वि.सं.२०८३ भदौ २ मंगलवार

अपराध तथा सुरक्षा बिटको पत्रकारिता, कलमको मालिक

नेपाली पत्रकारिता केवल शब्दहरूको संयोजन होइन। यो समाजको ऐना हो, राज्यलाई प्रश्न गर्ने माध्यम हो, आवाजविहीनको आवाज हो र सत्यलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने जिम्मेवारी पनि हो। पत्रकारले क्यामेरा बोकेको हुन्छ, माइक्रोफोन बोकेको हुन्छ, नोटबुक बोकेको हुन्छ; तर यी सबैभन्दा ठूलो कुरा उसले विश्वास बोकेको हुन्छ। त्यही विश्वास पत्रकारिताको वास्तविक सम्पत्ति हो।

अपराध तथा सुरक्षा बिटमा काम गर्ने पत्रकारका लागि यो जिम्मेवारी अझ गम्भीर हुन्छ। किनकि यहाँ समाचार केवल एउटा घटना हुँदैन। एउटा पक्राउ, एउटा अनुसन्धान, एउटा प्रहरी कारबाही, एउटा उजुरी, एउटा आरोप, एउटा अदालतको आदेश वा एउटा सुरक्षा घटनाले व्यक्तिको जीवन, परिवार, प्रतिष्ठा, अनुसन्धानको प्रक्रिया र समाजको धारणा प्रत्यक्ष प्रभावित गर्न सक्छ।

त्यसैले अपराध बिटमा कलम चलाउनु भनेको घटनाको विवरण लेख्नु मात्र होइन। घटनाभित्र लुकेको तथ्य खोज्नु, तथ्य र आरोप छुट्याउनु, आधिकारिक भनाइ र वास्तविक अवस्थाबीचको दूरी पहिचान गर्नु तथा जनतालाई भ्रम होइन, विश्वसनीय सूचना दिनु हो।

यही कारणले अपराध पत्रकारिता सजिलो बिट होइन। यहाँ पत्रकारले एकातिर सुरक्षा निकायसँग सहकार्य गर्नुपर्छ भने अर्कोतिर त्यही सुरक्षा निकायका काममाथि प्रश्न उठाउनुपर्ने अवस्था पनि आउन सक्छ। एकातिर स्रोतसँग विश्वासको सम्बन्ध कायम गर्नुपर्छ भने अर्कोतिर स्रोतले दिएको प्रत्येक सूचनालाई सत्य मानेर प्रकाशित गर्न मिल्दैन।

एकातिर प्रहरीको अनुसन्धानलाई सम्मान गर्नुपर्छ भने अर्कोतिर अनुसन्धानका नाममा हुने सम्भावित कमजोरी, अधिकारको दुरुपयोग वा प्रक्रियागत प्रश्नलाई पनि बेवास्ता गर्न हुँदैन। यही सन्तुलन नै अपराध तथा सुरक्षा पत्रकारिताको वास्तविक परीक्षा हो।

सम्बन्ध हुन्छ, तर सम्बन्धभन्दा माथि पत्रकारिता हुन्छ

पत्रकारिता गर्ने क्रममा पत्रकारको धेरै व्यक्तिसँग सम्बन्ध बन्छ। प्रहरी अधिकारीसँग परिचय हुन्छ, अनुसन्धान अधिकृतसँग संवाद हुन्छ, प्रशासनिक अधिकारीसँग सम्पर्क हुन्छ, कानुन व्यवसायीसँग छलफल हुन्छ, पीडित परिवारसँग भेट हुन्छ, आरोपित पक्षसँग पनि कुराकानी हुन सक्छ। यी सबै पत्रकारका स्रोत र सम्पर्क हुन्।

तर स्रोत हुनु र सत्यको मालिक हुनु फरक कुरा हो। पत्रकारको कुनै प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध हुन सक्छ। कुनै सुरक्षा अधिकारीले सूचनाका लागि विश्वास गर्न सक्छ। कुनै अधिकृतले पत्रकारलाई समय दिन सक्छ। कुनै स्रोतले कठिन परिस्थितिमा महत्वपूर्ण सूचना उपलब्ध गराउन सक्छ। तर यसले पत्रकारलाई त्यो स्रोतको स्थायी प्रवक्ता बनाउँदैन।

