वि.सं.२०८२ पुस २९ मंगलवार

२ महिनापछि प्रहरीको सफलता : १३ वर्षीया अंशुको हत्यामा संलग्न अभियुक्त पक्राउ

मोरङको लेटाङमा भएको १३ वर्षीया बालिका अंशु गौतमको बलात्कार तथा हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले २ महिनापछि पक्राउ गर्न सफल भएको छ।

पीडित परिवारलाई सताइरहेको घटनाको दोषी खुलेआम फरार भइरहेका बेला प्रहरीले सञ्चालन गरेको व्यापक खोज तथा अनुगमनले अन्ततः अभियुक्त पक्राउ परेपछि घटनामा महत्वपूर्ण प्रगति भएको हाे।

लेटाङमा बसोबास गर्ने अंशु गौतम असोज महिनाको दोस्रो सातादेखि बेपत्ता भएकी थिइन्। प्रारम्भिक खोजतलासका क्रममा स्थानीयहरूले जंगल क्षेत्रमा अंशुको शव भेटाएपछि घटना अत्यन्तै संवेदनशील र गम्भीर बनेको थियो।

फोरेंसिक परीक्षण तथा प्रारम्भिक अनुसन्धानमा अंशुमाथि बलात्कार गरी हत्या गरिएको पुष्टिका साथ प्रहरीले घटनालाई ‘गम्भीर अपराध’ को श्रेणीमा राखेर अनुसन्धान अघि बढाएको थियो।

ज्यान र जबरजस्ती करणी मुद्दामा संलग्न भएको आरोपमा ५९ वर्षीय पदमबहादुर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अधिकारी पीडितका छिमेकी तथा परिवारसँग परिचित व्यक्ति रहेका कारण पीडितले सहजै विश्वास गरेकी थिइन्।

प्रहरीका अनुसार अधिकारीले बालिकालाई विभिन्न बहानामा घरबाट झिकेर करिब चार किलोमिटर टाढाको जंगलमा लगेर बलात्कार गरेका थिए।

अपराध लुकाउन उनले बालिकाको हत्या गरी घटनास्थलबाट तत्कालै भारततर्फ फरार भएका थिए।

दुई महिनासम्म सीमा क्षेत्र, सम्भावित बसोबास स्थल तथा विभिन्न स्थानमा गोप्य निगरानी, सूचनादाता परिचालन र समन्वयका माध्यमबाट नेपाल प्रहरीले उनलाई अन्ततः पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेपछि आरोपीको प्रारम्भिक बयान लिइएको छ।

प्रहरीले घटनास्थलबाट संकलन गरिएको वस्त्र, भौतिक प्रमाण, डीएनए नमुना लगायतका सामग्री वैज्ञानिक परीक्षणका लागि प्रयोगशालामा पठाएको छ।