पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा निकुञ्जले दुई जना प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पुस ४ गते निकुञ्जको जंगलबाट मृत जरायो र हतियारसहित पक्राउ परेकाहरूसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।
४५ दिनको अनुसन्धानपछि सो प्रकरणमा निकुञ्जले प्रदेश सांसद प्रमोद जैसवाल र श्यामबहादुर खड्कासहित ४९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।
पर्सा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि मुद्दा दर्ता भएको उनले बताए। उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारका लागि मतियारको रूपमा काम गरेको ठहर गर्दै उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने उनले बताए।
सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ। उनलाई निकुञ्जले हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ।
पक्राउ परेका झापसदास थारु, नवराज बस्ने, शिल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई भने सो ऐनको दफा २६९३० बामोजिम सजाय हुने निर्णय भएको छ। प्रमोद पर्सा क्षेत्र नम्बर ३ को १ बाट स्वतन्त्रबाट मंसिर ४ मा प्रदेश सभा सदस्यमा र श्यामबहादुर काठमाडौँ क्षेत्र नम्बर ५ को २ बाट कांग्रेसबाट निर्वाचित भएका थिए।
पुस ४ गते मधेसका प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी–१ स्थित घरबाट बरामद मारिएको जरायो र हतियारसहित पाँच जना पक्राउ परेका थिए।
उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, सिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको थियो।



























