वि.सं.२०८२ माघ २२ बुधवार

सिरहा -४ मा पाँच पूर्वमन्त्री सहित ३६ उम्मेदवार चुनावी मैदानमा , गाउँवासीको पानीको प्यास मेटाउने योजना के ?

  सिरहा।सिरहा निर्वाचन क्षेत्र नम्बर ४ यतिबेला चुनावी भिडन्तको केन्द्र बनेको छ । पाँच जना पूर्वमन्त्रीसहित ३६ जना उम्मेदवार मत माग्दै गाउँ–गाउँ डुलिरहेका छन् । तर, मतदाताको घर–आँगनमा चुनावी झण्डा फहरिए पनि धारामा पानी छैन । नेताका भाषण गुञ्जिरहेका छन्, तर सिरहावासीको प्यास अझै मेटिएको छैन ।
मिर्चैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउने पाँचै जना उम्मेदवार कुनै न कुनै बेला सत्ता र शक्तिको केन्द्रमा बसेका व्यक्ति हुन् । तीन पटक सांसद, दुई पटक मन्त्री भइसकेका राजकिशोर यादवदेखि दुई पटक सांसद तथा मन्त्री भइसकेका धर्मनाथ साहसम्म—सबैलाई राज्यसत्ताको स्वाद थाहा छ । तर, यही अनुभव बोकेका नेताहरूको कार्यकालमा सिरहा–४ का गाउँमा खानेपानी किन पुगेन ? यो प्रश्नको जवाफ कसैसँग छैन ।
सत्तामा हुँदा ठूला योजना, विकासका लामा भाषण र बजेटका आश्वासन बाँडेका नेताहरू आज फेरि उही मतदाताको ढोका ढकढक्याइरहेका छन् । तर, गाउँलेहरूका लागि अहिले भाषणभन्दा ठूलो विषय छ—पानी । ट्युबेल सुक्दै गएका छन्, खोल्सा–कुवा हराउँदै छन्, र महिलाहरू दिनहुँ गाग्री बोकेर टाढा–टाढा धाउन बाध्य छन् ।
स्थानीय सुरेन्द्रप्रसाद महतो भन्छन्, “चुनाव त धेरै आए । नेता पनि धेरै आए । तर, हाम्रो हालत उस्तै छ ।” उनको गुनासो केवल एक व्यक्तिको होइन, पूरै समाजको पीडा हो । किसान खेती गर्न नसक्ने अवस्थामा छन्, पशुपालन संकटमा छ, र घर–घरमा पानीकै कारण झगडा र तनाव बढ्दै गएको छ । स्थानीय महिला दुलारी दासको शब्द झन् कटु छ—“मलाई राजनीति बुझ्नुपरेको छैन । एउटा बोरिङ भए पुग्थ्यो ।” पाँच–पाँच जना पूर्वमन्त्री चुनाव लडेको क्षेत्रमा एउटा भरपर्दो बोरिङसमेत नहुनु राज्यको असफलता होइन  र?
जनप्रतिनिधिहरू समस्याबारे अनजान छैनन् । तर, जान्दाजान्दै पनि केही नगरेको आरोप स्थानीयले लगाएका छन् । बलबहादुर कार्की भन्छन्, “हामीले विकास गर्ने नेता नै पाएनौं ।” यो वाक्यले वर्षौंदेखि दोहोरिँदै आएको राजनीतिक धोखाधडीलाई नाङ्गो बनाउँछ ।
यसपटक पनि पुराना उम्मेदवार “अब गल्ती सच्याउँछौं” भन्दै आएका छन् । नयाँहरू “हामी फरक छौं” भन्छन् । तर, मतदाता अन्योलमा छन् । राजिन्द्र दासको प्रश्न तीखो छ—“पुरानाले गरेनन्, नयाँले गर्लान् भन्ने आधार के हो  ?”
सिरहा–४ मा चुनावी प्रतिस्पर्धा त चर्किएको छ । तर, प्रतिस्पर्धा जनताको समस्या समाधानमा होइन, नाराबाजी र दोषारोपणमा सीमित देखिन्छ । २१ फागुन नजिकिँदै गर्दा मतदाता पर्खिरहेका छन्—भाषण होइन, स्पष्ट योजना ।
किनभने यहाँ चुनावी दिनभन्दा पनि हरेक दिन पानीबिनाको संघर्ष लामो छ । पाँच पूर्वमन्त्रीसहित दर्जनौं उम्मेदवार भएको क्षेत्रमा यदि अझै पानीकै लागि जनता तड्पिनुपरेको छ भने, त्यो जनताको कमजोरी होइन—नेतृत्वको घोर असफलता हो ।