वि.सं.२०८१ असोज २६ शनिवार

चलचित्र ‘प्रकाश’लाई विभेद गरिएकाे भन्दै जुम्लावासी आन्दोलित, प्रशासनलाई बुझायाे ज्ञापनपत्र

जुम्लाको परिवेश, रहन सहन, भाषा, संस्कृतिमा आधारित भएकै कारण राजधानीका चलचित्र हलहरुले ‘प्रकाश’लाई शो विभाजनमा विभेद गरेको भन्दै जुम्लावासीहरु आन्दोलित भएका छन् ।

आफूहरुको यथार्थ प्रस्तुत गरेको चलचित्रलाई आम नेपालीमाझ पुग्नबाट रोक्ने गलत मनशायले ‘प्रकाश’माथि विभेद गरेको भन्दै उनीहरुले जिल्ला प्रशाशन कार्यलय जुम्लामार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड र चलचित्र संघको ध्यानाकर्षण गराएका  हुन्।

कर्णालीमाथिको विभेद अन्त्य गर, ‘प्रकाश’ प्रदर्शनका लागि प्रयाप्त शोहरु देऊ जस्ता नाराहरू लेखिएका प्लेकार्डसहित जिल्ला प्रशासन कार्यलयमा उपस्थित भएका जुम्लावासीहरुले सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।

उनीहरुले ‘प्रकाश’ माथिको विभेद नरोके थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

‘प्रकाश’ कर्णालीको कला र संस्कृतिको ऐना हाे । खस भाषा र जुम्लाको परिवेश भएकै कारण विभिन्न बहाना देखाएर चलचित्र प्रदर्शनका लागि प्रयाप्त समय नदिइनु जुम्लामाथि काठमाडौंले गरिरहेको विभेदको निरन्तरता भएको उनीहरुको भनाई छ । विगतमा निर्देशक दिनेश राउत र कलाकार प्रदिप खड्काको चलचित्रलाई मल्टिप्लेक्सहरुले प्रयाप्त शो दिने गरेको उल्लेख गर्दै कलाकार समेत रहेका स्थानीय धनराज सुनारले ‘प्रकाश’को रिभ्यु राम्रो हुँदा पनि शो कम दिनु भनेको जुम्लामाथि अन्याय भएको बताए ।

उनले ‘प्रकाश’ले जुम्लाकै सहन सहन देखाएको, कलाकारहरुले त्यहीको भाषा बोलेको, त्यहीको परिवेशमा छायाँकन भएको जस्ता कारणले विभिन्न बहाना देखाएर चलचित्रमाथि विभेद गरिएको गुनासो गरे ।

शनिबार साँझ राजधानीमा चलचित्र हेरेका जुम्ली दर्शकहरुले समेत चलचित्र आफूहरुको भोगाइको प्रतिविम्ब भएको प्रतिक्रिया दिएका छन् ।

महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ ।

मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । फिल्मको सम्पुर्ण छायांकन जुम्लामा गरिएको थियाे ।