वि.सं.२०८० फागुन १० बिहीवार

डुबानका कारण विद्युत् कार्यालयमा काम ठप्प

वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ ।

दसैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र परिसरमा पानी जमेका कारण अझै काम सुरु हुन नसकेर ठप्प रहेको हो ।

कार्यालय परिसरमा तीन÷चार फिटसम्म पानी जमेको छ ।

विद्युत् महसुल बुझाउन आज कार्यालय पुगेका सेवाग्राहीहरू कार्यालय बन्द देखेपछि महसुल नबुझाई फर्किरहेका देखिन्थे ।

डुबानमा परेको कार्यालयमा महसुल बुझाउन नपाई फर्किरहेका सेवाग्राही माया भट्टले पानी निकासका लागि उचित व्यवस्था गर्न नसकेर कार्यालयको काम ठप्प पार्नु लाचारीपन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणको कार्यालय डुबानमा परेको पाँच दिन हुँदासम्म पनि निकासका लागि पहल नहुनु धनगढी उपमहानगरपालिकाका प्रमुख र विद्युत् प्राधिकरणका प्रमुखको अक्षमता हो ।”

वर्षायाममा सो कार्यालयमा जम्ने पानी निकासका लागि गत वर्ष उपमहानगरपालिका कार्यालयको पहलमा विद्युत् कार्यालय नजिकको सडकमा ह्युमपाइप बिछ्याइएको थियो । तर ह्युमपाइपबाट जमेको पानी निकास हुन नसकेको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

दसैँ बिदामा घर जानुभएका वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डल अझै कार्यालयमा फर्किनु भएको छैन । केन्द्रका निमित्त प्रमुख रोशनकुमार ठाकुरले कार्यालयमा देखिएको डुबानको समस्याबारे जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र विद्युत् प्राधिकरणको अत्तरियास्थित प्रादेशिक कार्यालयमा जानकारी गराइएको बताए ।

“जमेको पानीको निकासको व्यवस्था सम्बन्धित निकायले गरिदिनुपर्ने हो”, उहाँले भन्नुभयो, “डुबानले कार्यालयका कार्यकक्षमा पानी जमेकाले महसुल बुझ्ने काम, नयाँ ग्राहकको काम, मिटर रिडिङलगायतको काम बन्द छ ।”

कार्यकक्षमा पानी जमेकाले बसेर काम गर्नसक्ने अवस्था नरहेको र जमेको पानीमै काम गर्दा विद्युत् प्रवाहको जोखिम देखिएकाले कार्यालयको कार्यकक्षमा विद्युत् प्रवाहसमेत बन्द गरिएको छ ।

सेवाग्राहीका घर, पसल, उद्योग, कलकारखानामा भने विद्युत् आपूर्ति नियमिति रहेको निमित्त प्रमुख ठाकुरले बताए ।

“डुबानका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आउँदा काम अझै सुरु हुन सकेको छैन”, अर्का एक कर्मचारीले भन्नुभयो, “जमेको पानीको निकासका लागि आजसम्म कसैबाट पहल भएको छैन ।”