नेपालगञ्ज उपमहानगरपालिका–१२, बाँकेस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसको प्रयोगशालाबाट जारी गरिएको रक्त समूहसम्बन्धी रिपोर्टले स्वास्थ्य सेवाको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
दैलेखको आठबीस नगरपालिका–६ की ३५ वर्षीया नन्दाकला थापाको रक्त समूह A+ रहेको अवस्थामा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसबाट B+ उल्लेख भएको रिपोर्ट खप्तडटिभीले फेला पारेकाे छ। एउटै व्यक्तिको रक्त समूहमा यसरी गम्भीर फरक देखिएपछि प्रयोगशालाको परीक्षण प्रणाली, नमुना पहिचान र रिपोर्ट जारी गर्ने प्रक्रियामाथि प्रश्न उठेको हो।
यो सामान्य कागजी त्रुटि मात्र हो कि प्रयोगशालाको परीक्षण प्रणालीमै गम्भीर कमजोरी छ? प्रश्न यति गम्भीर छ कि यसको जवाफ अब अस्पताल प्रशासनले मात्र होइन, सम्बन्धित नियमनकारी निकायले समेत दिनुपर्ने अवस्था आएको छ।
रगत समूहमा यति ठूलो गल्ती कसरी भयो?
रक्त समूह कुनै सामान्य विवरण होइन। बिरामीको उपचार तथा विशेषगरी रक्तसञ्चारका क्रममा यसको सही पहिचान अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले A+ व्यक्तिको परीक्षण गर्दा B+ रिपोर्ट आउनुमा यदि प्रयोगशालाको परीक्षण वा नमुना व्यवस्थापनको त्रुटि पुष्टि हुन्छ भने त्यसलाई सामान्य गल्ती भन्दै पन्छाउन मिल्दैन।
परिवारका अनुसार नन्दाकला थापाको रक्त समूह यसअघि A+ रहेको पुष्टि भइसकेको थियो। तर सञ्जीवनीबाट B+ उल्लेख भएको रिपोर्ट प्राप्त भएपछि उनीहरू झस्किएका छन्।
यस घटनाले प्रश्नहरू उठेका छन्, नमुना संकलनमै गल्ती भयो कि? बिरामीको नमुना अर्कै व्यक्तिको नमुनासँग साटियो कि? प्रयोगशाला परीक्षणमा त्रुटि भयो कि? रिपोर्ट तयार गर्दा गलत विवरण प्रविष्ट गरियो कि? वा गुणस्तर नियन्त्रण प्रणाली नै कमजोर छ? यी प्रश्नको स्पष्ट र प्रमाणसहितको जवाफ सार्वजनिक हुनैपर्छ।
गलत रक्त समूहको रिपोर्ट मजाक होइन
रक्त समूहसम्बन्धी गलत रिपोर्टले बिरामी र परिवारमा अनावश्यक त्रास सिर्जना गर्ने मात्र होइन, गलत सूचना उपचार प्रक्रियामा प्रयोग भएमा गम्भीर जोखिम निम्त्याउन सक्छ।
विशेषगरी रक्तसञ्चारको अवस्थामा रक्त समूहको सही पहिचान र आवश्यक क्रस–म्याच अनिवार्य हुन्छ। त्यसैले प्रयोगशालाबाट जारी हुने रिपोर्टमा हुने त्रुटिलाई सामान्य प्रशासनिक कमजोरीको रूपमा मात्रै हेर्न मिल्दैन।
एक अक्षर वा एउटा चिन्हको गल्तीले बिरामीको जीवन जोखिममा पर्न सक्छ भने त्यस्तो लापरबाहीलाई कसरी क्षम्य मान्ने?
