प्रहरीको जागिर नेपालमा आकर्षक नै मानिन्छ । तर, हरेक वर्ष सयौंको संख्यामा प्रहरीहरुले विभिन्न कारण देखाएर जागिर छोड्ने पनि गरेका छन् । गत एक वर्षमा करिब २४ सय प्रहरीले सेवाबाट राजिनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
जुनकुरा केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । तर, राजीनामा दिनुको पछाडिको कारण सम्मेलनमा खुलाइएन । यसरी आकर्षक जागिरको रुपमा लिएको प्रहरीमा किन राजीनामा दिनेको संख्या बढिरहेको छ त ? सर्वत्र चासोको विषय बनेको छ ।
अधिकांशले घरायसी कारण वा अन्य कारण देखाएर राजीनामा दिएपनि त्यसको पछाडि माथिल्लो दर्जाका हाकिमहरुको अत्याचार पहिलो कारण हो । हाकिमको तथानाम गाली, दबाब र अत्याचारको कारण तल्लो दर्जाका प्रहरीहरु राजीनामा दिन बाध्य भएका हुन् ।
जबकी तल्लो दर्जाका प्रहरी नै बढीजसो ‘फिल्ड’मा खटिन्छन् । प्रहरी संगठनमा उनीहरू (हवल्दार–जवान) लाई बढी हैरानी पनि छ । तर, त्यहि प्रहरीलाई हाकिमले अत्याचार गर्न थालेपछि त्यो संगठनमा किन बसिरहन्छ ?
यस्तैमा एक सहायक हवल्दारलाई नेपाल प्रहरीका एक सिनियर अधिकृतले कसरी दुःख दिइरहेका छन् ? ती घटनाबारे तपाईलाई थाहा नहुन सक्छ । जुनकुरा अब थाहा पाउनुहोस् ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाले स्कुपखबरमा आफूविरुद्ध समाचार आएपछि सूचना दिएको आरोप लगाउँदै ती हवल्दारलाई नजरबन्दमा राखेका छन् । जबकी ती हवल्दारले कुनै पनि पत्रकारलाई समाचारको लागि कुनै सूचना नै दिएका थिएनन् ।
३० असारमा स्कुपखबरमा ‘लागूऔषध नियन्त्रण ब्यूरो विवादमाः कारोबारी समात्दै छाड्दै, एसएसपी लिन सक्दैनन् अडान’ शीर्षकमा समाचार प्रकाशित भएपछि एसएसपी कोइरालाले ती हवल्दारलाई नजरबन्दमा राखेका हुन् । (यहाँ हवल्दारको नाम गोप्य राखिएको छ ।)
त्यतिमात्र होइन, एसएसपी कोइरालाले आफ्नो पदको दुरुपयोग गर्दै सहायक हवल्दारमाथि कारबाहीको डण्डा चलाउन खोजेका छन् । आफ्नो कर्तुत ढाकछोप गर्नको लागि ती हवल्दारको पछि एसएसपी कोइराला लागेका हुन् ।
समाचार आएको केहीदिनमै उजुरी छानबिन शाखाले सोधपुछको लागि भन्दै ती हवल्दारलाई बोलाएको थियो । तर, अहिलेसम्म एसएसपी कोइरालाको ठाडो आदेशमा उनलाई घर जान रोक लगाइएको छ ।
एउटा अपराधीलाई जस्तो व्यवहार गरेर कोइरालाले एसएसपी पदको दुरुपयोग गर्दा पनि प्रहरी नेतृत्व मौन छन् । जुनकुरा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई राम्रैसँग थाहा छ । सूचना दिएको आरोप लगाएर एसएसपी कोइरालाले पदको दुरुपयोग गर्दा आईजीपी थापा मौन बस्नुले शंका गर्ने ठाउँ उब्जिएको छ ।
समाचार आएपछि एसएसपी कोइरालाले आफ्नो कर्तुत ढाकछोप गर्नको लागि सहायक हवल्दारमाथि रिसिइबी साँधेको प्रष्ट छ । यदी उनले समाचारमा भनिए जस्तो नगरेको भए कानुनी बाटो अपनाएर समाचारप्रति खण्डन गर्न सक्थे । तर, त्यसो नगरेर उनले आफ्नो एसएसपीको फुलीको दुरुपयोग गरे ।
हाल ती हवल्दारलाई प्रहरी प्रधान कार्यालयभित्र रहेको १ नम्बर गणमा राखिएको छ । उनलाई बाहिर आउनसमेत दिइएको छैन् । यसरी तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल गिराउँदा आईजीपी थापा किन मौन बसिरहे ? प्रश्न उब्जिनु स्वभाविक हो ।
त्यतिमात्र नभएर ती हवल्दारलाई उजुरी छानबिन शाखाले बोलाएको दिन एसएसपी कोइराला आफैं पनि पुगेका थिए । जहाँ उनले ति सहायक हवल्दारमाथि जाइलागेर तथानाम गाली गरेको उजुरीमै कार्यरत एक प्रहरी बताउँछन् ।
ती प्रहरीकाअनुसार त्यो दिन एसएसपी कोइरालाले ‘हेर्दै जा अब के हुन्छ ? तँलाई कि कारबाही गरेरै छाड्छु होइन भने बाजुरा पठाउन सकिन’ भन्दै धम्क्याएका थिए । यसरी उजुरी छानबिन शाखालाई समेत प्रभावित पारेर कोइरालाले धम्की दिएका थिए ।
ब्यूरोमा सरुवा हुनुअघि कोइराला उजुरी छानबिन शाखाको प्रमुख थिए । सोहीकारण उजुरीका डिएसपी नारायण डाँगीलाई प्रभावमा पारेर हवल्दारमाथि कारबाहीको डण्डा चलाउन खोजेका हुन् । डिएसपी डाँगीले समेत कोइरालाको पक्ष लिएर हवल्दारलाई धम्क्याउने गरेको बताइन्छ ।
त्यतिमात्र नभएर एसएसपी कोइरालाले ती हवल्दारलाई घटुवा गर्नुपर्ने भन्दै प्रत्येक दिन आईजीपी निवास धाउने गरेको समेत पाइएको छ । ती हवल्दारलाई डिमोसन गरेर सडकमा ड्युटी हाल्न सकिन भन्दै कोइराला लागिपरेको स्रोत बताउँछ ।
यसरी आईजीपी थापा पनि तल्लो दर्जाका प्रहरीलाई बाइपास गरेर हाकिमलाई काखी च्याप्नाले संगठनप्रति वितृष्णा झनै बढेको पाइएको हो ।
यता परिवार उनलाई घर आउन नदिएपछि तनावमा छन् ।



























