प्रिय छोरा निभान्स,
सर्वप्रथम, तिमी यो सुन्दर धर्तीमा हामी सबैका लागि अपार खुशी लिएर आएको आज ठीक एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गर्दैछौँ । तिम्रो जीवनको पहिलो जन्मोत्सवको पावन अवसरमा बाबा, मामु तथा हामी सबै परिवारको तर्फबाट तिमीलाई हृदयदेखि नै धेरै–धेरै शुभकामना । तिमी दीर्घायु, स्वस्थ, सफल र उमङ्गमय जीवनपथमा निरन्तर अघि बढिरहोस् भन्ने हाम्रो शुभेच्छा तथा शुभ आशीर्वाद सधैँ तिमीसँग रहिरहनेछ ।
छोरा, तिमी तिम्रो बाबा–मामु जन्मिएको, हुर्किएको र सिकेको परिवेशभन्दा बिल्कुलै फरक वातावरणमा हुर्किँदैछौ । तिम्रो हुर्काइ, सिकाइ, बुझाइ र परिवेश हामीले चाहे–नचाहे पनि बाबा–मामुको अपेक्षाभन्दा फरक हुन सक्छ । यो जीवनको स्वाभाविक यात्रा हो, र त्यसलाई हामी खुलेर स्वीकार गर्छौँ । तर पनि एक बाबाको तर्फबाट तिम्रो पहिलो जन्मदिनको अवसरमा तिमीप्रति मेरा केही अपेक्षाहरू व्यक्त गर्न चाहन्छु । जब तिमी हुर्किँदै, खेल्दै, हाँस्दै बुझ्ने उमेरमा पुग्नेछौ, यी अपेक्षाहरूलाई तिमीले दबाबको रूपमा होइन, सकारात्मक ऊर्जाको रूपमा ग्रहण गर्नेछौँ भन्ने मेरो पूर्ण विश्वास छ ।
बाबु निभान्स, हरेक वर्ष स्वाभाविक रूपमा आउने जन्मदिनलाई कसरी रमाइलो र सार्थक बनाउने भन्ने कुरा पूर्ण रूपमा तिमीभित्रै निहित हुन्छ ।
म चाहन्छु, तिमीले जन्मदिनलाई आधुनिक समाजको नक्कल अनुसार केवल २÷४ जना साथीभाइ र नजिकका मानिसहरू भेला भएर रंगी बिरंगी चुच्चे टोपी लगाएर केक काट्ने, भोज–भतेर, मदिरा सँगैको होहल्ला, रंगीन प्लास्टिकको झिलिमिली र सामाजिक सञ्जालमा देखिने क्षणिक चमकको उत्सव हो भनेर अवश्य बुझ्ने छैनौँ ।
छोरा, तिमी दिन प्रति दिन बाबा–मामुसँग हाँस्दै खेल्दै हुर्किँदैछौ । यस अर्थमा पनि तिमी भाग्यमानी छौँ कि तिम्रो आवश्यकता, दुःख–सुख र खुशीका हरेक क्षणमा बाबा–मामु तिमीसँग हुनुहुन्छ । तर केही जन्मोत्सवहरू पार गरेपछि तिमीले यो संसारमा तिमी जस्तै धेरै साना बाबु–नानीहरू पनि छन् भन्ने बुझ्नेछौ, जसले विभिन्न कारणले आफ्ना दुःख–सुख र हाँसो साट्न बाबा–आमाको साथ पाउन सकेका छैनन् भन्ने पनि बुझ्नेछौ र देख्नेछौँ । यदि तिमीले उनीहरूको जीवन र भविष्यमा तिम्रो जन्मोत्सवको अवसरमा नै भए पनि सानो उज्यालो ल्याउन सकेऊ भने, तिम्रो जन्मदिनको उत्सव तिमीलाई साँच्चै नै सार्थक लाग्नेछ भन्ने मेरो आशा छ ।
तिमी बिस्तारै ठूलो हुँदै जाँदा यो पनि बुझ्नेछौ कि संसारमा धेरै युवाहरू न्यूनतम आवश्यकताहरू जस्तै गाँस, बास, कपास, स्वास्थ्य र शिक्षाबाट समेत वञ्चित छन् ।
तिम्रो हरेक जन्मोत्सवमा तिमीले सानो भए पनि कुनै सार्थक कदम चाल्नेछौँ वा केही सकारात्मक प्रयास गर्नेछाँै र त्यसले तिमीलाई वास्तविक खुशी र उत्सवको अनुभूति दिनेछ भन्ने विश्वास लिएको छु ।
