वि.सं.२०८१ असोज २६ शनिवार

केसीएलको कालो कर्तुत, जताततै सरकारी जग्गा मिचेर करोडौँको हाउजिङ निर्माण

लुट तन्त्र

काठमाडौं । सामान्य वर्ग एवं जीवनमा केही गर्न खोज्नेहरुले काठमाडौं सपनाको शहर भन्छन् । उनीहरु कैँयन सपना बोकेर यो शहर पस्छन् । तर, तस्कर, फटाह, ठग, कालाबजारिया एवं माफियाहरुले काठमाडौंको चिरहरण गरेर राखेका छन् ।

बालुवाटार (ललिता निवास)को सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको काण्ड एक जना पूर्व सचिवले खोतले । त्रिताल(सारदा प्रसाद त्रिताल)आयोगले भुँइतहका लेखनदास, कर्मचारीदेखि देशको कार्यकारी प्रमुख एवं प्रधानमन्त्रीको कुर्सीमा बसेकाहरुसम्मलाई घिसारेकै हो, ललिता निवास जग्गा प्रकरणमा ।
र, पछिल्लो समय निर्दलीय एवं स्वतन्त्र उम्मेदवारी हालेर काठमाडौं महानगरको मेयर जितेका बालेन्द्र शाह (बालेन)ले महानगरभित्र रहेका सकारी अर्थात् पर्ति जग्गाको खोजी तीब्र बनाएका छन् । ठाउँ ठाउँमा उनले डोजरै चलाएका छन् ।

उनले सरकारी जग्गा व्यक्तिले उपभोग गर्न नपाउने र त्यो सार्वजनिक प्रयोजनबाहेक खाली हुनुपर्ने भनेर अभियान नै चलाए । त्यो अभियानले छेउछाउका स्थानीय सरकारलाई पनि व्यूँझाएको छ । र, पछिल्लो समय उनीहरुले पनि सरकारी जमिन खोज्न थालेका छन् ।

उपत्यकाको उत्तरपूर्वी भेगमा पर्ने बुढानीलकण्ठ नगरपालिकाले सरकारी जग्गा खोज्न सुरु गरेपनि पैसा र पावरका बलमा सरकारी जग्गा हडप्नेहरुविरुद्ध सफलता हासिल गर्न भने सकेको छैन । कतिपयले संरक्षणका नाउँमा सरकारी जग्गा हडपेको भेटिन्छ भने कतिले त हाकाहाकी कसले के गर्छ ? भनेर बलमिच्याईँ गरेको भेटिन्छ ।

त्यसमध्येको एउटा अटेरी इन्भेस्टर हो, केसीएल अर्थात् काठमाडौं क्यापिटल लिमिटेड । हात्तिसारमा कर्पोरेट कार्यालय रहेको केसीएलले बुढानीलकण्ठ नगरपालिका २ बदेलीमा १२ वटा घरसहितको हाउजिङ निर्माण गरेको छ । करोडौँ खर्चिएर बनाएको हाउजिङ अहिले विवादमा छ ।

जग्गा समेत आफ्नो पूर्ण स्वामित्वमा नल्याई निर्माण गरेको हाउजिङ प्रवेश गर्ने बाटो नै सरकारी जग्गामा पर्छ । केसीएलले प्रवेश गर्ने ठाउँ अर्थात् बाटो नै नभएको जग्गा पूरै ओगटेर संरचना निर्माण गरेको छ । हुँदा हुँदा हाउजिङको पूर्वपट्टी सरकारी एवं पर्ति जग्गा मिचेर पर्खाल निर्माण गरेको छ । केसीएलले हाउजिङभित्र पारेको जग्गा अहिले वडा कार्यालयले किल्ला छुट्याएर राखेको छ भने प्रवेशद्वारको जग्गाबारे विवाद छ ।

