वि.सं.२०८३ असार १८ बिहीवार

खप्तडटिभी समाचार प्रभाव : आईजीपीको नाम लिएर धाकधम्की दिने रिता पौडेल पक्राउ

आफूलाई नेपाल प्रहरीसँग निकट सम्बन्ध रहेको बताउँदै प्रहरी संगठनका उच्च अधिकारीहरूको नाम प्रयोग गरी प्रभाव जमाउने, सर्वसाधारणलाई धम्की दिने तथा आर्थिक लाभ उठाउने गतिविधिमा संलग्न रहेको आरोपमा रिता पौडेल पक्राउ परेकी छन्।

प्रहरी उच्च गोप्य स्रोतका अनुसार पौडेललाई आजै नियन्त्रणमा लिइएको हो।

आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा

स्रोतले दिएको जानकारीअनुसार उनीमाथि लामो समयदेखि प्रहरी संगठनभित्र पहुँच रहेको भन्दै विभिन्न व्यक्तिहरूसँग आर्थिक कारोबार गर्ने, सरुवा-बढुवा मिलाइदिने आश्वासन बाँड्ने तथा प्रशासनिक काम सहज गराइदिने नाममा रकम उठाउने गरेको आरोप लागेको छ।

आजै खप्तडटिभीले आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा” शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचार सार्वजनिक भएपछि विषय थप चर्चामा आएको थियो।

समाचार सार्वजनिक भएपछि केही मिडियामा आएको सामग्री हटाउन दबाब सिर्जना गर्ने प्रयाससमेत भएको थियो।

नेपाल प्रहरीका एसपी धर्म भण्डारीले केही सञ्चारमाध्यमलाई फोन गरी समाचार हटाउन दबाब दिएको थियोे।

यता, आफूमाथि प्रकाशित समाचारको विरोध गर्दै रिता पौडेल आजै प्रेस काउन्सिल नेपाल पुगेकी थिइन्।

काउन्सिलका एक कर्मचारीका अनुसार उनी “पुलिस केटाहरू सङ्गै लिएर हिडेको देख्याथे। काउन्सिलमा उजुरी दिन आउँदा । ” ती कर्मचारीले बताए।

स्रोतले दाबी गरेअनुसार पौडेलले आफू नेपाल प्रहरीका एक डीएसपीकी श्रीमती भएको परिचय दिँदै विभिन्न व्यक्ति तथा समूहमा प्रभाव जमाउने प्रयास गरेकी थिइन्।

साथै, प्रहरीभित्र सरुवा, बढुवा तथा अन्य प्रशासनिक काम मिलाइदिने नाममा रकम असुलेको आरोपसमेत उनीमाथि छ।

घटनाको संवेदनशीलता र प्रहरी संगठनको नाम दुरुपयोग भएको आशंकालाई मध्यनजर गर्दै सम्बन्धित निकायले निष्पक्ष र गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ।

यस घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउसँग सम्बन्धित थप विवरण भने आउन बाँकी रहेको छ।