा गर्ने हो भने, बाटोमा भेटेको अपरिचित व्यक्तिलाई समेत सदस्यता वितरण गर्न पनि पछि पर्दैनन्, राजनीतिक दलहरु ।
अनेम संघको सचिव समेत भएकी उनीसहितका केही नेता कार्यकर्ताले पार्टीको सम्पर्क मञ्च बनाउने प्रावधान ल्याउन योगदान दिए । मदन भण्डारीले सम्पर्क मञ्च बनाउँदा समानान्तर कमिटी जस्तो हुने भन्दै बन्देज गरिदिएका थिए । तर, पाँचौं राष्ट्रिय महाधिवेशनमा जमुनासहितका केही नेता कार्यकर्ताले पार्टीको विधानमा सम्पर्क मञ्चको प्रावधान उल्लेख गर्न लगाए । जो, अहिले पनि जीवित छ ।
त्यो प्रबन्ध गरेपछि उनी काठमाडौं–रामेछाप सम्पर्क मञ्चको सल्लाहकार समेत भईन् । २०४६ सालको आन्दोलनपछि नेपाली राजनीतिमा अवसरवादीहरु हावी भएको अनुभव उनले सुनाईन् । २०४६ अघि मालेको राजनीति गरेकी उनी पछि एमालेमा सक्रिय भईन् । तर, कहिल्यै पद र पावरका लागि कसैसँग अनुनयविनय भने गरिनन् ।
अहिले आफु समानुपातिक सांसदका लागि सिफारिस हुनुअघि कुनै पनि क्षण पार्टी अध्यक्ष एवं संयोजक माधव नेपालकहाँ भेटघाटसम्म गर्न नगएको उनको भनाइ छ ।