वि.सं.२०८१ साउन १ मंगलवार

सुरुङमार्गबाट तेल लिंदै, सरकारी तेल झ्वाम पार्दै थानकोटका डीएसपी पाण्डे

धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माणको जिम्मा लिएको कम्पनीबाट लाभ लिएर अख्तियारको दुरुपयोग गरेको आरोपमा थानकोटका डीएसपी विवादमा तानिएका छन् ।

यसरी विवादमा तानिनेमा गृहमन्त्री बालकृष्ण खाँड रिझाएर आकर्षक मानिएको थानकोट चौकी पुगेका डिएसपी डिल्लीनारायण पाण्डे रहेका छन् । खाँडको शक्ति दुरुपयोग गर्दै थानकोट पुगेका पाण्डेको कामले स्वयम् गृहमन्त्रीको छविमा धक्का लागेको छ ।

पाण्डे कै एक जुनियर अधिकृतका अनुसार सुरुङमार्ग निर्माण सम्झौता भएको जापानी कम्पनी हाज्मा/आन्दो जेभीले थानकोट प्रहरीलाई एउटा गाडी उपलब्ध गराएको छ । उक्त कम्पनीले दैनिक खपत भएको पेट्रोल/डिजेल को खर्च पनि व्यहोर्दै आएको छ । तर पाण्डेले भने हाज्मा/आन्दो जेभीले उपलब्ध गराएका बाहेक अन्य गाडी प्रयोगमा रोक लगाएका छन् ।

थानकोट प्रहरीसँग थुनुवा बोक्ने गाडी, सिआरभीसहित नेपाल सरकारले उपलब्ध गराएका ४/५ वटा गाडी रहेका छन् । थुनुवा बोक्ने गाडी भने प्रयोग हुने गरेको छ ।

गाडी बाहेक प्रहरीसँग केहि थान बाईक पनि रहेका छन्। हाज्मा/आन्दोले उपलब्ध गराएको तेल नै पर्याप्त हुने हुँदा उनले नेपाल सरकारले दैनिक उपलब्ध गराउने सवारी इन्धन खर्च झ्वाम पार्ने गरेको ति अधिकृतको भनाई छ । उनले आफु मातहतका पोष्टहरुमा महिनावारी रकम नै माग्ने गरेका छन् ।

थानकोट क्षेत्रमा हुने जग्गा प्लटिङ्गमा त पाण्डेले रकम नानी तोकेर असुली गर्दै आएको जग्गा व्यवसायीहरुको गुनासो छ ।

पाण्डेले घुमुवा गाडी प्रयोगमा रोक लगाउंदा केहि समय पहिले फाईनान्समा चोरी हुँदा प्रहरी समय मै पुग्न सकेको थिएन ।

प्रहरीले समय मै रेस्पोन्स नगरेको फाईनान्सको गुनासो थियो । पाण्डे विरुद्धको गुनासो प्रहरी प्रधान कार्यालयको कानसम्म पुगिसकेको बताईन्छ ।