वि.सं.२०८१ असोज २५ शुक्रवार

नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन इन्सपेक्टर सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुवेदी साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिन्छु भनेर मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

नेपाल प्रहरी, साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८१।०५।२७ गते।

नेपाल प्रहरी, साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाई दिन्छु भनी निजका दाजुसँग रु.९९,०००/- घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाई दिन्छु भनी निजका दाजुसँग रु.९९,०००/- घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा निज बुद्धि प्रसाद सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.९९,०००/- (उनान्सय हजार मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसा बिगो बमोजिम जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे