वि.सं.२०८३ असार १८ बिहीवार

आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा

प्रहरीको नाम बेचेर ठगी गरेको आरोप, रिता पौडेलविरुद्ध कारबाहीको माग

आफूलाई नेपाल प्रहरीसँग निकट सम्बन्ध रहेको, प्रहरीका उच्च अधिकारीको नाम प्रयोग गर्दै प्रभाव जमाउने तथा सर्वसाधारणलाई धम्की दिई आर्थिक लाभ लिन खोजेको एक महिलामाथि आरोप लागेकाे छ ।

स्रोतका अनुसार, रिता पौडेल नाम गरेकी महिलाले आफू नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निकट व्यक्ति भएको भन्दै विभिन्न प्रहरी कार्यालयमा अनधिकृत पहुँच बनाउन खोजेको आरोप लागेको हाे।

रिता पौडेलमाथि प्रहरी कर्मचारीको सरुवा, बढुवा तथा विभिन्न प्रशासनिक काम मिलाइदिने आश्वासन दिँदै रकम असुलेको आरोपसमेत लागेको स्रोतको दाबी छ।

स्रोतका अनुसार, उनले आफू नेपाल प्रहरीका एक डीएसपीको श्रीमती भएको दाबी गर्दै विभिन्न व्यक्तिमाथि प्रभाव पार्ने प्रयास गरेको आरोप पनि छ।

यस विषयमा सम्बन्धित निकायले आवश्यक अनुसन्धान गर्नुपर्ने हाम्राे माग छ ।

स्राेतका अनुसार जिल्ला प्रशासन कार्यालय, लमजुङबाट जारी नेपाली नागरिकता प्राप्त गरेकी रिता पौडेल हाल काठमाडौंमा बसोबास गर्दै आएको जानकारी प्राप्त भएको छ।

यद्यपि, उनीमाथि लागेका आरोपबारे सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको जनाइएको छ।

यस विषयमा खप्तडटिभीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग टेलिफोनमार्फत प्रतिक्रिया लिँदा उनले रिता पौडेललाई आफूले नचिनेको बताएका छन्। साथै, आफ्नो नाम वा पदको दुरुपयोग गरी कसैले ठगी, आपराधिक विश्वासघात वा अन्य गैरकानुनी कार्य गरेको पुष्टि भएमा कानुनबमोजिम कारबाही हुने स्पष्ट पारे।

कानुनी व्यवस्था कडा

एक अधिवक्ताका अनुसार, यदि कुनै व्यक्तिले सरकारी पदाधिकारीको नाम, हैसियत वा प्रभावको झुटो प्रयोग गरी आर्थिक लाभ लिएको, ठगी गरेको वा कसैलाई धम्की दिएको पुष्टि भएमा त्यस्ता कार्यहरू नेपालका प्रचलित कानुनअन्तर्गत गम्भीर फौजदारी कसुर मानिने बताए ।

मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्सटर्सन), किर्ते, सरकारी पद वा परिचयको दुरुपयोग तथा संगठित रूपमा गैरकानुनी आर्थिक लाभ लिने कार्यमा संलग्न पाइएमा सम्बन्धित व्यक्तिलाई बिगो असुल गरिनुका साथै कैद र जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिष्ठामाथि नै आँच

यस घटनाले नेपाल प्रहरीको प्रतिष्ठामाथि नै आँच पुर्‍याउने प्रयास भएको भन्दै सम्बन्धित निकायले निष्पक्ष, गहिरो र तथ्यमा आधारित अनुसन्धान गरी दोषी देखिने जोसुकैलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग सरोकारवालाले गरेका छन्।

अनुसन्धानबाट आरोप पुष्टि भएमा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

नेपाल प्रहरीले पनि आफ्नो संगठनको नाम, उच्च पदाधिकारीको परिचय वा प्रभावको दुरुपयोग गरी सर्वसाधारणलाई ठग्ने वा भ्रममा पार्ने जोसुकैलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने नीति अवलम्बन गर्दै आएको जनाएको छ।

यस बिषयमा खप्तडटिभीले रिता पौडेलसंग टलिफोनमार्फत कुरा गर्दा आफुलाई फसाउन षड्यंत्र भएकाे बताइन् ।  मैले कुनै पनि ब्यक्तिकाे पैसा लगेकाे छैन र, आईजीपीको नाम लिएर मैले कुनै पनि काम गरेकाे छैन । र, म आईजीपीलाई राम्राेसंग पनि चिन्दैन भन्नु भयाे ।