त्यस्तै, सुरक्षा निकायसँगको राम्रो सम्बन्धलाई गलत अर्थमा बुझ्नु पनि उचित हुँदैन।

सुरक्षा निकायसँग सहकार्य हुनु पत्रकारको कमजोरी होइन। तर सहकार्यका नाममा सत्यसँग सम्झौता गर्नु पत्रकारको कमजोरी हो।

पत्रकारले सुरक्षा निकायलाई सम्मान गर्नुपर्छ। सुरक्षा निकायले पनि पत्रकारको प्रश्न गर्ने अधिकारलाई सम्मान गर्नुपर्छ।

दुवैको भूमिका फरक छ, तर उद्देश्य एउटै हुन सक्छ—सत्य तथ्यमा आधारित सुरक्षित र जिम्मेवार समाज निर्माण।

प्रहरीले अपराध अनुसन्धान गर्छ। पत्रकारले त्यसको सार्वजनिक महत्वका पक्षबारे प्रश्न गर्छ। प्रहरीले प्रमाण संकलन गर्छ। पत्रकारले नागरिकलाई घटनाको वास्तविकता बुझाउने काम गर्छ। प्रहरीले कानुन कार्यान्वयन गर्छ। पत्रकारले कानुन कार्यान्वयनको प्रक्रियामा सार्वजनिक चासोका प्रश्न उठाउन सक्छ।

त्यसैले पत्रकार र सुरक्षा निकायको सम्बन्ध न त शत्रुताको हुनुपर्छ, न अन्धो निकटताको। यो सम्बन्ध व्यावसायिक सम्मान र उत्तरदायित्वमा आधारित हुनुपर्छ।

सुरक्षा निकायप्रति सम्मान किन आवश्यक छ?

हामी समाजमा बसेर शान्ति, सुरक्षा र कानुनी शासनको कुरा गर्छौं। तर त्यसका लागि मैदानमा खटिने मानिसहरूको योगदान बिर्सन मिल्दैन।

प्रहरी तथा सुरक्षा निकायका कर्मचारीहरू रातको समयमा ड्युटीमा हुन्छन्। चाडपर्वमा परिवारबाट टाढा हुन्छन्। दुर्घटना, अपराध, प्राकृतिक विपत्ति, भीड व्यवस्थापन, उद्धार तथा अन्य जोखिमपूर्ण परिस्थितिमा उनीहरू अग्रपंक्तिमा उभिन्छन्।

कहिलेकाहीँ एउटा घटनाको समाचार लेख्दा हामीले त्यस घटनाको केही मिनेटको दृश्य मात्र देख्छौँ। तर त्यसको पछाडि सुरक्षा निकायका कर्मचारीले गरेको घण्टौँको काम, जोखिम र अनुसन्धानको मेहनत लुकेको हुन सक्छ। त्यसैले पत्रकारले सुरक्षा निकायका सकारात्मक कार्यलाई पनि स्थान दिनुपर्छ।

अपराध नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको छ भने त्यसको समाचार बन्नुपर्छ। फरार अभियुक्त पक्राउ परेको छ भने समाचार बन्नुपर्छ। लागुऔषध, मानव बेचबिखन, हिंसा, ठगी, साइबर अपराध वा संगठित अपराध नियन्त्रणमा महत्वपूर्ण अनुसन्धान भएको छ भने जनताले जानकारी पाउनुपर्छ। तर सम्मानको अर्थ आलोचना नगर्नु होइन। सच्चा सम्मान भनेको राम्रो कामको प्रशंसा गर्नु र कमजोरी देखिँदा सुधारका लागि प्रश्न गर्नु हो।

प्रश्न गर्नु भनेको विरोध गर्नु होइन

पत्रकारितामा एउटा भ्रम अझै छ—पत्रकारले प्रश्न गर्‍यो भने ऊ सुरक्षा निकायविरोधी भयो।

यो सोच सही होइन। प्रश्न लोकतन्त्रको आधार हो।

पत्रकारले “किन?”, “कसरी?”, “कसको आधारमा?”, “प्रमाण के हो?”, “सम्बन्धित पक्षको भनाइ के छ?” भनेर सोध्नु उसको धर्म हो।

