कैलाली । कैलालीको गोदावरी नगरपालिका–२, पहाड रोडस्थित स्वस्तिक होटलमा गरिएको प्रहरी छापामा अखिल क्रान्तिकारी बझाङका पूर्व जिल्ला अध्यक्ष बम धामी चरेससहित पक्राउ परेका छन्।
उनको साथबाट अन्य तीन व्यक्तिसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हिजो राति करिब ८ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले स्वस्तिक होटलमा छापा मारेको थियो।
होटलको कोठामा लुकेर बसेका धामीसहितको समूहको खानतलासी गर्दा करिब ७ किलो ५०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ तथा तौल गर्ने काँटा एक थान फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ परेका बम धामी नेकपा माओवादी केन्द्र (प्रचण्ड नेतृत्व) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका बझाङ जिल्ला अध्यक्ष रहेका थिए।
संगठन पुनर्संरचनापछि उनी औपचारिक जिम्मेवारीविहीन बनेका थिए।
धामीसँगै बझाङकै ४२ वर्षीय जनक जाग्री, २५ वर्षीय अमृत बोहरा तथा दार्चुलाका ५० वर्षीय रुपसिंह सितोली पनि नियन्त्रणमा परेका छन्।
उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाही र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






























