जिल्ला सरकारी वकिललको कार्यालय, कैलालीका प्रमुख तथा न्यायाधिवक्ता र एक सरकारी वकिलमाथि बलात्कार पीडितलाई झन् पीडा दिएको आरोप लागेको छ। जिल्ला न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारी र कैलालीबाट सरुवा भएका तत्कालीन सरकारी वकिल हाल (काठमाडौं जिल्लाका सहायक न्यायाधिवक्ता) सुर परियारमाथि उक्त आरोप लागेको हो।
कैलाली घर भएकी करिब २९ वर्षीया बलात्कार पीडित महिला परिवर्तित नाम लक्ष्मीका अनुसार उनी बलात्कार मुद्दाको पीडित हुन्। वादी सरकारपक्ष भई २०७७ चैत १५ गते उनले जिल्ला अदालत कैलालीमा घोडाघोडी नगरपालिका १२ का २९ वर्षीय रमेश चौधरीविरुद्ध मुद्दा दर्ता गरेकी थिइन्।
बजारबाट आउने क्रममा जबरजस्ती मोटरसाइकलमा राखेर जंगलमा लगि बलात्कार गरेको भन्दै उनले अदालतसमक्ष जाहेरी दरखास्त दिएकी थिइन्।
तर, पीडित भनिएकी महिलाले अदालतमा बयान फेरेर ‘बलात्कार भएको होइन, रिसको झोकमा आरोप लाएकी हुँ’ भन्ने बकपत्र गरेपछि पीडक भनिएका युवक चौधरीले सफाइ पाएका थिए। तत्कालीन जिल्ला न्यायधीश (हाल सरुवा भएका) खेमराज भट्टले पीडक रमेश चौधरी उपरको अभियोग दाबी अपुग भएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १३१ बमोजिम सफाइ दिने फैसला गरेका थिए। उक्त मुद्दामा २०७८ असार ६ गते फैसला भएको थियो।
पीडित ‘होस्टाइल’, न्याय परिषदमा उजुरी
अहिले आएर पीडित महिलाले सरकारी पक्ष यानिकी (वादी पक्ष) सरकारी वकिलकै भूमिका गलत भएको दाबी गरेकी छन्। हालै दिनेशखबरको सम्पर्कमा आएकी ती महिलाले आफूलाई ज्यान मार्ने धम्की दिएर झुटो बयान दिन लगाएको र मुद्दा कमजोर बनाई पीडकलाई सफाइ दिइएको बताइन्।
उनले सरकारी वकिल कार्यालयका प्रमख राजेन्द्रसिंह भण्डारीले प्रतिवादी रमेश चौधरीसँग मिलेर आफ्नो इच्छाविपरीत डर, त्रास देखाएर झुटो बयान दिन लगाएको र प्रतिवादीलाई उन्मुक्ती दिन भूमिका खेलेको आरोप लगाइन्। आफू होस्टाइल भएको दाबी गर्ने उनले दवाबमा आएर अदालतमा बयान फेरेको जिकिर गरिन्।
यस्तै उनले आफूले न्याय परिषदमा पनि सरकारी वकिलद्वयविरुद्ध उजुरी दिएको बताइन्।
सरकारी वकिलले पीडितको तर्फबाट मुद्दा लडेको र पदको दुरुपयोग गरेर पीडितलाई झनझन् पीडित बनाइ अन्याय गरेको भन्दै कारबाहीका लागि न्याय परिषदमा महिलाले उजुरी दिएकी हुन्।
उनले दिएको उजुरी पत्रमा भनिएको छ, ‘धम्की दिएर सरकारी वकिल राजेन्द्रसिंह भण्डारीले चार लाख नगद देऊ, दिइनस् भने म सँग एक रात सुत्न आऊ भनि मलाई सरकारी वकिल कार्यालयकै कोठामा २ दिनसम्म बयान लिए।’ त्यसपछि आफूलाई झुटो बयान लेखाएर बकपत्र गर्न बाध्य पारेको महिलाले उजुरी पत्रमा उल्लेख गरेकी छन्। ती महिलाको फेरिएको बयानपछि पीडक भनिएका रमेश चौधरीले अदालतमा सफाइ पाएका थिए। तर, रमेशले सफाइ पाएपछि ती महिलाले उच्च अदालतमा पुनरावेदन गरेकी छन्। सो मुद्दा उच्च अदालतमा विचाराधीन रहेको छ।
यस्तो छ उजुरी पत्र
न्याय परिषद्का प्रवक्ता भन्छन्ः छानविन हुन्छ
यस विषयमा परेको उजुरी पुगेको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले पुष्टि गरे। उनले उजुरी आएको जनाउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढ्ने बताए। उनले भने, ‘उजुरी आएको छ। अब अहिले नै यसमा अरु केही भन्न सकिन्न। न्याय परिषदले जाँचबुझ तथा छानविन गर्ला। दोषी देखिए कारबाही हुन्छ।’
फसाउने खेल हो: भण्डारी
तर, जिल्ला सरकारी वकिललको कार्यालय, कैलालीका प्रमुख राजेन्द्रसिंह भण्डारीले भने आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन्। उनले आफूलाई षड्यन्त्र गरेर फसाउन खोजिएको दाबी गरे। उनले भने, ‘म सुदूरपश्चिमबाट न्यायाधीशका लागि सिफारिस भएको एक उम्मेदवार हो। डोटीमा कार्यरत एकजना उक्त न्यायाधीशको सूचीमा परेका छन्। यो मलाई न्यायाधीश बन्नबाट रोक्न सकिन्छ कि भनेर प्रतिस्पर्धीले गरेको षड्यन्त्र हो।’
उनले ती महिला अर्काको उक्साहटमा लागेर आफूविरुद्ध लागेको दाबी गरे। आफ्ना प्रतिस्पर्धीले ती महिलालाई प्रयोग गरको उनको भनाइ छ। तर, कसले प्रयोग गरिरहेको छ भन्ने कुरा उनले खोल्न चाहेनन्। ‘त्यो महिलाले आफैले स्वेच्छिक रुपमा अदालतमा बयान गरेकी हुन्’, भण्डारीले थपे, ‘प्रतिवादीले म बाट ८ लाख रकम लगेको थियो। तर, नदिएपछि मैले रिसको झोकमा आरोप लगाएकी हुँ भनेर बकपत्र गरिन्। त्यसपछि अदालतले सोहीअनुरुप फैसला गरेको हो।’
ती महिलाको उजुरी नै गलत भएको बताउँदै आफूले त्यो महिलासँग कुनै डिमाण्ड नगरेको उनको जिकिर छ। यस्तै ती महिलाले अदालतमा फेरिएको बयान बकपत्र गरेका बेला पनि आफू बिदामा बैतडी गएको भण्डारीको भनाई छ।