केसीएलले सरकारी जग्गामा बनाएको बाटो

यो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ । अख्तियारले धेरै पल्ट ताकेता गर्दा पनि केसीएलले सुनेको छैन । उल्टै यो वा त्यो एजेन्टहरुमार्फत मिलाउन खोजिरहेको छ । केसीएलले हाउजिङ निर्माणको जिम्मा दिएका सुवास पाण्डेसँग विवादबारे बुझ्न खोज्दा सुरुमा सम्पर्कमा आए । तर, पछि विभिन्न बहाना बनाउँदै पन्छिए । उनले यो मामला सल्टाउने नाउँमा पहिल्यै कसैलाई ठूलो रकम खर्चिसकेका छन् । जुन व्यक्तिले केसीएलले गरेको कर्तुतविरुद्ध अख्यिारमा उजुरी हाल्न लगायो उसैलाई उनले यो मामला सल्टाउन रकम दिएको खुलासा भएको छ ।

यो मामला गन्जागोल पार्ने व्यक्ति भने बडा खतरनाक । उद्दव खरेल बुढानीलकण्ठको मेयर हुँदा सरकारी जग्गाबाट करोडौँको बालुवा निकालेर रातारात बेच्ने तथा गुम्बाका नाउँमा पर्खाल निर्माण गर्दा मध्यवर्ती क्षेत्रमै डोजर लगाएर उधुम गर्ने व्यक्तिको नाम हो, मदन भण्डारी । 

भण्डारीले बालुवा झिकेर बेचेको सरकारी जग्गा, जहाँ अहिले टहरा बनाएर भाडामा दिइएको छ

हेर्दा पत्यार नलाग्ने, झ्वासझ्वास्ती दाह्री भएका । कड्के, दुब्ला, पातला । अवसर लुट्न र लेनदेनको मामिलामा माहिर । नाम सुन्दा जनताको बहुदलीय जनवादलाई नेपाली व्याख्या गर्ने जनताका सर्वप्रिय दिवंगत कम्युनिष्ट नेता मदन भण्डारी नै पो हुन् कि भन्ने लाग्ने । तर, कम्युनिष्ट पार्टीको नाम बेचेर आफ्नो धोती, टोपी नै पनि लिलाम गर्न पछि नपर्ने तिनै कड्के मदन भण्डारीको चङ्गुलमा परेपछि केसीएलका सञ्चालकहरु पनि अहिले साउनमा जताततै हरियो देख्ने आँखा फुटेको गोरु झैँ अलपत्र छन् ।

अरुको कुरै सुन्दैनन् । वरपरका छिमेकीलाई टेर्दैनन् । स्थानीय सरकार, अख्तियार तथा नियामक निकायहरु मेरै बाउका ससुराली हुन्, जस्तो गर्छन् उनीहरु । रबैया हेर्दा हिजोका भुरे टाकुरे राजा रजौटाहरु भन्दा कम छैन, उनीहरुको । सरकारी जग्गा पनि मेरै बाउको विर्ता हो, भन्ठान्छन् । यत्ति कुरा त चुड्कीका भरमा मिलाइहाल्छौँ भन्दै हिँडिरहेका छन्, पाण्डे जी ।

खप्तड टिभीले एक महिना लगाएर गरेको खोज तथा अध्ययनमा सरकारी जग्गा कब्जाका अनेकौँ श्रृंखला र राजनीतिक पहुँचको आडमा राज्य स्रोत एवं अख्तियारको व्यापक दुरुपयोग भएका घटनाहरु फेला परेका छन् । जसको फेहरिस्त सार्वजनिक गर्ने मिसन जारी छ ।

