नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको आगामी महानिरीक्षक (आईजीपी) बनाउने अभियानमा खुलेरै लागेका छन् ।
थापा र केसीबीच पारिवारिक सम्बन्ध रहेको बताइन्छ।
केसी नुवाकोटका हुन् भने थापाका ससुरा कांग्रेस नेता अर्जुन नरसिंह केसी पनि त्यही जिल्लाका प्रभावशाली व्यक्ति हुन् । यही नातालाई आधार मानेर थापाले मनोज केसीलाई आईजीपी बनाउने प्रयत्न थालेको पार्टीभित्र चर्चा छ ।
स्रोतका अनुसार महामन्त्री थापाले अमेरिकी दूतावासमार्फत समेत आईजीपी नियुक्तिमा दबाब सिर्जना गर्न खोजेका छन् । गगन अमेरिकासँग निकट मानिँदै आएका छन्, जसले यो प्रयासलाई थप राजनीतिक रंग दिएको छ ।
थापाको यो पहल केवल पारिवारिक कारण मात्र नभई पार्टीभित्र सशक्त नियन्त्रण स्थापित गर्ने दीर्घ योजनासँग पनि जोडिएको बताइन्छ । प्रहरी संगठनभित्र हक्की स्वभावका केसीलाई आईजीपी बनाएपछि पार्टीभित्रको शक्ति सन्तुलन आफ्नो पक्षमा मोड्ने उनको रणनीति रहेको बुझिन्छ ।
कांग्रेसका अर्का नेता बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा फसाउन पनि गगनले तत्कालीन अपराध अनुसन्धान प्रमुख मनोज केसीलाई प्रयोग गरेको दाबी केही निकट स्रोतहरूले गरेका छन् ।
यसबीच, जाँचबुझ आयोगका सदस्य पूर्वएआईजी विज्ञानराज शर्मा पनि मनोज केसीलाई आईजीपी बनाउन सक्रिय रहेको बताइन्छ ।
शर्मा विमानस्थल प्रहरी प्रमुख हुँदा सुन तस्करी प्रकरणमा विवादित बनेका थिए र हाल व्यापारी दीपक मल्होत्रासँग नजिक रहेको आरोप पनि छ ।
उनै मल्होत्राको कम्पनीमा शर्माले अहिले काम गरिरहेका छन् ।
त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि केसीलाई आईजीपी बनाउन लागिपरेका छन् । पूर्वएआईजी पुष्कर कार्की, श्याम ज्ञवाली र मिरा चौधरीमार्फत बालेन र मनोज केसीबीच भेट समेत भएको स्रोत बताउँछ ।
केही समय अघि केसीले दक्षिणकालीस्थित एक रेष्टुरेन्टमा बालेनसँग भेट गरेका थिए । ‘बालेनको रणनीति अरु केही नभएर केसी आईजीपी भएपछि पुराना दलका नेताहरुलाई विभिन्न कानूनी मुद्दामार्फत दबाबमा पार्ने हो,’ स्रोत भन्छ ।
केसी पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको टिममा समेत पर्दछन्, जसले वर्तमान शक्ति–सन्तुलनमा अर्को तहको समीकरण बनाएको देखिन्छ ।




