यदि कुनै व्यक्तिलाई पक्राउ गरिएको छ भने पक्राउको आधार के हो? यदि कुनै आरोप सार्वजनिक गरिएको छ भने प्रमाणको अवस्था के छ? यदि कुनै बिषयमा अनुसन्धान भइरहेको छ भने त्यसको कानुनी प्रक्रिया के हो? यदि कुनै कारबाही भएको छ भने त्यसमा सम्बन्धित पक्षको भनाइ के छ? यी प्रश्नहरू सोध्नु कसैलाई कमजोर बनाउनु होइन। बरु यस्ता प्रश्नहरूले राज्य संयन्त्रलाई अझ जिम्मेवार बनाउँछन्।

पत्रकारले प्रश्न नगर्ने हो भने सार्वजनिक पदमा बसेकाहरूलाई जवाफदेही बनाउने काम कसले गर्ने?

त्यसैले पत्रकारको प्रश्नलाई शत्रुता होइन, लोकतान्त्रिक अभ्यासका रूपमा बुझ्नुपर्छ।

अपराध समाचारमा एउटा शब्दले पनि जीवन बदल्न सक्छ

अपराध पत्रकारिताको सबैभन्दा संवेदनशील पक्ष भाषा हो।

“आरोपित”, “अभियुक्त”, “दोषी” र “अदालतबाट दोषी ठहर भएको व्यक्ति” यी शब्दहरू समान होइनन्।

कसैलाई पक्राउ गरिएको छ भन्दैमा ऊ अदालतबाट दोषी प्रमाणित भइसकेको हुँदैन। कुनै व्यक्तिमाथि आरोप लागेको छ भन्दैमा आरोप सत्य प्रमाणित भएको हुँदैन।

यही कारणले अपराध पत्रकारितामा शब्द चयन अत्यन्त महत्वपूर्ण हुन्छ।

पत्रकारले लेखेको एउटा गलत शब्दले कुनै व्यक्तिको सामाजिक प्रतिष्ठामा असर पार्न सक्छ। परिवारमा तनाव ल्याउन सक्छ। व्यवसायमा असर पर्न सक्छ। सामाजिक बहिष्कारको अवस्था सिर्जना गर्न सक्छ।

त्यसैले अपराध पत्रकारिता सनसनीको खेल होइन। पत्रकारको कलमले कसैलाई अदालतभन्दा पहिले दोषी घोषणा गर्ने अधिकार राख्दैन।

पत्रकारको काम आरोपलाई तथ्यका रूपमा स्थापित गर्नु होइन। आरोप छ भने आरोपका रूपमा प्रस्तुत गर्नु हो। प्रमाण छ भने प्रमाणको अवस्थाबारे लेख्नु हो। सम्बन्धित पक्षको प्रतिक्रिया लिनु हो। अनुसन्धानको अवस्था बुझ्नु हो। कानुनी प्रक्रियालाई सम्मान गर्नु हो।

यही जिम्मेवारीपूर्ण अभ्यासले पत्रकारितालाई विश्वसनीय बनाउँछ।

स्रोतसँग नजिक, तर स्रोतको नियन्त्रणमा होइन

अपराध पत्रकारितामा स्रोत अत्यन्त महत्वपूर्ण हुन्छ। कहिलेकाहीँ एउटा सानो सूचना नै ठूलो अनुसन्धानको सुरुवात हुन सक्छ। एउटा फोन कल, एउटा कागजात, एउटा प्रत्यक्षदर्शी, एउटा आधिकारिक स्रोत वा घटनास्थलको जानकारीले पत्रकारलाई वास्तविकतासम्म पुर्‍याउन सक्छ। तर स्रोतले दिएको सूचना नै अन्तिम सत्य होइन।

स्रोत सूचना दिन्छ, पत्रकारले सत्यापन गर्छ। यो अन्तर बुझ्न नसक्दा पत्रकारिता र प्रचारबीचको दूरी समाप्त हुन्छ।

स्रोतले आफ्नो स्वार्थका लागि पनि सूचना दिन सक्छ। कसैलाई फसाउन, कसैलाई बचाउन, अनुसन्धानको दिशा प्रभावित गर्न वा सार्वजनिक धारणा बनाउन पनि सूचना चुहिन सक्छ। त्यसैले पत्रकारले प्रत्येक सूचनामाथि प्रश्न गर्नुपर्छ।

“यो सूचना कसले दियो?” भन्दा महत्वपूर्ण प्रश्न हो, “यो सूचना सही हो कि होइन?”

