वि.सं.२०८२ माघ २ बिहीवार

पूर्वमन्त्री भट्टराईको सचिवालयमा काम गर्ने स्मृति बरालमाथि नक्कली प्रमाणपत्र प्रयोगको आरोप

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको सचिवालयमा अधिकृतका रूपमा कार्यरत स्मृति बरालमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको गम्भीर आरोप सार्वजनिक भएको छ।

स्रोतका अनुसार, बरालले भारतीय विश्वविद्यालयको नाममा सन् २०१९–२० को शैक्षिक सत्रमा B. Tech गरेको भनी प्रमाणपत्र पेश गरेकी थिइन्। तर सोही समय अवधिमा उनी नेपालकै पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा इन्जिनियरिङ कलेजमा BE Civil को छैठौं सेमेस्टरको परीक्षा दिएकी देखिन्छिन्।

नेपालमै पूर्णकालिक रूपमा अध्ययन गरिरहँदा भारतको अर्को विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गर्नु व्यवहारिक रूपमा सम्भव नभएकोले बरालले पेश गरेको भारतीय प्रमाणपत्र नक्कली भएको आशंका बलियो भएको स्रोतको भनाइ छ।

स्मृति बरालले मन्त्री भट्टराईको सचिवालयमा करिब एक महिना काम गरेकी थिइन् र सो अवधिको तलब–भत्ता समेत बुझेको बताइएको छ।

सोही कार्यकालमा उनले भारतीय शैक्षिक प्रमाणपत्र पेश गरेको र त्यसको वैधता विषयक प्रश्न उठेपछि यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका रूपमा दर्ता भएको स्रोतले जनाएको छ।

बराल पोखरा विश्वविद्यालयअन्तर्गतको पोखरा इन्जिनियरिङ कलेजमा Exam Roll No: 16520980 का नाममा दर्ता रहेकी थिइन् भने उनकाे +2 को माइग्रेसन पनि सोही विश्वविद्यालयमै रहेको पुष्टि भएको छ।

हाल उनी नेकपा निकट अनेरास्ववियुमा केन्द्रीय तहमा जिम्मेवारी लिने तयारीमा रहेको जनाइएको छ।

यस्तो अवस्थामा उनको शैक्षिक पृष्ठभूमिबारे उठेको गम्भीर प्रश्नले विद्यार्थी राजनीति र सार्वजनिक सेवा क्षेत्रमै बहसको विषय बनेको छ।

स्मृति बराल वा पूर्वमन्त्री भट्टराईको तर्फबाट भने यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।