वि.सं.२०८१ असोज २६ शनिवार

नेपाल पत्रकार महासङ्घकाे सदस्यता शुद्धीकरणमा जालझेल भयाे : अध्यक्ष सुवेदी

सदस्यता शुद्धीकरणका क्रममा भएका त्रुटी सच्याउन समाजवादी प्रेस सङ्गठनको आग्रह

समाजवादी प्रेस सङ्गठनले सदस्यता शुद्धीकरणका क्रममा भएका त्रुटी सच्याउन नेपाल पत्रकार महासङ्घलाई आग्रह गरेको छ ।

महासङ्घको गत वैशाख २१-२२ गते काठमाडौंमा सम्पन्न २७औँ महाधिवेशनले निर्देश गरेबमोजिम जेठको २६ गते सम्पन्न हुनु पर्ने तीनै तहको निर्वाचनपूर्व प्रकाशित गरिनु पर्ने सूचीमा गम्भीर जालझेल गर्दै गैरपत्रकारलाई निर्णायक मतदाता बनाउने कार्यमा केही पदाधिकारी तल्लीन भएको पाइएको सङ्गठनको दाबी छ ।

यसअघि सदस्यता शुद्धीकरणका क्रममा भएका विभेदपूर्ण सिफारिसलाई सच्याउनका निम्ति महासङ्घले उजुरी छानबिन गर्ने ४ सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको थियो । सोही कार्यदलका सदस्यहरुको उपस्थितिमा जेठ ८ गते देशभरिको सदस्यता सूची तयार पारिएको थियो ।

उक्त सूचीमा छुटेका सदस्यका हकमा मुख्यमुख्य सङ्गठनबीच छलफल गरी सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने भनिएको थियो । ‘तर चार सदस्यीय कार्यदलले सदस्यता सूचीलाई अन्तिम रुप दिएपछिको नामावली निर्वाचन समितिलाई बुझाउनुको सट्टा रातारात कतिपय गैरपत्रकारका नाम सदस्यका रुपमा थप्ने, कतिपय नाम हटाउने जस्ता काम भएका छन्,’ संगठनका अध्यक्ष विशवमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विशेषतः प्रेस चौतारीले महासङ्घ नेतृत्वमा रहेका प्रेस सेन्टरसम्बद्ध पदाधिकारीमार्फत शुद्धीकरणबाट गुमेको आफ्नो सङ्ख्या पुर्ताल गर्ने नाममा त्यस्तो काम गरेको सङ्गठनको दाबी छ । ‘ती नाम थप्ने क्रममा हाम्रो सङ्गठनमा आबद्ध रही पत्रकारिता मात्रै गर्ने थुप्रै पत्रकारका नाम रातारात गायब पारिएको छ, हामी यस्तो अनैतिक तथा निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौँ, तसर्थ, यस्तो छलछामपूर्ण सदस्यता सूची स्वीकार गर्ने पक्षमा छैनौँ ।

महासङ्घलाई पत्रकार मात्रैको साझा संस्था बनाउनुपर्छ भन्ने मान्यतामा आफ्नो सङ्गठन अडिग रहेको उल्लेख गर्दै महासङ्घको नेतृत्वलाई सदस्यता सूचीमा भएको जालझेल तथा तिकडमबाजीलाई सच्याउनका निम्ति सङ्गठनले अनुरोध गरेको छ ।