अपराध पत्रकारितामा कम्तीमा सम्भव भएसम्म दस्तावेज, प्रत्यक्ष प्रमाण, सम्बन्धित पक्षको प्रतिक्रिया र आधिकारिक स्रोतबाट पुष्टि गर्नुपर्ने हुन्छ।

यही अभ्यासले पत्रकारलाई स्रोतको मुखपत्र बन्नबाट बचाउँछ।

कलम न त बिक्रीका लागि हो, न डरका लागि

पत्रकारितामा दबाब आउँछ। कहिले राजनीतिक दबाब आउन सक्छ। कहिले आर्थिक प्रभाव पर्न सक्छ। कहिले विज्ञापनको कुरा उठ्न सक्छ। कहिले व्यक्तिगत सम्बन्धको प्रभाव पर्न सक्छ। कहिले धम्की आउन सक्छ। कहिले “यो समाचार नराखिदिनु” भन्ने अनुरोध हुन सक्छ। यस्ता परिस्थितिमा पत्रकारको वास्तविक परीक्षा हुन्छ।

समाचार सही छ भने त्यसलाई प्रमाणसहित प्रकाशित गर्ने साहस चाहिन्छ। समाचार गलत छ भने आफ्नो गल्ती स्वीकार गर्ने इमानदारी पनि चाहिन्छ।

पत्रकारिता भनेको हरेक कुरालाई आक्रामक भाषामा लेख्नु होइन। पत्रकारिता भनेको प्रमाणमा उभिएर सत्य बोल्नु हो।

कसैलाई गाली गरेर लेखिएको समाचार बलियो हुँदैन। प्रमाण र तथ्यले उभिएको समाचार बलियो हुन्छ।

पत्रकारको शक्ति उसको आवाजको ठूलोपनमा होइन, उसको सामग्रीको विश्वसनीयतामा हुन्छ।

पत्रकारको स्वाभिमान र सुरक्षा निकायको मर्यादा

पत्रकारले आफ्नो स्वाभिमान जोगाउनुपर्छ। सुरक्षा निकायले आफ्नो संस्थागत मर्यादा जोगाउनुपर्छ। दुवैले एकअर्काको सीमा बुझ्नुपर्छ।

पत्रकारले अनुसन्धानमा अनावश्यक हस्तक्षेप गर्नु हुँदैन। सुरक्षा निकायले पनि पत्रकारलाई सूचना नदिने, प्रश्न गर्न रोक्ने वा समाचारप्रति असहमति जनाउँदै दबाब सिर्जना गर्ने बाटो रोज्नु हुँदैन।

समाचारमा गल्ती भए कानुनी तथा व्यावसायिक प्रक्रियाबाट सच्याउन सकिन्छ। तर प्रश्न उठाउने पत्रकारितालाई नै शत्रु ठान्ने प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउँछ।

त्यस्तै, पत्रकारले पनि कुनै सुरक्षा अधिकारीसँग व्यक्तिगत असहमति भएकै कारण संस्थागत विषयलाई व्यक्तिगत प्रतिशोधको रूपमा प्रस्तुत गर्नु हुँदैन।

पत्रकारितामा व्यक्तिगत रिसको स्थान छैन।समाचारको आधार तथ्य हुनुपर्छ।

अपराधको अँध्यारोमा पत्रकारको भूमिका

अपराध समाजको एउटा जटिल यथार्थ हो।चोरी, ठगी, हिंसा, हत्या, लागुऔषध, मानव बेचबिखन, साइबर अपराध, आर्थिक अपराध, संगठित अपराधलगायतका विषय केवल प्रहरीको समस्या होइनन्। यी समाजका समस्या हुन्।

अपराधको समाचार लेख्दा पत्रकारले अपराधीको सनसनीपूर्ण चित्र मात्र प्रस्तुत गरेर पुग्दैन। अपराध किन भयो? पीडितको अवस्था के छ? राज्यका संयन्त्र कहाँ छन्? अनुसन्धानमा के भइरहेको छ? कानुनी प्रक्रिया के हो? समाजले यसबाट के सिक्न सक्छ? यी प्रश्नहरू पनि समाचारको हिस्सा बन्नुपर्छ।

