राजसंस्थाको अपमान हुने गरि टिप्पणी गरेको भन्दै थाइल्यान्डमा एक जनालाई ५० वर्षको जेल सजाय सुनाइएको छ ।
३० वर्षीय मङ्कोन तिराकोटलाई तीन वर्षअघि फेसबुकमा राजसंस्थाको अपमान हुने गरि पोस्ट गरेको एक सामग्रीका लागि दोषी ठहर गर्दै अदालतले २८ वर्षको सजाय सुनाएको थियो । तर त्यसमाथि बिहीबार पुनरावेदन अदालतले २२ वर्ष थप गर्दै ५० वर्ष पुर्याएको हो ।
थाईल्यान्डमा ‘लिज मेजेस्टी’ कानुनले राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउँदै कडा सजायको व्यवस्था गरेको छ । जसको अहिले चर्को आलोचना हुँदै आएको छ ।
तर न्यायाधीशले फेसबुकमा धेरै प्रतिक्रिया लेखिएकोतिर सङ्केत गरेका छन् । थाई अदालतले प्रत्येक पोस्टका लागि थप सजाय दिने अभ्यास गर्दै आएका छन् । न्याधीशले सहयोगी व्यवहारका कारण उनको सजाय कम गरिदिएको उल्लेख गरेका छन् ।
वाचिरालोङ्कोर्न राजा बनेपछि सन् २०१९ मा केही समयका लागि लीज म्याजस्टी कानुन निलम्बित भएको थियो ।
राजसंस्थाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेका अभियानकर्ता तथा वकिल आनोन नाम्पाले पाएको जेल सजाय पनि बुधवार चार वर्षले बढाइएको छ । थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको आरोप नाम्पामाथि छ ।
सन् २०२० को अगस्ट ३ मा सेनाले समर्थन गरेको सरकारविरुद्ध विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनका क्रममा देशमा सुधार गर्नुपर्ने क्षेत्रहरूमध्ये राजतन्त्र पनि पर्ने बताएपछि आनोन नाम्पा चर्चित भएका थिए ।
राजतन्त्रलाई बदनाम गर्ने किसिमका पोस्ट सामाजिक सञ्जालमा गरेका कारण मात्रै थाईल्यान्डमा मानिसहरूलाई ३० देखि ४० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।