वि.सं.२०८० फागुन १० बिहीवार

राति-राति फेसबुकमार्फत छात्रालाई फोटो पठाउ भनेर निन्द्रा हराम गर्न खाेज्ने शिक्षक भण्डारी पक्राउ

विद्यार्थीमाथी दुर्व्यवहार

कक्षा १२ मा पढ्ने एक छात्रालाई फेसबुक मेसेन्जरबाट दिनरात दुःख दिने गोकर्णेश्वर नगरपालिका ६ स्थित चामुण्डा माध्यमिक विद्यालयका एक शिक्षक प्रहरीकाे फन्दामा परेका छन्।

सामुदायिक विद्यालय चामुण्डा मा.वि. का कक्षा ११-१२ का विद्यार्थीलाई कम्प्युटर बिषय पढाउने शिक्षक अभिषेश भण्डारीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

भण्डारीले सोही कलेजमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभन देखाउने र कम्प्युटर कक्षाको प्रयोगात्मक अंक पाउन आफुले भनेको कुरा मान्नुपर्ने दबाब दिएको पीडित वीच भएको फेसबुक कुराकानी खप्तडटिभीले फेला पारेकाे छ । पक्राउ परेका शिक्षक भण्डारीलाई खुशी पार्न राती च्याट गर्नुपर्ने मेसेन्जरबाट फोटो पठाउनु पर्ने र नमाने धम्की दिने आरोप लागेको छ ।

यस विषयमा चामुण्डा विद्यालयका निमित्त प्रधानाध्यापक गुणराम आचार्यसंग बुझ्दा घटना भएको जानकारी हुनेबित्तिकै आरोपित शिक्षक भण्डारीलाई प्रहरीलाई बुझाएको बताए ।

प्रधानाध्यापक आचार्यले विद्यालयमा थप अप्रिय घटना हुनबाट बचाउन गलत कार्यमा संलग्न शिक्षकलाई कारवाहीको लागि थप अनुसन्धानमा सहयोग गर्ने गरी एक विज्ञप्ति निकालिसकेको बताए ।

तर निष्काशनको लागि विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार बस्ने जानकारी दिएको छ ।

शनिवार र विदाको दिन भेट्ने प्रस्ताव राखेर हैरान बनाउने र बारम्बार तस्बीर पठाउन आग्रह गरी दु:ख दिएको पीडित छात्राले बताईन् । उनीहरुवीच भएको कुराकानी साथीभाईलाई सुनाए राम्रो नहुने धम्की समते दिएको उनले बताईन् ।

आफ्नो सन्तुष्टिका लागि छात्राहरुले आफुले भनेको कुरा मान्नुपर्ने र गलत दृष्टिकोणबाट विद्यार्थीमाथी दुर्व्यवहार गरेको भन्दै साथीमार्फत उक्त कुरा बाहिर आएपछि विद्यालय प्रशासनमा जानकारी गराएकाे र प्रशासनले मिलाउने प्रयास गरेपछि मिडियासामु आएको पीडितका अभिभावकले बताए ।

थप कारवाहीको मागसहित पीडित छात्रा र उनका साथीहरुले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएको छ ।

साथै आवश्यक कारवाहीको माग राखि गोकर्णेश्वर नगरपालिका शिक्षा शाखामा समेत जानकारी गराएको पीडितका आफन्तले बताए ।