कुरो मिलिसक्यो ?
यो हाउजिङ विवादमा फसेदेखि सुवास पाण्डेले कम्ता दुःख पाएका छैनन्, बिचरा । घरि हाउजिङ, घरि अफिस, घरि कता गर्दैैको हैरानी छ, उनलाई । र, त्यही झोंकमा उनी यस्ता जाबा समस्याहरु त कति मिलाईयो भन्दै मुर्मुरिँदै हिँड्छन् । कसैले कुरो के भो ? भनेर सोधिहाले उनले सब मिलिसक्यो भन्ने जवाफ दिन्छन् । कुरो के का मिल्नु । जहाँको त्यहीँ छ । उसै परे बैनामात्रै तिरेर फस्ल्याङ फुस्लुङ पारी अर्काको जग्गामा निर्माण गरेको हाउजिङ नै चिप्लिन सक्छ ।

विवाद अख्तियारसम्म पुगेपछि त्यसरी मिल्ने मिलाउने भन्ने सम्भावना न्यून हुन्छ । बुढानीलकण्ठ २ नम्बर वडा कार्यालयले प्रतिवेदन दिन बाँकी नै छ । पान्डे भन्छन्, कुरा मिलिसक्यो । पहिलो त नापीको कामै सकिएको छैन । नापीले रिपोर्ट दिएपछि वडाले प्रतिवेदन बनाएर नगरपालिका पठाउनु पर्ने छ । प्रक्रिया लामो छ ।

अख्तियारले चाँसो लिइसकेको विषय सल्टिन त्यति सजिलो हुँदैन । तै पनि, विचौलियाहरुले हामी मिलाउँछौँ भनेर बार्गेनिङ गर्न छोडेका छैनन् । केसीएल तिनै विचौलियाको पछि कुदिरहेको छ । २ नम्बरका अध्यक्ष राजेन्द्र श्रेष्ठले हाउजिङ प्रवेशद्वारको जग्गा कुनै पनि हालतमा आफुहरुले नछोड्ने खप्तड टिभीलाई बताए । र, हाउजिङको पूर्वपट्टी केसीएलले लगाएको पर्खालभित्र वडाले किल्ला गाडिसकेको छ ।

केसीएलले हाउजिङ पूर्वपट्टी मिचेको जग्गा (पर्खालभन्दा बाँयाको)

वडाध्यक्ष श्रेष्ठले भने, “केसीएलले जबरजस्ती प्रयोग गरिरहेको मात्रै हो । हामीले कुनै अनुमति दिएका छैनौँ । र, सरकारी जग्गा त्यसरी दिनै मिल्दैन । हामी दिँदै दिँदैनौँ ।”

मनोमानी
३० नम्बर कित्ताको सरकारी जग्गालाई केसीएलले हाउजिङ छिर्ने मूख्य द्वार बनाएको छ । र, बाटो पनि त्यसैलाई बनाएको छ । केसीएलसँग जम्मा साढे ७ रोपनी जग्गा छ । त्यसले अपुग भएपछि संरचनाहरु सरकारी जग्गातिरै तन्काएको हो, केसीएलले ।

केसीएल आफैँले जग्गा किन्ने हैसियत पनि रहेनछ । अर्काको जग्गामा सामान्य सम्झौता गरेर बनाएको बुझिएको छ । केसीएलको बेवसाइट अपडेट भए नभएको उसैलाई थाहा होला । तर, अनलाइनमा उल्लेख विवरण अनुसार अधिकृत पुँजी जम्मा १ अर्ब छ ।

केसीएलको हाउजिङको घरमै सटाएर लगाइएको पर्खाल, सरकारी जग्गा भएकाले जो वडाले भत्काइदियो

हालको चुक्ता पुँजी १८ करोड ५६ लाख मात्रै देखाइएको छ । त्यो विवरण अद्यावधिक गरे नगरेकोमा केसीएल नै जिम्मेवार हुनेछ । कारण, कार्यालयमा पटक पटक सम्पर्क गर्दा कसैले प्रतिक्रिया दिएनन् । पाण्डे भेट्ने भन्दा भन्दै पन्छिए । र, केसीएलको पुँजीको अवस्था र हाउजिङ निर्माण तथा लगानीको पनि तालमेल मिलेको देखिँदैन ।