वि.सं.२०८३ भदौ २ मंगलवार

पोखरामा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ

कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा प्रतिबन्धित लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बगर, कास्कीबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानमा खानतलासी तथा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–९ नागढुंगा बस्ने २१ वर्षीय महिमद इसाक सरिफको कोठा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ७९० चक्की, ट्यापेन्टाडोल ३६६ चक्की, ५ किलोग्राम गाँजा तथा दुई थान मोबाइल सेट बरामद गरिएको छ।

त्यस्तै, पोखरा छिनेडाँडा बस्ने २७ वर्षीय आविष्कार सारु मगरको कोठाबाट ९ हजार चक्की ट्यापेन्टाडोल र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी पोखरा महानगरपालिका–३२, लेखनाथ बस्ने २१ वर्षीय सौरभ परियारलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित लागुऔषध फेनरागन २० एम्पुल, डाइजापाम २० एम्पुल र नुफिन २० एम्पुल गरी जम्मा ६० एम्पुल बरामद गरिएको छ।

उनको साथबाट नगद २१ हजार रुपैयाँ र एक थान मोबाइल फोन समेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

बरामद लागुऔषधको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्तिहरू तथा यसको वितरण सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

कास्की प्रहरीले पोखरा तथा आसपासका क्षेत्रमा लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ।