वि.सं.२०८१ जेठ ६ आइतवार

त्रिभुवन विमानस्थलको सिसिटिभी मलहोत्राको मुट्ठीमा..!

त्रिभुवन विमानस्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) मा आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ।

विमानस्थल बाहिर र भित्रका गतिविधि हेर्न जडान गरिएका सिसीटिभीको मुख्य नियन्त्रण कक्ष उक्त ग्रुपको नियन्त्रणमा रहेको पाइएको हो। सिसिटीभीमा कैद हुने गतिविधिमा सिधै सो कम्पनीका कर्मचारीको पहुँच छ।

पछिल्लोपटक विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि त्यहाँको सुरक्षा जाँच प्रणालीमा गम्भीर चासो उत्पन्न भएको छ।

उक्त सुन बरामद भएपछि त्यहाँको सबै वस्तुस्थितिबारे जानकारी लिन राजस्व अनुसन्धान विभागले सिसिटिभीका फुटेज संकलन गरेर अध्ययन गरिरहेको छ।

सिसिटिभीमा पहुँच राखेको आइएमएस ग्रुपका सञ्चालक दीपक मल्होत्राले तस्करीको उक्त सुनलाई प्रतिकिलो २ लाख रूपैयाँ कमिसन लिएर भारतीय सीमासम्म पुर्याउन सहयोग गरेको आशंका छ।

मल्होत्राको कम्पनी आइएमएस ग्रुपले विमानस्थलमा पार्किङ र आगमन कक्ष सञ्चालन गर्ने जिम्मा पाएको छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले मल्होत्राको उक्त कम्पनीलाई ३० वर्षका लागि बुट मोडलमा ठेक्का दिएको हो। यसैका आधारमा उसले सिसिटिभीमा पनि पहुँच बढाएको हो।

सरकारले २०६७ सालमा मल्होत्रा, विमल पोद्दार मोहन आचार्य साझेदार रहेको तत्कालीन रसुवा केडी जेभीसँग वार्ता गरी सम्झौताको आधार तयार गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको नागरिकमा टपेन्द्र कार्कीले लेखेका छन्। यो समूहले २०६९ सालमा विमानस्थलको बाह्य व्यवस्थापका लागि अनुमति पाएको हो।