बुढानिलकण्ठ नगरपालिका–९, स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ६ जना सञ्चालक पक्राउ परेका छन् ।
८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो।
सहकारीका अध्यक्ष लगायत पदाधिकारी व्यवस्थापकले ठगेको भन्दै १७७ जनाले उजुरी दिएका थिए ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९, बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।
भानुकुमार शर्मा संस्थाका कार्यकारी अध्यक्ष हुन् । उक्त संस्थाका सदस्यहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैँया निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरेको आरोप लागेको छ ।
एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कानुनी प्रकिया अनुसार छानबिन समितिले २०७९ पुसको पहिलो हप्ताबाट छानबिनको काम सुरु गरि छानबिन सकाएर प्रतिवेदन पेश गरेको थियो।
छानविनको प्रतिवेदन अनुसार एकता बुद्ध वचत तथा ऋण सहकारीको त्रुटि रहेको जवाफ छ ।