काठमाडौं । प्रहरी संगठनमा सामान्यतया ‘ड्युटी’ शब्द जिम्मेवारी, अनुशासन र दबाबको प्रतीक मानिन्छ।
तर यही दबाब घटाई तल्ला तहका प्रहरीलाई उत्साहित बनाउन ट्राफिक प्रहरी प्रभाग जनसेवाका प्रमुख प्रहरी निरीक्षक अनुप अधिकारीले फरक र सृजनात्मक पहल गरेका छन्।
बिहीबार उनले राजधानीको रन्जना हलमा एउटै उमेर समूहका २० जना प्रहरीलाई फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्।
प्रहरी निरीक्षक अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने।
यसअघि पनि उनले तनाव व्यवस्थापन तालिम, हाइकिङ, पिकनिक, मनोपरामर्श लगायतका कार्यक्रम सञ्चालन गरिसकेका छन्।
अधिकारी भन्छन्, “प्रहरीको मनोविज्ञान बुझेर सानो खालको हौसला अभिवृद्धि कार्यक्रमले ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ।”
उनका अनुसार, यस किसिमको रिफ्रेसमेन्ट कार्यक्रमले प्रहरीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र सकारात्मक सोचपैदा गर्छ।
सहभागी प्रहरीहरू पनि यसरी गरिएको कार्यक्रमप्रति निकै उत्साहित र आभारी देखिएका छन्।
यसरी बिहीबार साँझको ‘फिल्म डे’ केवल मनोरञ्जनको माध्यम नभई संगठनभित्रको आपसी सम्बन्ध बलियो बनाउने र मानवीय संवेदना उजागर गर्ने प्रहरी निरीक्षक अनुप अधिकारीको नवीन सोचको उत्कृष्ट उदाहरण बनेकोछ।