वि.सं.२०८१ जेठ ७ सोमवार

प्रदेश सभा समानुपातिक सांसदका लागि बझाङबाट नेता विश्वकर्मा सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले प्रदेश सभा र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

आसन्न मंसिर ४ को चुनावलाई मध्येनजर गरी नेकपा एसले प्रत्यक्षतर्फ र समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।

विगतको चुनाव झै यसपालि पनि समानुपातिकतर्फ प्रदेश सभाका लागि दलित तथा पिछडिएको क्षेत्रबाट कलकबहादुर विश्वकर्मा सिफारिस भएका छन् ।

सुर्मा गाउँपालिका वडानं ३ स्थायी बसोबास भएका नेता विश्वकर्माको आफ्नो वडामा राम्रो जनमत छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनको वडामा एकीकृत समाजवादी वलियो प्रतिश्पर्धी दल रहेको थियो ।

यद्यपी उक्त वडा नेकपा एमालेका उम्मेदवार कैलाशबहादुर बोहराले ४१० मत ल्याएर जितेका थिए । नेकपा एसबाट वडाध्यक्षका उम्मेदवार दिलबहादुर विकले ३१० मत ल्याएका थिए ।

नेता विश्वकर्मा विगतमा पनि समानुपातिक सांसदका लागि २ पटक सिफारिस भैसकेका छन् । उनी २०६९ र २०७४ सालको आम निर्वाचनमा जिल्लाबाट समानुपातिक सभासदको बन्द सूचिमा सिफारीस भएका थिए ।

नेता विश्वकर्मा २०४५ सालको बहुदलिय व्यवस्थामा सुर्मा गाउँ विकास समिति उपाध्यक्षमा निर्वाचित भएका थिए ।

२०४८ सालमा एमालेबाट सांस्कृतीक कार्यक्रम टोलिको सदस्य भएका थिए । नेता विश्वकर्मा २०६४ सालको एमाले अधिबेशनमा जिल्ला कमिटि सदस्यमा बनेका थिए ।

नेता विश्कर्मा नेपाल उत्पीडित जाती मुक्ति समाज सदस्य, नेकपा एस सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुँदै हाल दलित मुक्ति संगठन नेपालको केन्द्रिय सदस्य र बझाङ जिल्लाको इन्चार्ज छन् ।

बहुदलिय व्यवस्थादेखि हालसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमा लागेका नेता विश्वकर्माको नाममा पार्टीले बारम्बार भोट मागेको छ ।

यो निर्वाचनसमेत गरेरे तीन पटक समानुपातिक सभासदको बन्द सूचिमा नाम सिफारिस भएपनि चुनावपछि सांसद बन्ने अवसर भने पाएका छैनन् ।