वि.सं.२०८२ माघ २२ बुधवार

पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’ का  संरचना सुधार,३२ ठूला संरचनाहरुको पुनर्निर्माण तथा  सुदृढीकरण सम्पन्न

सप्तरी ।सरकारले नेपालमै निर्माण गरेको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’ का  संरचना सुधार गरिएको छ ।
शताब्दी पुरानो सो  नहरका ३२ वटा ठूला संरचनाहरुको पुनर्निर्माण तथा  सुदृढीकरण सम्पन्न भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा चन्द्र नहर सिँचाइ प्रणाली पुनर्स्थापना आयोजनाअन्तर्गत पुनर्निर्माण र सुदृढीकरण गरिएको हो ।
मुख्य जलस्रोत त्रियुगा नदी भएको चन्द्र नहर सिँचाइ प्रणालीले २८ किलोमिटर लामो मुख्य नहर, ११ वटा शाखा नहर र थप सहायक नहरबाट करिब १० हजार ५ सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराएको छ ।
तर, दीर्घकालीन प्रयोग र न्युनतम मर्मतसम्भारका कारण यस प्रणालीका धेरै संरचना जीर्ण बनेका थिए ।
हाल उक्त नहरबाट करिब १० हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध गराउँदै आएको छ, जसबाट सप्तरी जिल्लाका करिब ३५ हजार किसान घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
चन्द्र नहर सिँचाइ प्रणाली नेपालको इतिहासमा सरकारी स्तरमा निर्माण भएको पहिलो आधुनिक र सबैभन्दा पुरानो सिँचाइ प्रणाली हो।
तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९७९ मा सुरु गरेको यसको निर्माण विसं १९८४/८५ मा सम्पन्न भएको थियो । तत्कालीन शाही सेनाका कर्नेल डिल्लीजंग थापाले प्रमुख इन्जिनियरको रुपमा निर्माणको नेतृत्व गरेका थिए ।
सप्तरीमा आज आयोजित विशेष कार्यक्रममा जाइकाका तर्फबाट जीर्णोद्धार तथा सुधार गरिएको संरचना नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले ऐतिहासिक चन्द्र नहरको संरचनाको पुनर्निर्माण र सुदृढीकरणमा सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उनका अनुसार जाइकाको सहयोगमा पूर्वी तराई सिँचाइ प्रणाली पुनर्स्थापना आयोजनाअन्तर्गत चन्द्र नहरको पुनर्निर्माण र सुदृढीकरणको काम सम्पन्न भएको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, उपसचिव सुशीलचन्द्र आचार्य, जापानी राज  दूतावासका उपप्रमुख नियोग सिन्तो यासुहारु, जाइकाका नेपालका लागि देशीय निदेशक मात्सुकि मिजुकि,
जाइकाका देसीय  जल तथा ऊर्जा आयोगका सहसचिव टीकाराम बराल, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक बासु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।