वि.सं.२०८१ असोज २५ शुक्रवार

रामेछापबाट प्रदेशसभामा बिनिता खड्काको बलियो दाबी

मंसिर ४ गते हुने प्रदेश (ख) को निर्वाचनमा कांग्रेस नेत्री बिनिता खड्काले आफ्नो दावी रहेको बताएकी छिन् ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएकी खड्का अहिले रामेछापमा राजनीतिमा सक्रिय महिला नेतृको रुपमा परिचित छिन् ।

खड्का कांग्रेसको १३ औँ महाधिवेशनमा सबै भन्दा सानो उमेरमा रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।

उनी १९ वर्षकै उमेरमा महाधिवेशन प्रतिनिधि भएकी थिइन् । २०७४ सालमा स्थानीय तहको निर्वाचनमा सुनापती गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट उम्मेद्वार बनेकी थिइन् ।

खड्काले १४ औँ जिल्ला अधिवेशनबाट महिला तर्फ सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन् ।

खड्कासहित कांग्रेसभित्र प्रदेशको टिकटका लागि उमाकुण्ड गाउँपालिकाबाट आङदेण्डी शेर्पा, भिमसेन वस्नेतलगायतले दावी गर्ने भएका छन् ।

गोकुलगंगा गाउँपालिकाबाट कांग्रेस रामेछापका सचिव दिपक खड्का, उज्जलराम घिमिरे, शिव श्रेष्ठले दावी गरेका छन् । लिखु तामाकोसी गाउँपालिकाबाट कृष्ण बहादुर महतले प्रदेशका लागि उम्मेदवारमा दावी गर्ने भएका छन् ।

रामेछाप नगरपालिकाबाट कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, गत निर्वाचनमा कांग्रेसबाट प्रदेश ‘क’ का उम्मेदवार बनेका रत्न कार्की, पूर्व रामेछापका नगरप्रमुख नरबहादुर थापा मगर, पूर्व नगर उपप्रमुख सृजना खड्कालगायत दाबेदार छन् ।

रामेछाप प्रदेश ‘ख’ अन्तर्गत सुनापति गाउँपालिकाबाट विनिता खड्का नै प्रमुख दाबेदार हुन् ।

प्रदेशको प्रत्यक्ष नभए खड्कालाई संघको समानुपातिकमा राख्न नेतृत्वलाई दबाब परेको छ ।

यसैगरी दोरम्बा गाउँपालिकामा डिक बहादुर योञ्जन आकांक्षी देखिएका छन भने खाँडादेवी गाउँपालिकाबाट अर्जन केसी, वीर बहादुर तामाङले आकांक्षा देखाएका छन् ।

मन्थली नगरपालिकाबाट कुमार श्रेष्ठ, शुक्र माझीलले इच्छा जाहेर गर्न सक्ने बुझिन्छ ।