वि.सं.२०८२ पुस २९ मंगलवार

मधेशमा घुमुवाको नेटवर्क : डीआईजी गोविन्द थपलियाकै मातहतबाट असुली

काठमाडौं । पूर्वआईजीपी चन्द्रकुवेर खापुङको नजिकका मानिने मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्को आलोचनामा परेका छन्। मधेशमा प्रहरी ‘पैसा कमाउनकै लागि आएको’ भन्ने कठोर टिप्पणी गरेपछि उनीमाथि उल्टै आफ्नै मातहतमार्फत असुली र तस्करीको लाइन चलाएको आरोप खुलेर सतहमा आएको छ।

मंगलबारको एक सार्वजनिक कार्यक्रममा डीआईजी थपलियाले मधेशमा कार्यरत प्रहरीमाथि पैसा उठाउने मोहका आरोप लगाएका थिए। तर, उनी स्वयं धनुषाका एसपी हुँदा सादा पोशाकका घुमुवा परिचालन गर्ने र विवादास्पद गतिविधिमा संलग्न रहेको प्रहरी भित्रैबाट उठेको प्रश्नले उनको चरित्र स्वतः शंकास्पद बन्दै गएको छ- ‘धनुषामा उनी आफैँ पैसा कमाउनै आएका त होइनन् ?’

यसबीच, पूर्वआईजीपी खापुङको सिफारिसमा काठमाडौंमा दरबन्दी भएपछि पनि मधेशमा स्थायी रूपमा काम गरिरहेका बरिष्ठ सई गोपाल थापा मगरलाई थपलियाले घुमुवाको रूपमा प्रयोग गर्दै आएको बताइन्छ। थापा डीआईजीको नाममा जिल्ला-जिल्लामा असुली र सेटिङ मिलाउने ‘केन्द्रिय संयोजक’को भूमिकामा देखिएका छन्।

थापाले सर्लाहीमा हवल्दार भागनारायण साह र जवान नुरु होडालाई घुमुवा बनाइ असुलीको काम चलाएको, नमिल्ने प्रहरीलाई गणमा तानेर थन्क्याउने गरेको पनि पाइएको छ।

यसकै उदाहरणको रूपमा सर्लाहीबाट तानेर गणमा थुनिएजस्तै हवल्दार बच्चा यादवको घटना बताइन्छ, जसलाई पछि दररेट बुझाएर बारा, पर्सा र रौतहटमा तस्करी नियन्त्रण होइन, उल्टै ‘घुमुवा परिचालन’को जिम्मा दिइएको थियो।

पर्सामा हवल्दार छोटेलाल यादव, धनुषामा सई जयलाल यादव र बारामा जवान पवन महतोलाई पनि सई थापाले असुलीको छुट्टाछुट्टै स्थानमा खटाएको आरोप छ। मधेशका आठै जिल्लामा घुमुवाको नेटवर्क सञ्चालन गरी डीआईजी थपलियाका नाममा पैसा उठाइने गरेको प्रहरीकै एक समूहको दाबी छ।

धनुषाका मदिरा व्यवसायी राजीव महासेठदेखि महोत्तरीका व्यापारी कालियासम्मबाट नजराना लिई ढल्केबर र भारतको पिपरीयामा तस्करीको बाटो खुलाइदिएको आरोपसमेत सई थापा र डीआईजी थपलियासँग जोडिएको छ।

मधेशमा ‘पैसा खाने’ आरोप प्रहरीमाथि होइन, बरु प्रहरीकै उच्च तहमा कसरी सक्रिय छ भन्नेप्रति औंला उठ्न थालेको छ। त्यसो त डीआईजी थपलिया आफैंमा कमजोर कार्यक्षमताका अधिकृत हुन्।