वि.सं.२०८१ साउन १० बिहीवार

संशोधन नभए बजेट पास नगर्ने अडानमा एकीकृत समाजवादी, प्रचण्डलाई जानकारी गराउने

नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने निर्णय लिएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय लिएको हो ।

सत्ता गठबन्धनमा रहेको समाजवादी बजेटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मनोमानी गरेको भन्दै असन्तुष्ट छ । दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संशोधनबिना बजेट पास गर्न नदिने निर्णयबारे गठबन्धनमा छलफल पनि गर्ने निर्णय लिएको छ ।

बजेटबारे लिएको निर्णयबारेमा समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनकारी गराउने निर्णयसमेत गरेको छ ।

‘यथास्थितिमा बजेट पास हुँदैन’, समाजवादीका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले भने, ‘त्यसका लागि सरकारसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिने निर्णय भएको छ ।’ बजेट संशोधन गर्नै सकिन्न भन्नु गलत भएको उनले बताए । उपनेता पाण्डे भन्छन्, ‘१३८ जनाभन्दा धेरैले यो–यो सुधार गरेर भोट हाल्छौं भनिसकेपछि सरकार ढल्छ भन्ने भएन ।’