अझ अघि बढ्दै जाँदा, विभिन्न भूगोलका धेरै मानिसहरू सामान्य उपचार र आधारभूत आवश्यकताबाट टाढा रहनुपरेको अवस्था पनि तिमीले देख्नेछौ । त्यस्तो अवस्थामा तिमीले आफ्नो सानो हात अघि बढाउने प्रयास मात्र गर्न सकेऊ भने पनि, आधुनिक समाजको चमक र होहल्लाभन्दा धेरै ठूलो र वास्तविक खुशी तिमीले अनुभूति गर्न सक्षम हुनेछौ भन्ने तिमीप्रति आशा र भरोसा राखेको छु । यी सबै कुरा भन्दै गर्दा, तिमीलाई म यो पनि सम्झाउन चाहन्छु कि यी सबै कामहरू तिमीले आफ्ना उद्देश्य, भविष्य, इच्छा र आवश्यकतालाई पछाडि धकेलेर गर्नु पर्ने छैन । तिमी आफ्ना लक्ष्य र सफलतासँगै यी मानवीय मूल्यहरूलाई पनि सँगसँगै अघि बढाउन सक्छौँ भन्ने मेरो दृढ विश्वास छ ।
छोरा, म तिमीलाई पुनः स्मरण गराउन चाहन्छु, तिमी बाबा–मामुको भन्दा निकै फरक परिवेश र समाजमा हुर्किँदै र सिक्दैछौ । तिमी र तिम्रा साथीहरूको बुझाइ र चाहनामा म तिमीलाई कर गर्न त अवश्य सक्दिनँ होला, तर छोरा, तिमी यति बुझ्ने प्रयास गर कि हाम्रो मूल जरो सनातनी धर्म र संस्कृति हो । मन्दिर हाम्रो पवित्र स्थान हो, जहाँ गएर आत्मा शुद्ध र शान्त हुन्छ भन्ने हाम्रो विश्वास छ । हामी कुनै पनि उत्सवमा क्यान्डल वा बत्ती निभाएर रमाउँदैनौँ; हामी दीयो अथवा क्यान्डल बालेर उत्सवको सुरुवात गर्छौँ, ताकि दीयोको उज्यालो जस्तै आशा र करुणाको प्रकाश फैलिँदै अघि बढ्न सकियोस्, दीयोको उज्यालो जस्तै हाम्रो कर्म र सोचले पनि उज्यालो फैलियोस् ।
हामी जन्म दिने बाबा–आमालाई साथै असल शिक्षा र संस्कार दिने गुरुजनलाई उच्च आदर गर्छौँ ।
आफूभन्दा सानालाई माया र असल मार्गदर्शन दिने ठूलालाई सम्मान गर्छौँ । जति सानो भए पनि, आफ्नो सामथ्र्य अनुसार, आत्माबाट प्रेरित भएर दीन–दुःखी र असहायलाई दान र सहयोग गर्नु नै हाम्रो सनातनी मानवीय धर्म हो भन्ने तिमीले अवश्य नै बुझ्नेछौ । तिमी जहाँ, जति माथि र जति सम्पन्न भए पनि, तिमी आफ्नो धरातल र मूल जरो बिर्सिने छैनौ भन्ने कुरामा म पूर्ण विश्वास राख्न चाहन्छु । यही बाटोमा हिँड्दा तिमीले आधुनिक समाजको खोक्रो चमक र सामाजिक सञ्जालको देखावटी झिलिमिलीभन्दा धेरै गुणा ठूलो खुशी र आत्मिक सन्तुष्टिको ठूलो उत्सव आफूभित्र पाउनेछौ भन्ने मैले विश्वास लिएको छु ।
बाबु निभान्स,
यी सबै कुरा भन्दै गर्दा म तिमीलाई आधुनिक समाजको विरोधमा जानू भन्ने सन्देश पनि दिन चाहन्नँ। समाज, मानिस र बुझाइ सबैको समान हुँदैन भन्ने कुरा बुझ्न तिमीलाई पक्कै धेरै वर्ष लाग्ने छैन । तिमी आफ्ना इच्छाअनुसार असल बाटोमा अघि बढ्दा अरूको स्वतन्त्र रोजाइ र बुझाइको पनि उत्तिकै सम्मान गर्नेछौँ भन्ने मेरो दृढ विश्वास छ । जसरी तिमीले हाम्रो जीवनमा अपार खुशीयाली लिएर आएका छौँ, त्यसरी नै तिमी सधैँ सत्य, इमान, करुणा र परिश्रमको बाटोमा निरन्तर अघि बढ्नेछौ र आफ्नो पहिचान आफैँ बनाउनेछौ भन्ने पूर्ण विश्वास तिम्रो बाबालाई छ । छोरा, तिमी आफ्नो जीवनपथमा अघि बढ्दै जाँदा सुख–दुःख, उकालो–ओरालो, आरोह–अवरोह जस्ता जीवनका सबै अनुभवहरू अवश्य नै भोग्नेछौ । ती सबै अनुभवहरूलाई आत्मसात् गर्दै, सिक्दै र हाँस्दै तिमीले आफ्नो यात्रा सधैँ आफ्ना उद्देश्य र सफलताको दिशातर्फ निरन्तर अघि बढाइरहनेछौ भन्ने शुभकामना सहित तिमी पनि बाबाको आशा र अपेक्षालाई आत्मसात् गर्दै अघि बढ्नेछौ भन्ने विश्वासका साथ हार्दिक शुभकामना तथा आशीर्वाद।
बाबा र मम्मीको अपार माया, आशीर्वाद र साथ सधैं तिमीसँग रहनेछ।






