सञ्जीवनीमाथि उठ्यो विश्वासको संकट
सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस पटक–पटक विवादमा तानिँदै आएको अवस्थामा अहिले फेरि प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठेको छ।
यदि A+ रक्त समूह भएका बिरामीलाई B+ रिपोर्ट दिइएको विषय परीक्षणबाट पुष्टि हुन्छ भने यो घटनालाई गम्भीरतापूर्वक लिएर प्रयोगशालाको सम्पूर्ण प्रणालीको छानबिन गर्नुपर्ने देखिन्छ।
नमुना संकलनदेखि रिपोर्ट हस्तान्तरणसम्मको प्रत्येक चरणको अनुसन्धान हुनुपर्छ।
त्यसमा संलग्न कर्मचारीको जिम्मेवारी, प्रयोगशालाको गुणस्तर नियन्त्रण, उपकरणको अवस्था, परीक्षण विधि, नमुना पहिचान प्रणाली र रिपोर्ट प्रमाणीकरणको प्रक्रियासमेत छानबिनको दायरामा आउनुपर्छ।
नियमनकारी निकाय कहाँ छन्?
घटनाबारे सम्बन्धित स्वास्थ्य तथा नियमनकारी निकायले तत्काल चासो देखाउनुपर्ने माग उठेको छ।
प्रयोगशालाको परीक्षण प्रक्रिया, नमुना व्यवस्थापन, रिपोर्ट प्रमाणीकरण, गुणस्तर नियन्त्रण र प्रयोगशाला सञ्चालनसम्बन्धी मापदण्डको पालना भए/नभएको विषयमा निष्पक्ष छानबिन आवश्यक छ। ‘प्राविधिक गल्ती’ भन्दै ढाकछोप गर्न पाइदैन, यसकाे जवाफ दिनैपर्छ । कानूनअनुसार कारबाही हुनुपर्छ। आवश्यक परे सेवा सञ्चालनसम्बन्धी अनुमति वा लाइसेन्ससमेत खारेजी गर्नुपर्ने माग उठिरेकाे छ ।
अब मौन बस्ने होइन, छानबिन गर्ने बेला हो
बिरामीको रगत समूहमा यति ठूलो फरक देखिएको घटनालाई सामान्य कमजोरी भन्दै उम्कने बाटो खोजियो भने यसले भविष्यमा अझ गम्भीर घटना निम्त्याउन सक्छ। आज A+ लाई B+ बनाइएको रिपोर्टको प्रश्न हो, भोलि यही लापरबाहीले कसैको ज्यान गयो भने जिम्मेवारी कसले लिन्छ?
त्यसैले अस्पताल प्रशासनले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ। सम्बन्धित निकायले घटनाको स्वतन्त्र छानबिन गर्नुपर्छ। प्रयोगशालाको गुणस्तर परीक्षण गर्नुपर्छ। गल्ती पुष्टि भए दोषीमाथि कानूनी कारबाही हुनुपर्छ।
स्वास्थ्य सेवामा ‘चलिहाल्छ’, ‘सानो गल्ती हो’ र ‘प्राविधिक त्रुटि भयो’ भन्ने मानसिकताले ठाउँ पाउनु हुँदैन। किनकि प्रयोगशालाको एउटा गलत रिपोर्ट कागजमा भएको एउटा गल्ती मात्र होइन। त्यसको पछाडि एउटा बिरामीको जीवन, परिवारको विश्वास र स्वास्थ्य प्रणालीको जिम्मेवारी जोडिएको हुन्छ।
बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले घटनालाई दबाउने वा सामान्य त्रुटिका रूपमा पन्छाउनेभन्दा तत्काल छानबिन, तथ्य सार्वजनिक र दोषी देखिए कारबाही गर्नुपर्ने माग बढेको छ।
खप्तडटिभीसँगको कुराकानीमा कुमार अधिकारीले रिपोर्टमा गल्ती भएको अस्पताल पक्षले गल्ती स्वीकार गरेको छ।
खप्तड टिभीसँगको कुराकानीमा अधिकारीले उक्त घटनालाई ‘टेक्निकल मिस्टेक’ भएको स्वीकार गर्नुभएको हाे।
दैलेखको आठबीस नगरपालिका–६ की ३५ वर्षीया नन्दाकला थापाको रक्त समूह A+ रहेको अवस्थामा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसको प्रयोगशालाबाट B+ उल्लेख भएको रिपोर्ट आएको परिवारको दाबी थियो। रिपोर्टमा देखिएको यो गम्भीर भिन्नताबारे प्रश्न उठेपछि खप्तडटिभीले अस्पताल पक्षसँग जवाफ मागेको थियो।
अस्पताल पक्षबाट ‘टेक्निकल मिस्टेक’ भएको स्वीकार गरिएसँगै अब गल्ती वास्तवमा कुन चरणमा भयो भन्ने प्रश्न थप गम्भीर बनेको छ।
टेक्निकल मिस्टेक मात्रै भन्दै उम्किन मिल्छ?
प्रयोगशालाबाट जारी हुने रक्त समूहको रिपोर्टमा A+ को स्थानमा B+ उल्लेख हुनु सामान्य प्राविधिक त्रुटि मात्र हो कि प्रयोगशालाको परीक्षण तथा रिपोर्टिङ प्रणालीमा रहेको कमजोरी हो भन्ने विषयमा थप स्पष्टता आवश्यक देखिएको छ।
अब छानबिन र जिम्मेवारीको प्रश्न
अस्पताल पक्षले ‘टेक्निकल मिस्टेक’ स्वीकार गरेपछि सम्बन्धित नियमनकारी निकायले समेत घटनाबारे आवश्यक छानबिन गर्नुपर्ने आवाज उठेको छ।
गल्ती स्वीकार गर्नु सकारात्मक पक्ष भए पनि गल्ती स्वीकार गरेर मात्र विषय समाप्त हुँदैन।
त्रुटिको मूल कारण पत्ता लगाउनु, जिम्मेवार पक्ष पहिचान गर्नु, प्रयोगशालाको गुणस्तर नियन्त्रण प्रणाली परीक्षण गर्नु र भविष्यमा यस्ता घटना नदोहोरिने व्यवस्था गर्नु आवश्यक हुन्छ।
परिवारले समेत घटनाबारे स्पष्ट जवाफ र आवश्यक कारबाहीको माग गरेका छन्।
खप्तडटिभीको प्रश्न
बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको रक्त समूह परीक्षणमा गल्ती भएको अस्पताल पक्षबाटै स्वीकार भइसकेपछि अब सम्बन्धित निकायको ध्यान यस घटनातर्फ जान आवश्यक देखिएको छ।
A+ लाई B+ बनाउने ‘टेक्निकल मिस्टेक’ आखिर कसरी भयो? कसको कमजोरीका कारण भयो त्यसको जिम्मेवारी कसले लिन्छ? र, भोलि अर्को बिरामीको रिपोर्टमा यस्तै गल्ती नहुने सुनिश्चितता कसरी गर्ने?
यी प्रश्नको जवाफ अब अस्पताल प्रशासन मात्र होइन, सम्बन्धित नियमनकारी निकायले समेत दिनुपर्ने देखिन्छ।
साथै,
नेपालगञ्जमा रहेको स्याङ्जाका मेडिकल व्यवसायी खुमा अर्यालको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध २०८२ साउनमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको थियाे । उक्त जाहेरी मा मेडिकल कलेजको दर्ता प्रक्रिया नै वैधानिक नरहेको दाबी गरिएको थियाे । कानूनी प्रक्रिया पूरा नगरी मेडिकल कलेज सञ्चालन गरेर ठगी गरेका दाबी गर्दै उजुरी परेको प्रहरीले बताएको छ ।
खप्तडटिभीले यस घटनासम्बन्धी थप तथ्य, अस्पतालको आधिकारिक धारणा तथा सम्बन्धित निकायको प्रतिक्रिया निरन्तर सार्वजनिक गर्दै जानेछ।































