वि.सं.२०८२ पुस २९ मंगलवार

विवादित डीएसपी नेपाल पक्राउ

काठमाडौँ । बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत नेपाललाई उनकी कानुनी पत्नीले दिएको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

एसपी क्षेत्रीका अनुसार बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएपछि डीएसपी नेपाल हिजो साँझ स्वयं उपस्थित भएका थिए। “उहाँ आफैँ हिजो बेलुकी आउनुभयो। पक्राउ गरेर म्याद थप प्रक्रिया अघि बढाइएकाे एसपी क्षेत्रीले बताए।

अदालतबाट ३ दिनको प्रारम्भिक म्याद थप गरिएपछि नेपालविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बहुविवाह आरोपसँग जोडिएका प्रमाण संकलन गर्ने र नेपालकी भनिएकी दोस्रो श्रीमतीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

डीएसपी नेपाल प्रहरी निरीक्षक हुँदा बुटवलस्थित वडा प्रहरी कार्यालयमा इन्चार्जका रूपमा कार्यरत थिए।

त्यतिबेला गाँजाको अवैध कारोबारसँग जोडिएको आर्थिक लेनदेनमा संलग्न रहेको पाइएको भन्दै उनी विभागीय कारबाहीमा समेत परेका थिए।

घटना सार्वजनिक भएपछि बहुविवाह आरोपमा सुरक्षाकर्मीमाथि परेको यो पछिल्लो कारबाहीको रूपमा चर्चामा आएको छ।