वि.सं.२०८१ असोज २५ शुक्रवार

सन्दीप लामिछानेलाई इन्टरपोल मार्फत नेपाल झिकाइने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध परेको बालिका बलात्कारको जाहेरीमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मंगलबार साँझ सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी परेको हाे।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार लामिछानेमाथि परेको जाहेरीको विभिन्न कोणबाट अनुसन्धान सुरु भएको छ ।

प्रहरीले जाहेरीमा उल्लेखित स्थानहरूमा पुगेर अनुसन्धान गर्ने बताइएको छ । ‘अनुसन्धान गर्दै जाँदा लामिछाने दोषी भएको केही प्रमाणहरू फेला परेमा तुरुन्त सन्दीपलाई इन्टरपोलको सहयोगमार्फत नेपाल झिकाइने छ ।’ नेपाल प्रहरीका एक अधिकारीले भने ।

उनले थपे, “बलात्कार जस्तो विषयमा नेपाल प्रहरी संवेदनशील छ । हामी सत्यतथ्‍य छानविन गरेर अगाडि बढ्नेछौं । अहिले उनी आरोपित मात्र हुन् अनुसन्धानपछि सत्य तथ्य पत्ता लाग्ने नै छ । कानुन सबैलाई बराबर छ। गलत गर्नेले सजायँ पाउनुपर्छ ।”

सन्दीप यतिबेला पूर्वी अफ्रिकी देश केन्यामा छन्। क्यारेबियन प्रिमियर लिग खेल्नका लागि राष्ट्रिय टिमको कप्तानी गर्दै उनी भदौ ६ गते केन्या प्रस्थान गरेका थिए। जबर्जस्ती करणीको घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो।