वि.सं.२०८१ जेठ ६ आइतवार

अखिल (क्रान्तिकारी) मा फेरी विद्रोहको संकेत

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको विवाद मिलेको भनिए पनि फेरी विद्रोह हुने देखिएको छ। आज बिहान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान लगायतसँग क्रान्तिकारीका दुबै समूहसँग भएको छलफलमा २२ औं राष्ट्रिय सम्मेलनमा आयोजक कमिटीमा रहेका सबैलाई पदाधिकारी बनाउने र दुबै कमिटीमा रहेकालाई आयोजक कमिटी बनाउने सहमति भएपछि विवाद टुंगिएको भनिएको छ।

उनले आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने र विस्तार गर्दा २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रहेका र हाल केन्द्रीय समितिमा क्रियाशिल रहेका सिनियरहरुलाई स्वतः बढुवा गर्ने सहमति भएपछि जम्बो कमिटीको विरोध गर्दै संस्थापन पक्ष कै मानिने उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य नरेन्द्र बयाडीले विद्रोह हुने बताए। देशभरबाट आफुलाई उनले सकारात्मक प्रतिक्रिया आएको जनाएका छन् ।

यस्तै केन्द्रिय सदस्य उपेन्द्र जम्मकट्टेलले भने ‘बिधिको नाटक गर्दै अतिथि आसन ग्रहणको लागि भएनि जम्बो पदाधिकारी सहित केन्द्रिय सदस्य बनाउदै संगठनलाइ मजाकमा लानेहरु यो संगठनको अराजक तत्व हुन। विद्रोह गरि संगठन विधीमा बसालौ। कि २९९ कायम गरौ हैन भने २२ औँ राष्ट्रिय सम्मेलन अध्यक्ष बाहेक अरु खारेज गरौ।’

नरेन्द्र बयाडीलाई समर्थन गर्दै प्राविधिक जिल्ला उनीसंगै देखिएको छ । पुर्वान्चलका नेता सुमित थापकाजीले सिंगो पुर्वान्चल विद्रोह गर्न तयार रहेको बताए । बयाडी संगै सार्वजनिक भएको तस्बिरमा केन्द्रिय सचिवालय सदस्य रोशन थापामगर, भुषण गाहामगर लगायत देखिएका छन् । यो समूहले इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा भएको शुल्क वृद्धिलाई निस्तेज पारेको थियो ।

सहमति गर्दा पदाधिकारीहरुको संख्या नै दुई सयको हाराहारीमा पुग्ने देखिएको छ। विहानको बैठकले विधान सम्मेलन र राष्ट्रिय सम्मेलनको मिति तय गर्ने निर्णय पनि गरेको छ।