बैंक पनि साथी पनि’को ब्ल्याकमेल गरेर निक्षेपकर्ता तथा ऋणिहरुको हुर्मत लिइरहेको एनआईसी एसिया बैंकको अचाक्लीबारे धेरथोर सबैलाई थाहा नै छ । योजनावद्ध एवं नियोजित रुपमा सर्वश्व हरण गरेर जीउ ज्यानै लिने कुनै गिरोह भन्दा कम छैन, यो बैंक ।
निक्षेपकर्ताको रकम गोलमाल हुनु र ठूला, साना रकम गायब हुनु सामान्य नै भइसक्यो एनआईसी एसियाका लागि । कयौँ ऋणिहरु आत्महत्याको बाटोमा पुगेका छन् भने कयौँ मानसिक रोगी भएर बाँचिरहेका छन् ।यो बैंकसँग कारोबार गर्नेहरु हत्तु भएका छन् । महिना दिनको मात्रै व्याज वा किस्ता बुझाउन ढिला हुन गए धीतो राखिएको घर जग्गा वा सम्पत्ति घेर्न भोलिपल्टै गार्ड पठाउने एनआईसीले दुई महिनाको व्याज नतिर्दा त धीतो नै लिलाम गर्दिन्छ । र, गरेको घटनाहरु नै धेरै छ । त्यो जर्जरताको श्रृंखला केही दिनमै खप्तडटिभीमा आउँदैछ।
बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने नेपाल राष्ट्र बैंक भने एनआईसी एसियासामु भिजेको विरालो सरह छ । राष्ट्र बैंकको गुनासो सुन्ने निकायले एनआईसीबारे धेरे लामो कुरै गर्न चाहँदैन ।
पीडितहरुको गुनासो सुनेको नसुन्यै गर्छ । कतिपय अवस्थामा भारतीय दूतावासबाट समेत दबाब आउने भएपछि राष्ट्र बैंकका कुनै पदाधिकारी वा कर्मचारीले एनआईसीबारे सोधखोज गर्ने आँटै गर्दैनन् ।
यस्तो बेथितिको नमुना बैंकका प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ हुन्, रोशन कुमार न्यौपाने । आम नागरिकलाई सजिलै लुट्न सक्ने खुबी भएका उनको भित्रि छवि झन् अचम्मको रहेछ । केही दिन पहिले संविधान दिवसका अवसरमा राष्ट्रपतिले विभूषित गर्नेमा केही भ्रष्टाचार आरोपी पनि परेका थिए ।
न्यौपाने समेत एक वर्ष अघि त्यसरी नै विभूषित भएका थिए । र, केही समयअघि उनले पैसो तिरेर केही मिडियामार्फत ‘युवा सीईओ भएको बैंक पूरै युवामय’भनेर प्रचार गर्न लगाए । अब उनको कार्यकाल सकिन धेरै छैन । फेरि कार्यकाल थप्न उनले अनेक तिकडम गरिरहेका छन् ।
र, सरकारी जग्गा हडपेर जंगबहादुरले ब्रिटेनबाट कालिगढ झिकाएर बनाएका दबारजस्तो आलीशान महल बनाउने न्यौपाने रैबया मुलुक र आम नागरिकका लागि असाध्य घातक छ ।
एक जना बैंकको सीईओले इमानदार ढंगले कमाउने भनेको वर्षमा डेढदेखि २ करोड हुनसक्ला । त्यति कमाईले मुलुकमा कसैको नभएको घर बनाउन सक्ने हैसियत कसरी राख्छ ? त्यसमा पनि बुटिक शैलीमा निर्माण भएको मन्दिरसहित ।
पूर्वी मोहडा फर्काएर बनाएको न्यौपानेको दरबार हो, यो । नेपालमा बनेका राणाकालीन दरबारभन्दा कम कलात्मक छैन, यो । त्यसमा पनि नेपालमा यस्तो डिजाइनका घर कमै बनेका छन् । विदेशी फिल्म खिच्न बनाइएका सेट जस्तो छ, न्यौपाने दरबार ।
स्थानीय तहको पुनःसंरचना हुनुभन्दा पहिले अर्कै ढर्राले बनेको घर अहिले आएर कलात्मक एवं आलीशान बनाईको छ । घरको संरचना तयार भएर साजसज्जाको काम भइरहेको छ । घर मात्रै होइन मन्दिर पनि भव्य छ ।
तर, वास्तविकता भने अर्कै छ । उनले पूर्वी मोहडामासँगै जोडिएको पर्ति जग्गामा कम्पाउण्ड मात्रै हालेनन् । घरको आधा भाग नै पर्ति जग्गामा पर्छ । त्यसको कित्ता र क्षेत्रफलको प्रति खप्तडटिभीसँग सुरक्षित छ । त्यसरी पर्ति जग्गामा बनेका संरचना हटाउन भनेर बुढानीलकण्ठ नगरपालिका –२ ले समेत असोज २ गते ३५ दिने सार्जजनिक सूचना निकालेको छ । नगरपालिकाका अनुसार न्यौपानेको घरको केही भाग नै सरकारी जग्गामा पर्ने भएपछि यो सूचनाले उनलाई पनि संरचना हटाउन अवश्य कर लाग्छ ।
न्यौपानेको घरसम्मै सरकारी जग्गा परेपछि अब उनले घर जोगाउने जुक्ति लगाउन थालेका छन् । उनले घर जोगाएर त्यताको सट्टा भर्नामा अर्कोतिरको व्यक्तिगत जग्गा दिने कुरो गरेका छन् । उनले नापी, मातपोत र नगरपालिकामा त्यसै अनुसारको लविङ्अघि बढाएका छन् ।
उनले कतिसम्म बेइमान गरेका छन् भने मन्दिर छेवैबाट तल झर्ने बाटो नै बन्द गरेर मन्दिर तथा कम्पाउण्ड र बारी बनाएका छन् । स्थानीय तह आउन भन्दाअघि गाविस हुँदै उनले बनाएको घर संरचनालाई अहिले पैसा र पावरका बलमा आलीशान बंगलामा परिणत गरेका हुन्, उनले ।
न्यौपानेले बनाएको घर संरचना, त्यहाँ भइरहेको साजसज्जा र माहोल हेर्दा उनले सम्भ्रान्त मारवाडीहरु तथा भारतीय उच्च पाहुना रिझाउने जुक्ति लगाएको सोझै अड्कल गर्न सकिन्छ ।
नगरपालिकाले उनले कसरी घर नक्सा पास गरेका रहेछन् र नक्सामा कुन जग्गा कहाँ पर्छ भन्ने खोजी तीब्र पारेको छ ।
उसले प्राविधिक अन्वेषण गरेर प्रतिवेदन नै तयार पार्ने जनाएको छ ।
यसबारे एनआईसीका सीईओ न्यौपानेसँग बुझ्न खोज्दा उनको “फोन स्विच अफ” छ।
उनी नगरपालिकाका जनप्रतिनिधिलाई त फुट्या आँखाले पनि हेर्न आवश्यक ठान्दैनन् । सबै मेलोमेसो उनका कारिन्दाले नै मिलाईदिन्छन् । काठमाडौंमा अहिले उनको जस्तो ठाँट कसैको छैन ।
राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारी, न्यायालय र कानून व्यवसायीलाई सकेण्डभरमा किन्न सक्ने हैसियत राख्ने उनी कसैको धितो चुट्कीका भरमा लिलाम गर्न सक्छन् । यो उनको यो प्रबल खुबी हो । यसपाली उनलाई तक्मा दिन किन छुटाईयो होला ?