अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी हो ।
बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्व मुख्यसचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ ।
बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।
प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२५ गते।
——————————-
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल समेतले नेपाल टेलिकमको विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मिति 21st December 2011(२०६८।०९।०६ गते) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड र AsiaInfo Linkage Technologies (China) Inc.(ठेक्का नं. NDCL/30/066-67) बीच सम्झौता भई Convergent Real-Time Billing & Customer Support(CRTB&CS) विलिङ्ग प्रणालीको खरिद गर्नुको उद्देश्य नेपाल टेलिकमले प्रदान गरी रहेका GSM मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन/वायरलेस ब्रॉडब्यान्ड) आदि दुरसञ्चार सम्बन्धि सेवाहरुको बिलिङ विभिन्न प्लेटफर्मबाट विद्युतीय माध्यमवाट संचालन भई रहेको प्रणालीलाई एउटै प्लेटफर्ममा एकिकृत गर्ने, रियल-टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना र अपडेट गर्ने उद्देश्य रहेको, उक्त ठेक्का नं. NDCL/30/066-67 खरिद सम्बन्धी मूल सम्झौताको Clause No.1.8.5 बमोजिम warranty Completion certificate(WCC) जारी भए पश्चात Annual Maintenance Contract (AMC) सेवा ६ वर्ष सम्मलाई लिन सकिने र Annual Maintenance Contract(AMC) लिने दिने कार्य गर्दा ५% प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नु पर्ने स्पष्ट व्यवस्था गरेको, उल्लिखित संझौताका शर्तहरु पहिले देखिनै संझौताकारी पक्ष सँग भए गरेको जानी जानी प्रतिवादीहरुले बदनियत राखि उक्त वार्षिक ५% छुट सहितको AMC सेवाको प्रावधान प्रतिकूल हुने गरी आपूर्तिकर्ता AsiaInfo सँग अस्वाभाविक मूल्य कायम गरी गराई जम्मा USD 20,563,000.00 (अमेरिकी डलर दुई करोड पाँच लाख त्रिसठी हजार मात्र) रकममा AMC सेवा खरिद गर्ने गरी सम्झौता गरे गराएको, उक्त कार्य गर्दा गराउँदा नेपाल टेलिकम/सार्वजनिक संस्थालाई भएको हानी नोक्सानी सहितको विवरण निम्न तालिका नं.१ मा रहेको छ।