अपराध पत्रकारिताले केवल “को पक्राउ पर्‍यो?” भन्ने प्रश्नमा सीमित हुनु हुँदैन।

“अपराध किन भयो र फेरि नहोस् भन्नका लागि समाजले के गर्नुपर्छ?” भन्ने प्रश्न पनि उठाउनुपर्छ। यहीँबाट पत्रकारिता समाचारभन्दा माथि उठेर सार्वजनिक हितको माध्यम बन्छ।

पीडितको आवाज पनि समाचार हो

अपराध समाचारमा प्रायः पक्राउ पर्ने व्यक्ति, प्रहरीको भनाइ र अनुसन्धानलाई प्राथमिकता दिइन्छ। तर अपराधको वास्तविक पीडा बोकेको व्यक्ति पीडित पनि हो।

पीडितको आवाजलाई सम्मानपूर्वक स्थान दिनुपर्छ। तर पीडितको संवेदनशीलता भजाएर सनसनी सिर्जना गर्नु हुँदैन।

विशेष गरी महिला, बालबालिका, यौन हिंसा, पारिवारिक हिंसा वा संवेदनशील अपराधका घटनामा पत्रकारले आफ्नो भाषामा थप जिम्मेवार हुनुपर्छ।

पीडितको पहिचान सार्वजनिक गर्दा उसलाई थप जोखिम हुन्छ कि हुँदैन? समाचारले उसको सामाजिक जीवनमा कस्तो असर पार्छ? उसको गोपनीयताको अधिकार के हुन्छ? यी प्रश्न पत्रकारले आफैंलाई सोध्नुपर्छ।

समाचारको अधिकारसँगै मानवीय मर्यादाको जिम्मेवारी पनि पत्रकारसँग हुन्छ।

पत्रकारितामा साहस चाहिन्छ, तर साहससँग विवेक पनि चाहिन्छ

पत्रकारिता साहसी पेसा हो। तर साहस भनेको जोखिमलाई नबुझी अगाडि बढ्नु होइन।

अपराध तथा सुरक्षा बिटमा काम गर्दा पत्रकारले आफ्नो सुरक्षा पनि ध्यानमा राख्नुपर्छ। घटनास्थलमा पुग्दा अवस्था बुझ्नुपर्छ। संवेदनशील अनुसन्धानमा अनावश्यक जोखिम लिनु हुँदैन। स्रोतको गोपनीयता जोगाउनुपर्छ।

कहिलेकाहीँ एउटा समाचारका कारण पत्रकारमाथि असन्तुष्टि उत्पन्न हुन सक्छ।त्यसैले पत्रकारलाई साहससँगै विवेक चाहिन्छ।

कलम बलियो हुनुपर्छ, तर तथ्यभन्दा बलियो हुनु हुँदैन। पत्रकारको आत्मविश्वास ठूलो हुनुपर्छ, तर अहंकार ठूलो हुनु हुँदैन।

सामाजिक सञ्जालको युगमा अपराध पत्रकारिता

आज समाचार पत्रिकाको पानामा मात्र सीमित छैन। एक मिनेटभित्र समाचार सामाजिक सञ्जालमा पुग्छ। एउटा भिडियो भाइरल हुन्छ। एउटा आरोप हजारौँ मानिससम्म पुग्छ। त्यसपछि सत्य र अफवाहबीचको सीमा मेटिन सक्छ। यस्तो अवस्थामा पत्रकारको जिम्मेवारी झन् बढेको छ।

सामाजिक सञ्जालमा देखिएको भिडियो सत्य हो कि होइन? भिडियो पुरानो हो कि नयाँ? घटना यही ठाउँको हो कि अन्यत्रको?
फोटो वास्तविक हो कि सम्पादित?
आरोप प्रमाणित भएको हो कि केवल दाबी?
यी प्रश्नको उत्तर खोजेर मात्र समाचार सार्वजनिक गर्नुपर्छ।

पहिलो हुने होडमा गलत हुने छुट पत्रकारलाई छैन। ब्रेकिङ न्यूजभन्दा महत्वपूर्ण विश्वसनीय न्यूज हो।

