सुरक्षा संयन्त्रमा लामो अनुभव सँगालेका बैतडीका राजेन्द्रसिंह भण्डारी अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा पुगेका छन्।
नेपाल प्रहरी सेवाबाट अवकाशपछि भण्डारीले मन्त्रीका रूपमा सरकारमा प्रवेश गर्दै श्रम तथा सामाजिक सुरक्षाको जिम्मेवारी सम्हालेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले बैतडीमा जन्मिएका भण्डारीलाई श्रममन्त्री नियुक्त गरेकी हुन्।
उनी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) हुन्। शुक्रबार आयोजित समारोहमा उनले मन्त्री पदको शपथ लिएका छन्। उनीसँगै चार जनाले एकैदिन मन्त्रीको शपथ ग्रहण गरेका थिए।
बैतडी जिल्ला संघीय सरकारदेखि विभिन्न नागरिक सरकारसम्म निरन्तर प्रतिनिधित्व गराउँदै आएको जिल्लाका रूपमा परिचित छ। बेला–बेला प्रधानमन्त्रीदेखि मन्त्रीसम्म पाउँदै आएको बैतडीले सुदूरपश्चिमको राजनीतिक प्रतिनिधित्वमा महत्वपूर्ण स्थान बनाउँदै आएको छ। भण्डारीको मन्त्री नियुक्तिले यस क्रमलाई थप निरन्तरता दिएको छ।
भण्डारी नेपाल प्रहरीभित्र अनुसन्धान क्षेत्रलाई विशिष्टीकृत बनाउने व्यक्तित्वका रूपमा चिनिन्छन्।
गम्भीर तथा संगठित अपराधको अनुसन्धानलाई सुदृढ बनाउन २०६७ सालमा स्थापना गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का संस्थापक प्रमुख उनी नै हुन्।
उनले २०६७ साउन १ गतेदेखि २०६८ भदौ ८ गतेसम्म सिआइबी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
त्यस अवधिमा फौजदारी अपराधदेखि वित्तीय अपराधसम्मका महत्वपूर्ण अनुसन्धानलाई अघि बढाउन भण्डारीको भूमिका प्रभावशाली मानिन्छ।
प्रहरी सेवाबाट अवकाशपछि सरकारको कार्यकारी भूमिकामा प्रवेश गरेका भण्डारीले अब श्रम बजार व्यवस्थापन, रोजगार प्रवर्द्धन र सामाजिक सुरक्षा प्रणाली सुदृढीकरणको चुनौती सम्हाल्नेछन्।






























