वि.सं.२०८१ साउन १ मंगलवार

यस्तो आराेप लागेपछि न्यायाधीश भट्टराईले दिए राजीनामा

जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएको बताएका छन् ।

लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले अन्ततः राजीनामा दिएका हुन् । आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा.भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।

६ कात्तिक ०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।

सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने परिषदमा समेत उजुरी परेको थियो । उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा दिएका हुन ।