पत्रकारिता कसैलाई खुसी पार्ने व्यवसाय होइन

पत्रकारले सबैलाई खुसी पार्न खोज्यो भने उसले पत्रकारिता गर्न सक्दैन। कहिलेकाहीँ सत्य लेख्दा कसैलाई नराम्रो लाग्न सक्छ। कुनै संस्था असन्तुष्ट हुन सक्छ। कुनै अधिकारीले प्रश्न उठाउन सक्छ। कुनै व्यवसायीले विरोध गर्न सक्छ। कुनै राजनीतिक समूहले आलोचना गर्न सक्छ।

तर पत्रकारको मूल्याङ्कन सबैलाई खुसी पार्न सक्यो कि सकेन भन्ने आधारमा हुनु हुँदैन।

उसले सत्य, तथ्य र सार्वजनिक हितलाई कति प्राथमिकता दियो भन्ने आधारमा हुनुपर्छ।

यद्यपि कसैलाई असन्तुष्ट बनाउनु नै पत्रकारिताको उद्देश्य पनि होइन। समाचार र जिम्मेवारबीचको फरक यही हो।

खाेजि समाचार प्रमाणमा उभिन्छ।
जिम्मेवार समाचार सबै पक्षको कुरा सुन्छ।
विश्वसनीय समाचार अतिरञ्जनाबाट टाढा हुन्छ।

मेरो कलमको प्रतिबद्धता

अपराध तथा सुरक्षा बिटमा कलम चलाउँदै गर्दा मैले बुझेको एउटा कुरा हो। पत्रकारको सबैभन्दा ठूलो सम्बन्ध पाठकसँग हुन्छ।

पाठकले विश्वास गरेर समाचार पढ्छ। दर्शकले विश्वास गरेर समाचार हेर्छ। स्रोतले विश्वास गरेर सूचना दिन्छ। समाजले विश्वास गरेर पत्रकारको प्रश्न सुन्छ। यो विश्वास टुट्न दिनु हुँदैन। त्यसैले मेरो पत्रकारिताको बाटो स्पष्ट छ।

सम्बन्धमा सम्मान हुनेछ। स्रोतसँग विश्वास हुनेछ। सुरक्षा निकायसँग व्यावसायिक सहकार्य हुनेछ। पीडितप्रति संवेदनशीलता हुनेछ। आरोपितप्रति कानुनी मर्यादा हुनेछ।
तर समाचारमा तथ्यसँग कुनै सम्झौता हुनेछैन।

कसैलाई व्यक्तिगत रूपमा निशाना बनाउने उद्देश्य छैन। कसैलाई अनावश्यक रूपमा बचाउने उद्देश्य पनि छैन।

गलत देखिए प्रश्न गरिनेछ। सही देखिए सम्मान गरिनेछ। प्रमाण भेटिए प्रस्तुत गरिनेछ।
गल्ती भेटिए सच्याइनेछ। यही पत्रकारिताको बाटो हो।

कलमको शक्ति जिम्मेवारीमा हुन्छ

आज पत्रकारको हातमा मोबाइल छ। क्यामेरा छ। सामाजिक सञ्जाल छ। अनलाइन पोर्टल छ। सूचना प्राप्त गर्ने माध्यम धेरै छन्।

तर साधन बढ्दैमा पत्रकारिता बलियो हुँदैन।पत्रकारिता बलियो तब हुन्छ, जब पत्रकारको नियत सफा, तथ्यप्रतिको प्रतिबद्धता बलियो र सार्वजनिक हितप्रतिको जिम्मेवारी स्पष्ट हुन्छ।

अपराध बिटमा काम गर्ने पत्रकारले कसैलाई दोषी देखाएर लोकप्रिय बन्ने होइन, सत्य स्थापित गरेर विश्वसनीय बन्ने प्रयास गर्नुपर्छ।

समाचारले समाजमा डर फैलाउने होइन, सचेतना फैलाउनुपर्छ। अपराधको समाचारले अपराधीको प्रचार होइन, अपराध नियन्त्रणको बहस जन्माउनुपर्छ।

