कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयको ऐतिहासिक भौतिक संरचना यतिबेला नेतृत्वको लाचारीका कारण इतिहासकै कुरुप अवस्थामा पुगेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष यामबहादुर गुरुङ र प्रधानाध्यापक बुद्धि बहादुर नेपालीको कार्यकालमा विद्यालयको महत्वपूर्ण सम्पत्ति मानिने खेलमैदान ‘भैंसी बस्ने आहाल’मा परिणत भएपछि स्थानीय र अभिभावकहरू आक्रोशित बनेका छन् ।
नेतृत्वको असफलता: संरक्षण कि विनास?

विगतका कयौँ पुस्ताले पसिना बगाएर, टाढा-टाढाबाट दुबो बोकेर ल्याई सजाएको हरियाली मैदान यतिबेला ढुङ्गा र लेदो माटोले पुरिएको छ ।
घट्टेखोला-धम्पुस-खानीगाउँ सडक खण्ड निर्माण गरिरहेको मतिदान निर्माण सेवाले सम्झौताविपरीत मैदानको बीच भागमै गेग्रान थुपार्दा पनि अध्यक्ष गुरुङ र प्रअ नेपाली मौन बस्नुलाई स्थानीयले उनीहरूको ‘असफलता’ र ‘मिलेमतो’को रूपमा व्याख्या गरेका छन् ।
”विद्यालयको सम्पत्ति जोगाउने कसम खाएर नेतृत्वमा पुगेका व्यक्तिहरूले आफ्नै अगाडि मैदान क्षतविक्षत हुँदा आँखा चिम्लिनु रहस्यमय छ,” विद्यालयकै एक शिक्षकले गुनासो गरे ।

मिलेमतोको आशंका
निर्माण व्यवसायीले मैदानको स्वरूप नै बिगारिदिँदा समेत विद्यालय प्रशासनले कुनै कानुनी प्रक्रिया अगाडि नबढाउनु र निर्माण गर्न पहल नगर्नुले अध्यक्ष र प्रअको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । सम्झौता एकातिर हुने र काम अर्कोतिर भइरहँदा पनि नेतृत्व तहबाट “नो अब्जेक्सन” को भाव देखिनुमा कुनै अनुचित लेनदेन वा चलखेल भएको हुन सक्ने आशंका अभिभावकहरूले गरेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने मुख्य दायित्व बोकेका जिम्मेवार व्यक्तिहरूबाटै मौनता देखिनुले उनीहरू आफ्नो पदीय जिम्मेवारीबाट च्यूत भएको देखिन्छ ।

स्थानीय अभिभावक र सरोकारवालाहरूले यस प्रक्रियामा ठूलो स्वार्थको खेल भएको आशंका व्यक्त गरेका छन् । बाहिर विरोध भइरहँदा भित्रभित्रै व्यवसायीलाई उन्मुक्ति दिने दाउपेचले गर्दा विद्यालयको भौतिक भविष्य नै संकटमा परेको छ ।
“हाम्रा बालबालिकाको भविष्यसँग जोडिएको खेलमैदान ध्वस्त पार्दा पनि प्रशासन किन बोल्दैन?” भन्ने प्रश्न अहिले गाउँटोलमा व्याप्त छ ।

विद्यार्थीको भविष्यमाथि खेलबाड
नयाँ शैक्षिक सत्र सुरु भई विद्यालयमा चहलपहल बढ्दा करिब २०० विद्यार्थी भने खेल्ने ठाउँ नभएर चौरको हिलो हेर्दै बस्न बाध्य छन् । विद्यालयको शैक्षिक र भौतिक वातावरण सुधार गर्नुपर्नेमा उल्टै भइरहेको संरचनालाई ध्वस्त बनाउन छुट दिएर अध्यक्ष गुरुङ र प्रअ मिजारले विद्यार्थीको खेल अधिकारमाथि ‘डोजर’ चलाउन मद्दत पुर्याएको आरोप लागेको छ ।
नयाँ शैक्षिक सत्र सुरु भइसक्यो, तर विद्यार्थीलाई खेल्न पठाउने ठाउँ छैन । अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलकुद प्रतियोगिता र दैनिक अभ्यास गराउन अर्को विकल्प नै छैन,” एक शिक्षकले भने, “मैदानको यो अवस्थाले विद्यार्थीको मानसिक र शारीरिक विकासमा प्रत्यक्ष असर पुगेको छ, तर प्रशासन भने अझै मौन छ ।” विद्यालयको वार्षिक कार्ययोजनामा समेटिएका खेलकुद कार्यक्रमहरू मैदानकै अभावमा प्रभावित हुने देखिएपछि अभिभावकहरूले चिन्ताव्यक्त गरिरहेका छन् ।
मैदानको दुर्दशा देखेपछि विद्यालय प्रशासनले सक्रियता देखाउनुको सट्टा एक शिक्षकले व्यक्तिगत तवरमा दात्री निकाय एसियाली विकास बैंकमा उजुरी गर्नुपर्ने अवस्था आउनुले विद्यालयको आन्तरिक व्यवस्थापन कति फितलो छ भन्ने छर्लङ्ग पारेको छ । बैंकको अनुगमन टोली आएर फर्किसक्दा समेत मैदान सफा गर्ने र हरियाली पुनःस्थापना गर्ने विषयमा नेतृत्वले अझै कुनै तदारुकता देखाएको छैन ।
पुस्तौंको मेहेनतले बनेको खेलमैदान यमबहादुर र बुद्धिको कार्यकालको ‘कालो धब्बा’ बन्ने भन्दै स्थानीयले तत्काल मैदानलाई दुबो रोपेर पुरानै अवस्थामा फर्काउन माग गरेका छन् ।
यस बिषयमा खप्तडटिभीले यामबहादुर र बुद्धिसम्पर्क गर्दा सम्पर्कमा आएनन् ।






























