वि.सं.२०८३ साउन १४ बिहीवार

कञ्चनपुरको बागफाटा गाउँमा सावनको डोला उद्घाटन

कञ्चनपुरको बागफाटा गाउँमा राना थारु समुदायको मौलिक सांस्कृतिक परम्परा ‘सावनको डोला’ (पिङ) को विधिवत् उद्घाटन भएको छ।

एक विशेष कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि भिमदत्त नगरपालिका १९ का वडा अध्यक्ष जग्गुराम चौधरी लगायत स्थानीय जनप्रतिनिधि, बडघर, समाजसेवी, अगुवा तथा गाउँवासीको उपस्थितिमा डोलाको उद्घाटन गरेको हो।

उद्घाटन कार्यक्रममा वक्ताहरूले सावनको डोला राना थारु समुदायको पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा प्रयास आवश्यक रहेको बताए।

राना थारु समुदायमा प्रत्येक वर्ष साउन महिनामा महिलाहरूले डोलामा झुल्दै परम्परागत गीत गाउने, आपसी सद्भाव र भाइचारालाई बलियो बनाउने चलन रहिआएको छ।

तीज पर्वसम्म सञ्चालन हुने यस परम्पराले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रममा स्थानीय महिलाहरूले सांस्कृतिक गीत प्रस्तुत गर्दै डोलामा झुलेर उत्सवको रौनक थपेका थिए।

सहभागीहरूले यस्ता मौलिक संस्कृतिको संरक्षण गर्न स्थानीय तह र समुदायले निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

सावनको डोला उद्घाटनसँगै बागफाटा गाउँमा तीज पर्वको सांस्कृतिक माहोल सुरु भएको स्थानीयवासीले बताएका छन्।

राना थारु समुदायमा यो पर्वलाई आपसी एकता, सांस्कृतिक संरक्षण र परम्परागत मूल्य–मान्यताको प्रतीकका रूपमा मनाइँदै आएको छ।