सुरक्षा निकायको समाचारले अन्धो प्रशंसा होइन, प्रभावकारी सुरक्षा व्यवस्थाबारे सार्वजनिक संवाद निर्माण गर्नुपर्छ। यही पत्रकारिताको अर्थ हो।

अन्त्यमा : सम्बन्धमा सम्मान, कलममा स्वाभिमान

पत्रकारिता मेरो लागि केवल पेशा होइन, जिम्मेवारी हो।

अपराध तथा सुरक्षा बिट मेरो कार्यक्षेत्र हो। यस क्षेत्रमा काम गर्दा अनेक व्यक्तिसँग सम्बन्ध बन्छन्। सुरक्षा निकायका अधिकारीसँग संवाद हुन्छ। स्रोतसँग विश्वासको सम्बन्ध हुन्छ। समाजका विभिन्न वर्गसँग सम्पर्क हुन्छ।

यी सबै सम्बन्धको आफ्नो महत्व छ।

तर एउटा सीमा स्पष्ट छ, व्यक्तिगत सम्बन्ध समाचारको सम्पादक बन्न सक्दैन।
दबाब पत्रकारिताको नीति बन्न सक्दैन।
लोभ कलमको दिशा बन्न सक्दैन।
धम्की सत्यको विकल्प बन्न सक्दैन।

प्रहरी तथा सुरक्षा निकाय जनताको सुरक्षा र कानुन कार्यान्वयनका लागि खटिने महत्वपूर्ण संस्थाहरू हुन्। उनीहरूको सकारात्मक कामप्रति सम्मान हुनु आवश्यक छ। त्यस्तै, उनीहरूको काममा सार्वजनिक चासोका प्रश्न उठाउनु पनि पत्रकारको अधिकार र जिम्मेवारी हो।

दुवै पक्षबीच स्वस्थ सम्बन्ध भयो भने लोकतन्त्र बलियो हुन्छ।

पत्रकारले सुरक्षा निकायलाई शत्रु ठान्नु हुँदैन। सुरक्षा निकायले पत्रकारलाई शत्रु ठान्नु हुँदैन।

प्रहरीले अपराधसँग लड्छ, पत्रकारले अज्ञानता र गलत सूचनासँग लड्न सक्छ।

एकले सडकमा सुरक्षा दिन्छ, अर्कोले समाजलाई सूचना दिन्छ।

दुवैको भूमिका फरक भए पनि जनताको हितमा योगदान गर्न सक्छ।

त्यसैले मेरो विश्वास स्पष्ट छ, सुरक्षा निकायप्रति सम्मान, स्रोतप्रति जिम्मेवारी,
पीडितप्रति संवेदना, समाजप्रति उत्तरदायित्व,
र पत्रकारिताप्रति अडिग प्रतिबद्धता।

म कसैसँग प्रतिस्पर्धा गर्न कलम चलाउँदिनँ।
कसैलाई खुसी पार्न पनि कलम चलाउँदिनँ।

म कलम चलाउँछु, सत्य खोज्न। तथ्य लेख्न।
प्रश्न गर्न। जनताको आवाज उठाउन।
र पत्रकारिताको विश्वसनीयता जोगाउन।

समय बदलिन्छ। पद बदलिन्छ। मानिस बदलिन्छन्। सम्बन्ध बदलिन्छन्।

तर एउटा पत्रकारका लागि सबैभन्दा ठूलो सम्पत्ति उसको विश्वसनीयता हो।

त्यसैले सम्बन्धहरू रहून्, सम्मानका साथ।
सहकार्य रहोस्—मर्यादाका साथ। प्रश्न उठून्, तथ्यका साथ।
समाचार लेखियोस्—सत्यका साथ।

र कलम?

कलम न झुकोस्।
कलम न बिकाओस्।
कलम नडराओस्।
कलमले केवल सत्यको बाटो समातोस्।

किनकि अन्ततः पत्रकारको पहिचान उसको परिचयपत्रले होइन, उसले सत्यका पक्षमा कति इमानदारीपूर्वक कलम चलायो भन्ने कुराले तय गर्छ।

सम्बन्धमा सम्मान, पत्रकारितामा मर्यादा,
समाचारमा तथ्य, र कलममा स्वाभिमान,
यही मेरो पत्रकारिताको बाटो हो।

आलोचना साप्ताहिकबाट साभार ।