वि.सं.२०८१ असोज २६ शनिवार

नेविसंघका कार्यकर्ताले त्रिविका महत्त्वपूर्ण कागजात लुटे

त्रिभुवन विश्वविद्यालयको महत्त्वपूर्ण कागजात र फाइल लुटपाट

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको महत्त्वपूर्ण कागजात र फाइल लुटपाट गरेका छन्।

त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय कार्यकारी परिषद्को बैठक बसिरहेको बेला १०–१५ जनाको समूहमा आएका नेविसंघका कार्यकर्ताले कागजात तथा फाइल लुटपाट गरेको जनाएको छ।

विज्ञप्तीमा त्रिविले भनेको छ, ‘नेपाल विद्यार्थी संघसँग आवद्ध विद्यार्थी हौं भन्दै १०–१५ जनाको समूह जबरजस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णय सहितको पुस्तिका एवं अन्य महत्वपूर्ण कागजपत्र र फाइलहरू खोस्ने, कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीलाई हातपात गर्न खोज्ने आदि जस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण कागजात लुटी लिने कार्य गरेकोप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

शुक्रबार जमलस्थित होटल एल्लो प्यागोडामा त्रिवि कार्यकारी परिषद्को बैठक बोलाइएको थियो। बैठक बस्ने क्रममा आएका नेविसंघका कार्यकर्ताले लुटपाट गरेको विश्वविद्यालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ, कीर्तिपुरका विद्यार्थीको केही समुहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारवाही गर्दा बारम्बार कार्यालयमा जवरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको अस्तित्वसँग सार्थक सम्बन्ध रहेको शिक्षा क्षेत्रको धरोहर बनेको मन्दिर त्रिभुवन विश्वविद्यालय जस्तो शिक्षण संस्थाका पदाधिकारी एवं कर्मचारी प्रति गरिएका यस्ता गतिविधिहरूलाई सभ्य समाजका कुनै पनि व्यक्तिले स्वभाविक मान्न सक्दैन । प्रत्येक नागरिक तथा राष्ट्रसेवक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने, पेशा वा रोजगार गर्न पाउने संविधान तथा कानूनले प्रत्याभूत गरेको संवैधानिक तथा कानूनी हकको विपरीत हुनेगरी कानून आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गरी जनताको करबाट उठेको रकमबाट खरिद गरिएका सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मूकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीहरू प्रति दुर्व्यवहार गर्ने कार्यले विश्वविद्यालयको नियमित कामहरू प्रभावित भएका छन् ।’

विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समुहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गर्नुको साथै त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन नेपाल सरकार गृह मन्त्रालय समक्ष विश्वविद्यालयले माग गरेको छ ।