वि.सं.२०८१ असोज २५ शुक्रवार

पश्चिम रुकुममा शक्तिशाली भूकम्प, टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ । यस्तै गत सोमबार गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार टर्कीमा शुक्रबार बिहानसम्म १७ हजार ४ सयभन्दा बढी र सिरियामा ३ हजार ३ सय मानिसको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्प पीडितहरू हिउँको चिसो खप्दै खुला आकाशमुनि रात बिताउन बाध्य छन् । द्वन्द्वग्रस्त उत्तरी सिरियामा अन्तर्राष्ट्रिय समुदायले पठाएको राहत पनि प्रभावकारी रूपमा पुग्न सकेको छैन ।

अब दुबै देशमा भत्किएका संरचनाभित्र पुरिएका मानिसहरूको उद्धार हुन सक्ने सम्भावना न्यून भएको छ । योसँगै मृतकको संख्या अझै बढ्ने सक्ने बताइएको छ ।

टर्कीमा मात्रै ६ हजार ५ सय वटा भवनहरू भत्किएका छन् भने थुप्रैमा गम्भीर क्षति भएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७।८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७।७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ ।

विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो। यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७।६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो। त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए। आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए ।

अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो ।