वि.सं.२०८१ भदौ २८ शुक्रवार

जसपाका ४ मन्त्रीलाई तत्काल हटाउने

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका ४ जना मन्त्रीहरुलाई तत्काल हटाउने बताएका छन्।

मंसिर ४ को निर्वाचनका लागि प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेपछि जसपाबाट सरकारमा आएका ४ मन्त्री हटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको थियो।

मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा पनि जसपाका मन्त्रीहरु हटाउनेबारे कुरा भएको थियो।

जसपाले सत्ता गठबन्धन छाडेपछि अहिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले कांग्रेससँग तालमेल गरिसकेको छ।

मंगलबार बालुवाटार पुगेका एकजना मन्त्रीका अनुसार देउवाले जसपाबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई तत्काल हटाउने बताएका हुन्।

क्याबिनेटको अधिकार प्रधानमन्त्रीमा निहित भएकाले चार मन्त्री हटाउनका लागि मन्त्रिपरिषद् बैठक आवश्यक नपर्ने कुरा पनि मंगलबारको गठबन्धन बैठकमा भएको छ।

त्यही अनुसार देउवाले निर्णय गरेर जसपाका मन्त्रीहरुलाई बिदा गर्न लागेका हुन्।

जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव देउवा क्याबिनेटमा छन्।